जनयुद्धका सपना

मङ्गलबार, २८ साउन २०७६, ०८ : २९ नरेन्द्रजंग पिटर

स्थगित भयो भने सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको किसमिसझँै
चाउरिन्छ ?
कि घाउझैँ पाक्छ र पीप बग्छ ?
कि कुहिएको मासुजस्तै गन्हाउँछ त्यो ?
सायद त्यो गहँ्रुगो भारीजस्तो
बिस्तारै घिस्रिने हुन्छ
कि विस्फोट हुन्छ सपना ?

–ल्याङस्टन ह्युज

माओवादीलाई आफ्नै गौरव बोझ बन्दै गएको छ। जनयुद्ध मनोयुद्धमा फेरिँदै जाँदा फेर्न गएका स्वयं फेरिँदै गए। एकै दिनमा फेरिने क्रम पूरा भएको होइन। विद्रोहका राप र ताप सेलाँउदै जाँदा, शान्ति प्रक्रिया टुंगो लाग्न ढिलाइ हुँदै जाँदा, छिमेकमा सांस्कृतिक फाँसीवादले हुँकार छाड्दै जाँदा बहससमेत फेरिँदै गए। स्वयं कर्ता नै भ्रष्टीकरण हुनु भनेको बाउ–आमाले सन्तान हत्या गर्नुजस्तै हो। तर सत्ताले क्रमशः पचाइदिँदा पनि आफूलाई अझै हकवाला नै ठान्दै छन्। कोही मर्माहत भएर सपना अन्त्य भएको चेतावनी दिइरहेका छन् भने शान्तिपूर्ण क्रान्तिमा विश्वास गर्नेहरू चिन्तत छन्। यसैगरी राज्य सत्ताको अंशियार हुन नपाएकामा कुण्ठित जमात अर्कातर्फ छ। वर्ग संर्घष शान्तिपूर्ण होस् वा सशस्त्र, भयानक हुन्छ। अभिजात तप्काको भद्रता षड्यन्त्रमै रहन्छ। आमजनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने उनीहरूका कलामय खेल चलिरहन्छन् नै।

अब कुरा गरौँ, इतिहासका। लिखत इतिहासमा पहिलो दास विद्रोहका नायक ग्लाडिएटर स्पार्टाकससँग सहयोद्धा डेभिड, शूलीमा टाँगिएकै अवस्थामा सोध्छन्– ‘पिता, हामी कसरी पराजित भयौँ ?’ अर्कातर्फ तिनै ग्लाडिएटरलाई तमासा बनाउँदै कुलीन रोमन भने कति हिक्कामा ग्लाडिएटरको प्राणपखेरु उड्छ भनेर कपुवाका सडकमा बाजी लगाइरहेका हुन्थे, मनोरञ्जन गरिरहेका हुन्थे। शूली चढाइएका ग्लाडिएटर आँशु बगाँउदैनथे, डरले काँप्दैनथे, बरु घृणाले रोमनलाई थुकिदिन्थे। शूलीमा चढाउँदा पनि विद्रोही चेत राखिरहन्थे। इतिहासको शिक्षा र अनुभव क्रान्तिकारी र प्रतिक्रान्तिकारी सबैले लिन्छन्। १९सौँ सदी माक्र्सको ‘भूत’ले अभिजात तथा शासक वर्ग, आक्रामक पुँजीवादका पक्षधर, धर्मभिरु तथा त्यस बेलाका संस्कृतिवालालाई आतंकित बनायो। माक्र्सीय ‘भूत’ ले उनीहरूलाई सपनामा समेत सताउँथ्यो। त्यसैले आपसी मत÷मतान्तर भुलेर उनीहरू कम्युनिस्टविरुद्ध एक हुन्थे। साहूजी, पादरी, मुल्ला, पुरोहित, पण्डित, राजा–महाराजा तथा तिनका आसेपासे, भरौटेहरू एकजुट हुन्थे। लम्पटहरू विवेक बन्धकी राखेर मालिकको ‘जी–हजुरी’मा समर्पित हुन्थे। राजदरबारी, तर्कशास्त्री र सौन्दर्यशास्त्री परिवर्तनलाई आतंकीकरण गर्दै दोहोलो काढेर विवेकशील चिन्तनलाई बोधो बनाउन ज्ञान, बुद्धि, कला सबै प्रयोग गर्थे।

विद्रोहबाट राज्य सत्ताको केन्द्रमा पुगेको, कुलीनहरूलाई पाच्य हुँदैन। सोभियत रुसमा ‘समानता’भित्र ‘लाल–असमानता’ देखिसकेका इटालियन दार्शनिक एवं सक्रिययतावादी एन्टेनियो ग्राम्स्कीले वर्चस्वशाली समूहको क्रान्तिपछिको भूमिकालाई विवेचन गरेका छन्। उनले परिवर्तनको टिकाउ र निरन्तरताका लागि जैविक बुद्धिजीवीको आवश्यकता औँल्याए। कुनै दिनका क्रान्तिकारीहरू प्रतिक्रान्तिकारी वा ‘ट्रेडमार्किया’ बन्न थालेपछि उनीहरूको वर्ग रूपान्तरण हुन्छ। शक्ति सन्तुलन हेरफेर अवधिमा अभिजात वर्ग केही पछि हटेजस्तो, मत्थर भएजस्तो हुन सक्छ। शक्ति सञ्चयका समयमा थाकेको, हारेको, परिवर्तनका अजेन्डा स्वीकारेको जस्तो देखिए पनि भद्र आवरणमा लडिरहेकाले समय घर्काउँदै विद्रोहका राप र ताप मलिन पार्दै शिथिल बनाइदिँदै जान्छन्। आशालाई निराशा र आक्रोशमा फेर्न विदे्राही शक्तिका मानवीय कमजोरी छामिन्छन्। सामाजिक परिवर्तनको मर्म, वजन र सन्देशलाई बीभत्सीकरण गरिन्छ। परिवर्तनका अजेन्डाको मूल चरित्रविरुद्ध धावा बोलिन्छ। विचारभन्दा भावनामा खेलिन्छ। अजेन्डा बहसविहीन बनाइन्छन् वा विषयान्तर वा न्यूनीकरण गरिन्छन्। परिवर्तनवादीलाई भ्रष्ट पार्ने खेल खेलिन्छन्। आपसी अविश्वास, भ्रम, र मनोमालिन्य गराएर फुटाइन्छ। आपसी घृणा बढाइदिँदै यदुवंशी तयार गरिन्छ। आर्दशबाट च्युत गराएर अजेन्डा हकदाबीको नैतिक पुँजी ह्रास गराएपछि जनमानसलाई भ्रमित पार्न सजिलो हुन्छ। भूतपूर्व विद्रोहीहरू अहंंकार, घमण्ड, निजी विषय र बजार संस्कृतिका दास बन्दा परचक्रीलाई अनुकूलता हुन्छ। आलोचनात्मक चेत निषेध गरिएका कार्यकर्ताले खबरदारी गर्ने, सचेतना जगाउने र नियन्त्रण गर्ने काम गर्नै सक्दैनन्। उनीहरूमा क्रान्तिको क्षतिपूर्ति भाव मात्र जाग्छ।
तोडिएका सम्बन्ध जोडिएपछि वासनाग्रन्थी रसाएर व्यवस्था बदल्न गएकाहरू पत्तै नपाई आफैँ बदलिन्छन् र सामूहिक जीवनको भन्दा निजी चिन्ता, वर्गको भन्दा पारिवारिक मायामोह बढ्दा उनीहरू दुश्मनको चाहना र बजार संस्कृतिको धरापमा सहजै फस्छन्।

नेपाली कांग्रेसका बौद्धिक सांसद प्रदीप गिरीले भने– ‘जनयुद्धले शासकका अनुहार फे¥यो, तर राज्य संस्था उही छ।’ अहिले जनयुद्धका सपना ध्वस्त भएकै हुन् त ?

एकातर्फ वर्ग रूपान्तरण, अर्कातर्फ परिवर्तनलाई सौन्दर्यीकरण गर्ने बौद्धिक वर्ग सत्ताको गुलियो चाटेपछि आश र त्रासमा आफ्ना ज्ञान, विवेक र प्रतिबद्धता उतै अर्पण गर्न थाल्छन्। शक्तिमा रहेकालाई आलोचनात्मक चेत मन पर्दैन। क्रमशः विद्रोही चेत निजी सरोकारमा केन्द्रित भएपछि नेतृत्व वर्गले नैतिक पुँजी गुमाइसकेको हुन्छ। हिजो ऊ जुन व्यवस्था र  संस्कृतिको विरोधी थियो, फेरिएको अवस्थामा त्यसैको अनुयायी हुन पुग्छ। मिहिन पाराले नियालिरहेका वैरीहरू मौका कुरिरहेका हुन्छन्। तैपनि मनोयुद्ध असफल भयो भने अथवा यस्ता धराप छल्दै विद्रोही शक्ति उद्देश्यमा पुग्न खोजे भने त्यस्तो बेला सैन्य कु हुने गर्छ। सबभन्दा ठूलो नजिर बनेको दक्षिण अमेरिकी मुलुक निकारागुवाको सान्डानिस्टा आन्दोलन दबाउन कोन्ट्रा विद्रोह र त्यहाँको लोकप्रिय पत्रिका ‘ला प्रेस्ता’ नियाल्न सकिन्छ। सबै प्रतिक्रान्तिकारीहरू सहिदकी पत्नी भ्वाइलेतो चमारोको नेतृत्वमा एकताबद्ध भएका थिए।

वर्ग संर्घषको फेरिएको रूप झन् निर्मम हुन्छ। हारेको शक्ति झन् आक्रामक भएर उपाय खोजिरहेको हुन्छ। आफ्ना कमजोरी सुधार्दै विपक्षीको कमजोरी हल्लाखल्ला नगरी खोजिरहेको हुन्छ। खेलभित्र झेल हुन्छन्। दुश्मनले गोलपोस्ट त्यसै छाडिदिएको हुँदैन, जसलाई कला प्रयोग गरेर पार गर्नुपर्छ। सपनीको एक्सरे भइरहेको र सूचना सञ्चारको तीव्र विकास भइरहेको समयमा दुश्मनको चाल थाहा नपाउने छुट कसैलाई हुँदैन। त्यसैले राज्य सत्ताको रूप र चरित्र नै  फेर्ने अभियानमा लाग्ने पार्टीहरूले समस्या– बाहिर कति हो, भित्र कति हो भनेर निर्मम समीक्षा गर्दै भावी कार्यनीति तय गर्नुपर्ने हुन्थ्यो। अगग्रमनका अजेन्डा भएर मात्र हुँदैन, त्यसलाई जनताकै भाषा र लयमा बुझाउन आवश्यक हुन्छ। त्यसलाई नेतृत्व तहले कति निष्ठापूर्वक आत्मसात् गर्छ, त्यति नै मात्रामा परिणाम अपेक्षा गर्न सकिन्छ। आदेश र अपेक्षाले मानसिकता फेरिँदैन।  राजनीतिलाई सामाजिकीकरण गर्न सकिएन भने परिवर्तन संस्थागत हुनै सक्दैन।

लामो समयदेखि मनोयुद्धको कलामय अभ्यास भयो। पहिलो आमचुनावमै संविधानसभाको परिणाम, सत्ताले सोचेभन्दा फरक आयो। सदनमा परिवर्तन पक्षधरको उपस्थिति सह्य भएन। पुरानै तरिकाले नयाँ युद्ध लड्न सकिँदैनथ्यो। दुश्मनको नयाँ चाल बुझ्न नसकेको माओवादी हदैसम्म लचिलो र उदारवादी बन्न पुग्यो। पहिलो काम समय घर्काउने, सहमतीय राजनीतिक अभ्यासलाई बहुमतीय खेलमा फेर्ने, जनसेना विघटन गराउनेजस्ता उदारताका माग भए।  संविधान बनाउनेभन्दा सरकार बनाउने र गिराउनेमा राजनीति केन्द्रित गरियो। जहाँ वर्गकै शान्तिपूर्ण युद्ध अभ्यास हुन्छ, त्यहाँ उदारता घातक हुन्छ। संवेदनशील सामरिक महŒवको भूपरिवेष्टित देशमा देशी–विदेशी शक्तिसँग भिड्नु भनेको शान्ति युद्धका ठूला तगारा हुन्। पहिलो विद्रोहीहरूको दापबाट उनीहरूले नैतिक इच्छाशक्तिको आर्दश–तरबार नै कब्जा गरेर जनताबाट कटाइदिन्छन्। यसका लागि भन्ने, गर्ने, हुने र देखिनेबीच भिन्नता हुनेबित्तिकै उनीहरूले मौका पाइहाल्छन्। विद्रोही नेतृत्व वर्गको आचरण र आदर्शअनुसारको जीवन व्यवहारले मात्र त्यसलाई परास्त गर्न सक्छ। तर सुविधा सिद्धान्तको व्याख्या हुँदै जाँदा वर्ग संर्घष कम्युनिस्टको राजनीतिक आत्मा हो भन्ने कुरा माओवादीले बिर्सिंदै गए। नेपाली समाजको वर्ग निर्माण र वर्चस्वशाली तप्काको मनोवैज्ञानिक औजारप्रति ध्यान दिइएन। वर्ग संर्घष र वर्ण संर्घषबीच तालमेल गरिएन। आफँैले उत्पादन गरेका अजेन्डाको बीभत्सीकरण मात्रै गरिएन, अपहरण भएको पनि टुलुटुलु हेर्न विवश बनाइयो। तर त्यसलाई चिर्ने कुनै उपाय खोजिएन।

मनोयुद्धमा सामूहिक विवेकलाई घृणास्पद उत्तेजनामा ल्याइन्छ। अजेन्डाकै बीभत्सीकरण गर्दै प्रतिक्रियाको सामाजिक मनोदशा तयार गरिन्छ। षड्यन्त्र ढोल पिटेर गरिँदैन। शान्ति युद्धमा आएको शक्ति र मूल नेतृत्व वर्ग स्वयं चनाखो हुँदै, जोगिदै धराप छिचोल्दै आन्दोलन अघि बढाउनुपथ्र्यो। त्यसका लागि जनअपिल गर्ने इच्छाशक्ति र नैतिक पुँजी अनिवार्य सर्त हुन्थ्यो। शान्ति युद्धमा जे हुनु हुँदैनथ्यो, त्यही माओवादीमा हुँदै गयो। माओवादीमा परिवारवाद र अर्थवाद हावी हुँदै गए। आग्रह, कुण्ठा र प्रतिक्रियाजस्ता रोग नै लागे। आधार बिर्सिएर रूपमा रमाउँदा शक्ति क्षीण हुँदै गएको पत्तै पाएन, माओवादीले। विवेक प्रयोग गर्दै चुनौती सामना गर्न सकेन। सत्ता र सरकार फरक हुन्। विरोधी वा दुश्मनबाट सकरात्मक अपेक्षा गरिनु आत्महत्या स्वीकार गर्नु हो। सचेत र सजग रहँदै अग्रगमन पक्षधरसँग आग्रहहीन सहकार्य समयको माग थियो, तर विद्रोही आत्मा र सपनालाई ‘चइज्म’(चाकड तन्त्र)ले पचाइदिँदै ‘क्लेप्टोक्रेसी’(भ्रष्ट तन्त्र)को अंग नै बनाइदियो। त्यसैले नेपाली कांग्रेसका बौद्धिक सांसद प्रदीप गिरीले भने– ‘जनयुद्धले शासकका अनुहार फे¥यो, तर राज्य संस्था उही छ।’ अहिले जनयुद्धका सपना ध्वस्त भएकै हुन् त ?

 








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad