१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

काठमाडौं – नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकका एक सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको जनाएको छ।

तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा भारी छुट दिएको कम्पनीको भनाइ छ। कम्पनीका जिएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा यो सहुलियत प्रदान गरिएको हो।

जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधापछि भारत जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित १४ रुपैयाँमात्र लाग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने जम्मा २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन र  निःशुल्क सन्देश प्राप्त गर्न सकिनेछ।

चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँमात्र लाग्ने जनाइएको छ। यसैगरी, चीनभर जुनसुकै नम्बरमा कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ।

कम्पनीले जिएसएम पोस्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको कम्पनीले जनाएको छ। साथै कम्पनीका जिएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्ने बताइएको छ। 

टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको थियो।

प्रकाशित: २८ श्रावण २०७६ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App