४ वैशाख २०८१ मंगलबार
खेल

तेक्वान्दोका प्रशिक्षकलाई पदोन्नति अवसर

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ।

आइटिएफले एकहप्ते वार्षिकोत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोसन हुने अवसर प्रदान गरेको हो।

सोमबार लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानका ६ खेलाडीको परीक्षा लिएको थियो। उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर (९औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।

बेल्ट पदोन्नतिका लागि १९ खेलाडीले करिब एक महिनादेखि प्रशिक्षण गरिरहेको आइटिएफले जनाएको छ। पाँचौं डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष वासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन्।

त्यसै गरी, हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तीमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तीमगर, चन्द्रबहादुर तामाङ, लीलाधर बस्नेत, धर्मराज कँडेल र गजेन्द्रकुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका हुन्। चौथो डान प्राप्त गरेका प्रशिक्षकले अन्तर्राष्ट्रिय इन्स्ट्रक्टरको मान्यता पाउनेछन्।

अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ। एकहप्ते उत्सवमा महासंघले यसअघि वर्ष पुरुष र महिला खेलाडी, प्रशिक्षक, इन्स्ट्रक्टर र उत्कृष्ट जिल्लालाई सम्मान गरेको थियो। सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठ समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्ष खेलाडी २०७५ बाट सम्मानित भएका थिए। गत मंगलबारबाट सुरु भएको २२औं वार्षिकोत्सव समारोहअन्तर्गत महासंघले विभिन्न सामाजिक सेवासमेत गर्ने गरेको जनाएको छ।

 

प्रकाशित: २८ श्रावण २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App