coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दशौं खेलमा कोहलीको शतक

पोर्ट अफ स्पेन – कप्तान विराट कोहलीले शतकको खडेरी दशौं खेलमा पूरा गर्दा भारतले आइतबार वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय खेलमा जित निकालेको छ।

वर्षाले प्रभावित खेलमा कोहलीको शतकप्रेरित भारतले वेस्ट इन्डिजमाथि डकवर्थ लुइस पद्धतिमा ५९ रनको जित निकालेको हो। क्विन्स पार्क ओभलमा कोहलीले पहिले ब्याटिङको निर्णय सही साबित गर्दा शतकीय इनिङ प्रहार गरेका थिए। उनले करियरको ४२औं एकदिवसीय शतक पूरा गर्दा भारतले ७ विकेटको क्षतिमा २ सय ७९ रनको योगफल तयार पारेको थियो।

तर, वर्षाले खेल प्रभावित गरेपछि वेस्ट इन्डिजले निर्धारित ४६औं ओभरमा २ सय ७० रनको लक्ष्य प्राप्त ग¥यो। यद्यपि, वेस्ट इन्डिजलाई चार ओभर बाँकी छँदा नै २ सय १० रनमा समेट्दै भारतले खेलको नतिजा आफ्नो पक्षमा पा¥यो। भारतका तीव्र गतिका बलर भुवनेश्वर कुमारले चार विकेट लिँदा ३१ रन खर्चिंदै वेस्ट इन्डिजको इनिङ धराशयी बनाएका थिए। एक समय वेस्ट इन्डिज ४ विकेटको क्षतिमा १ सय ७९ रनको स्थितिमा थियो। तर, वेस्ट इन्डिजले एकपछि अर्को गुमाउन पुग्यो।

भुवनेश्वर कुमारले सस्तैमा वेस्ट इन्डिजका ओपनर क्रिस गेललाई पवेलियनको बाटो देखाउँदै भारतलाई पहिलो सफलता दिलाएका थिए। गेल ११ रनमै आउट भए पनि वेस्ट इन्डिजका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक १० हजार ४ सय ९ रन बनाउन सफल भए। उनले ३ सय एकदिवसीय खेलमा ब्रायन लाराको रेकर्ड पछि पारेका हुन्।

यता, भारतले पहिलो खेल वर्षाका कारण हुन नसक्दा दोस्रो खेल आफ्नो बनाउँदै शृंखलामा अग्रता बनाएको छ। वेस्ट इन्डिजका लागि इभिन लेविसले सर्वाधिक ६५ रन र निकोलस पुरनले ४२ रन बनाए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्। भारतीय बलरसामु अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय रन बटुल्न सकेनन्।

भारतका बलर मोहम्मद सामी र कुलदीप यादवले समान २ विकेट तथा खलिल अहमद र रवीन्द्र जडेजाले १÷१ विकेट लिँदै वेस्ट इन्डिजलाई सस्तैमा समेट्न सफल भए। तीन खेलको शृंखलामा भारतले १–० को अग्रता बनाएको हो। भारतले वेस्ट इन्डिजसँगको अन्तिम खेल बुधबार क्विन्स पार्क ओभलमै खेल्नेछ। भारतलाई सफलता दिलाउन कप्तान कोहलीले १ सय २० रनको इनिङ खेलेका थिए।

१ सय २५ खेल खेल्दा उनको इनिङमा १४ चौका र एक छक्का समावेश थियो। कोहलीलाई श्रेयस ऐयरले चौथो विकेटका लागि बलियो साथ दिए। यो जोडीले १ सय २५ रनको साझेदारी गर्दा भारत बलियो स्थितिमा पुगेको थियो। ऐयर ६८ बलमा ७१ रन बनाएर आउट भए।

जेसन होल्डरको बलमा क्लिन बोल्ड हुनुअघि उनले पाँच चौका र एक छक्का हिर्काए। ४२औं ओभरमा कोहली र ४६औं ओभरमा ऐयर आउट भएपछि भारतको रन बटुल्ने गति कम भएको थियो। वेस्ट इन्डिजका बलरले अन्तिम १० ओभरमा अनुशासित बलिङ गर्दा ६७ रन मात्र दिए। उसका लागि कार्लोस ब्राथवेटले सबैभन्दा सफल बलर साबित भए। ब्राथवेटले कुल १० ओभरमा तीन विकेट लिँदै ५३ रन खर्चिएका थिए।

भारतका कप्तान कोहलीले पहिले ब्याटिङ गर्न सहज हुने भएकाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय लिएको बताए। ‘टस जितेमा पहिले ब्याटिङ गर्ने योजना थियो। जस अनुसार सफल पनि भयौं,’ कप्तान कोहलीले भने, ‘दोस्रो इनिङमा ब्याटिङ गर्न सहज थिएन। वेस्ट इन्डिजको ब्याटिङ हेर्दा पनि थाहा हुन्छ। पछि ब्याटिङ गर्नु कठिन नै थियो।’

यता, भारतको सुरुआत पनि निकै खराब रहँदा पहिलो ओभरको तेस्रो बलमै ओपनर शिखर धवन २ रनमै आउट भए। सेल्डन कोट्रेलले धवनलाई एलबिडब्लु धरापमा पार्दैै वेस्ट इन्डिजलाई उत्कृष्ट सुरुआत दिलाए। अर्का ओपनर रोहित शर्मा पनि १८ रनमै पवेलियन फर्केका थिए। तर, कोहलीले अनुशासित ब्याटिङ गर्दै भारतको इनिङ उकास्न सफल भए।

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले खेल आफ्नो पकडमा आइसकेको अवस्थामा ब्याट्सम्यानले धैर्यता गुमाएको आरोप लगाए। ‘एक समय खेल हाम्रो पकडमा थियो,’ निराश हुँदै होल्डरले भने,‘तर हाम्रा ब्याट्म्यानले त्यसलाई सम्हाल्न सकेनन्। खेललाई कसरी अन्तिमसम्म लैजाने भन्ने शिक्षा लिन आवश्यक छ। त्यसैले पक्कै पनि हामीले ब्याटिङमा जिम्मेवारी लिनुपर्नेछ।’ ‘टस जितेमा पहिले ब्याटिङ गर्ने योजना थियो। जस अनुसार सफल पनि भयौं।’

 

प्रकाशित: २८ श्रावण २०७६ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App