८ वैशाख २०८१ शनिबार
समाज

‘एन्थ्रेक्स’को जीवाणु थप परीक्षणमा

इटहरी - चार दिनअघि कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र बराहक्षेत्रको श्रीलंका टापुमा मरेका गाईगोरुमा ‘एन्थ्रेक्स’को जीवाणु भएको रिपोर्ट प्रारम्भिक चरणमा देखिए पनि थप परीक्षण गरिने भएको छ।  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा परीक्षणका क्रममा ‘एन्थे्रक्स’को जीवाणु देखिए पनि थप परीक्षण गरेर ‘एक्सन’मा जाने तयारी भएको हो।

‘एन्थ्रेक्स’ प्रमाणित गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा नमुना पठाइएको छ।  ‘अहिले विराटनगरको रिपोर्टले एन्थ्रेक्स देखाए पनि अरू कतिपय रोग निस्क्रिय भएका हुन्छन्,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक महानिर्देशक रामचन्द्र कँडेलले भने।  उनका अनुुसार केन्द्रबाट रगतको नमुना परीक्षण भएर एन्थ्रेक्स नै भएको प्रमाणित भएपछि ‘एक्सन’मा जाने र अरू पनि परीक्षण गरिनेछ।

एन्थ्रेक्स नै भएको प्रमाणित भएमा आरक्षका अर्नासँगै अरू जनावर र आसपासका मानिसमा पनि रोग सर्न सक्ने खतरा छ।  ‘मान्छे पनि बचाउनुप-यो, घरपालुवा जनावर र कोसी टप्पुका अर्नासँगै अरू जंगली जनावर पनि बचाउनु छ,’ उनले भने, ‘अहिले पूरै सावधानी अपनाइएको छ। ’ सावधानी अपनाएसँगै एन्थ्रेक्सबाहेक अरू पनि परीक्षण गरिनेछ।

एन्थ्रेक्स ब्याक्टेरियाको जीवाणु हावा, पानी र माटोबाट सर्छ।  जसकारण माटो पनि परीक्षण गर्न दिइएको छ।  माटोको रिपोर्ट भने आइसकेको छैन।  ‘कतिपय परीक्षण गर्दा एउटा लक्षण देखाए पनि अरू निष्क्रिय रोग पनि हुने भएकाले सबै थोक परीक्षण गरेर हेरिनेछ,’ वन्यजन्तु संरक्षण विभागका सहायक निर्देशक कँडेलले भने।

‘गाउँलेको सामाजिक कुरा एकातिर छ, ल्याबको रिपोर्टले अर्को थोक देखाएपछि त्यसलाई अझै प्रमाणित गर्न लागेका हौं,’ कोसीटप्पु वन्यजन्तु आरक्षका वार्डेन रामदेव चौधरीले भने।  तर रोगको प्रकोप फैलिन नदिन भने उच्च सतर्कता अपनाउने काम भने जारी नै छ।  बराहक्षेत्र वडा नं. ६ र ९ को बस्ती श्रीलंका टापु क्षेत्रमा गाईगोरु मृत भेटिएका थिए।  मरेका गाईगोरुको नाक, मुख, कान, आँखा र मलद्वारबाट रगत निस्किएको थियो।  ‘गाईगोरु मरेको प्रभावित क्षेत्रमा अर्नालाई जान नदिन सेनाले लखेट्ने गरेको छ भने मध्यवर्ती क्षेत्रका मानिसलाई पनि पूरै सावधानी अपनाउन भनिएको छ,’ वार्डेन चौधरीले भने।  प्रभावित क्षेत्रका घरपालुवा जनावरलाई भने रोग सर्न नदिन भ्याक्सिन पनि हानिने भएको छ।  भ्याक्सिन मंगलबारसम्म आइपुग्ने स्थानीयले बताएका छन्।

कोसीटप्पु सप्तरी, उदयपुर र सुनसरी जिल्ला गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।  यस क्षेत्रमा अर्नासँगै छाडा चौपाया बग्रेल्ती चरिचरनका लागि छाड्ने गरिएको छ।  यसरी छाडा छोडिएका गाईगोरु एन्थ्रेक्सको प्रकोपले मरेका हुन्।

कोसीटप्पु वन्यजन्तु आरक्षमा दुई वर्षअघिको गणनाअनुसार अर्नाको संख्या ४ सय ४१ थियो।  जसमध्ये १२ वटा चितवन राष्ट्रिय निकुञ्जमा राखिएको थियो।  यो अवधिमा सारिएकाबाहेक थप संख्या बढेको छ।

एकीकृत बस्ती बसालेर क्षेत्र विस्तार गर्न सुझाव

कोसीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा मानिसले अतिक्रमण गरी बस्ती बसालेकाले जनावरमा कुनै प्रकारको रोग लाग्दा मानिसमा खतरा हुने भएकाले सरकारलाई बस्ती सार्न सुझाव दिइएको छ।  एकातिर आरक्षआसपासका बासिन्दा रैथाने जंगली हात्ती, अर्नालगायत अन्य जनावरबाट सदावहार पीडित छन्।  अर्कातिर आरक्ष क्षेत्रको मध्यवर्ती क्षेत्रका जनावरमा कुनै पनि प्रकारको रोग लाग्दा मानिसमा जहिल्यै खतरा हुने हुँदा बस्ती सार्न सुझाव दिइएको हो।

‘आरक्ष क्षेत्रमा अतिक्रमण हुँदो छ।  अनि श्रीलंका टापुमा केही दिनअघि गाईगोरु मरेको घटनाले गर्दा मानिसमा त्रास छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक महानिर्देशक रामचन्द्र कँडेलले भने, ‘अब यही घटनाबाट पाठ सिकेर एकीकृत बस्ती बसालेर जैविक मार्गलाई सुरक्षित गर्नुपर्छ। ’ यदि आरक्षको अतिक्रमण गरेर बसाएको बस्ती नहटाएमा मानिसलाई जहिल्यै खतरा उनले बताए।

उनले तत्काल आरक्षको क्षेत्र विस्तार गरिनुपर्ने बताए।  क्षेत्र विस्तार गर्न सरकारी अध्ययन टोलीले २०७१ फागुन ८ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बबरमहलमा प्रतिवेदन बुझाएको थियो।  तर अझैसम्म निर्णय भएको छैन।  राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागमा २०७१ साल पुस २८ गते बसेको प्राविधिक कमिटी बैठकले इकोलोजिस्ट गोपालप्रकाश भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सम्भाव्यता अध्ययन टोली गठन गरेको थियो।  सरकारले २०६१ मा आरक्षवरिपरिका २ सय १५ बस्तीलाई समेटी १७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा थियो।

प्रकाशित: २८ श्रावण २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App