coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्या

काठमाडौं – भ्रष्टाचारको अभियोग लागेका व्यक्तिले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्याको बाटो रोज्न लागेको मनोविश्लेषकले टिप्पणी गरेका छन्।  यसै महिना मात्रै भ्रष्टाचारको अभियोग लागेका तीन कर्मचारीले आत्महत्या गरेपछि पारिवारिक सहयोग र समाजमा आफ्ना प्रतिष्ठा गुमेका कारण उनीहरूले त्यस्तो कठोर बाटो राजेको मनोविश्लेषकको टिप्पणी छ। 

मनोविश्लेषक गोपाल ढकालका अनुसार बेलाबेलामा आफन्त र परिवारसमेत तनाबमा हुने भएकाले अभियोग लागेका व्यक्तिलाई असहयोग महसुस हुँदा उनीहरू विस्तारै तनावमा हुने भएकाले आवेशमा आउन सक्छन्।  ‘तनाब बढ्दै गएपछि उनीहरू जीवनमा बाँचेर कुनै अर्थ छैन भन्ने मनोवृत्ति बढ्दै जाँदा आत्महत्या नै गर्न पुग्छन्।  पछिल्ला घट्नाक्रम त्यसैको उदहारण हुन्,’ मनोविश्लेषक ढकालले भने, ‘आइतबार बिहान मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी (नायब सुब्बा) हरि आचार्यले सुसाइट नोट लेखेर आत्महत्या गर्नु नै जीवनदेखि हार खानु हो। ’

आचार्यको मृत शरीरबाट प्रहरीले दुई पाना सुसाइट नोटसमेत बरामद गरेको थियो।  सुसाइट नोटमा आफू भ्रष्टाचारको मुद्दामा बेकसुर रहेको, परिवारलाई आफ्नो कारणले तनाब भएको र व्यवस्थापन गर्ने र घरको आर्थिक कारोबारसम्बन्धी छोराछोरीलाई जानकारीसमेत दिइएकोबारे उल्लेख गरिएको थियो।  यसअघि ललिता निवास प्रकरणमा अख्तियारमा बयान दिइरहेका मालपोतका पूर्वखरिदार युक्त श्रेष्ठले आत्महत्या गरेका थिए।  बालाजुको माछापोखरीमा रहेको एक भवनको आठौं तल्लाबाट हाम्फालेरका श्रेष्ठले आत्महत्या गर्नुको कारण भने खुलेको छैन।  त्यसको केही साताअघि त्रिभुवन विश्वविद्यालयका एक पूर्वकर्मचारीले आत्महत्या गरेका थिए।  त्रिपुरेश्वरको राधा भवनबाट रामबहादुर पाण्डे क्षत्रीले हाम्फालेर आत्महत्या गरेका थिए।  पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

भ्रष्टचारको अभियोग लागेका व्यक्तिले यसरी आत्महत्या गर्दा समाजमा त्यसको असर नकारात्मक पर्ने पनि मनोश्लिेषक ढकालको भनाइ छ।  कानुनी प्रक्रिया नटुंगिदै उनीहरुलाई लागेको दाग जीवनभर मेटाउन सकिँदैन भन्ने आभास लागेकैले उनीहरुले यस्तो बाटो रोजेको ढकालको भनाइ छ।  साथै उनीहरूमा आत्मग्लानी बढ्दै जानु, छिमेकी तथा पारिवारिक रूपमा समेत आलोचित हुनु जस्ता घटनाले पनि प्रेरित गरेको उनको भनाइ छ। 

‘मानिसले पैसा कमाएपछि सम्मान खोज्छ यतिन्जेल कमाएको सम्मान एउटै मुद्दाले सकिएपछि उसले समाजमा अनुहार देखाउन सक्दैन।  यसले त्यस्ता व्यक्ति विस्तारै डिप्रेसनको सिकार भई आत्महत्यको बाटो रोज्छन्,’ उनले भने।  उनका अनुसार यस्तो बेलामा पारिवारिक सहयोग र आफन्तको भरथेगको आवश्यकता पर्दछ।  त्यसैगरी उसको बारेमा प्रचारप्रसार गर्नुभन्दा पनि विशेष निरागानीपूर्वक कानुनी दायरामा ल्याउनुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित: २८ श्रावण २०७६ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App