coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कडा सुरक्षा घेराभित्र कश्मीरका जनताले ईद मनाए

श्रीनगर – कडा सुरक्षा व्यवस्थाकै बीच भारत प्रशासित कश्मीरका जनताले सोमबार मुसलमान धर्मावलम्बीको पर्व ईद–अल–अदहा मनाएका छन्।

भारतको केन्दीय सरकारले गत साता संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खोसेपछि सो क्षेत्रमा अहिले पनि व्यापक सुरक्षा अधिकारी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइ राखिएको छ।

मुसलमान धर्मावलम्बीको बाहुल्यता रहेको कश्मीर क्षेत्रमा ईद–अल–अदहा पर्वको पूर्वसन्ध्यादेखि नै सुरक्षा व्यवस्थालाई कडा बनाइएको थियो। कश्मीरको राजधानीस्थित मुख्य मस्जिदसम्म पुग्न सकिने अवस्था नरहेका कारण धेरै जसोले स्थानीय मस्जिदमा ईद–अल–अदाह पर्व मनाएको बिबिसीले उल्लेख गरेको छ।

सौरा क्षेत्रमा भारत सरकार विरोधी केही प्रदर्शन भएको बताइए पनि ईद–अल–अदाह पर्व शान्तिपूर्ण रूपमा मनाइएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भारतले कश्मीरलाई दिँदै आएको विशेषाधिकार फिर्ता लिएसँगै उक्त क्षेत्र पूर्ण रूपमा ठप्प छ। सूचना वा आमसञ्चारका माध्यम पनि बन्द गरिएका छन् भने टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध पारिएको छ।

भारतको संविधानको धारा ३७० मा गरिएको व्यवस्थाले कश्मीरलाई धेरै हदसम्म स्वायत्त अधिकार प्रदान गरेको थियो। उक्त कानुनी व्यवस्था अनुरूप कश्मीरको आफ्नै संविधान, फरक झन्डा र कानुन निर्माण गर्ने छुट थियो। विदेश, रक्षा र सञ्चार मामिलाबाहेक सबै  कश्मीर आफैंले व्यवस्था गर्न पाउने अधिकार धारा ३७० ले प्रदान गरेको थियो। तर सो प्रावधान हटाइएसँगै कश्मीर बढ्दो तनावमा रहेको छ।

गत साता विशेष अधिकार कटौती गरिएको निर्णय सुनाउनु अघि नै मुस्लिम समुदायको बाहुल्यता रहेको कश्मीरमामा दशौं हजारको संख्यामा भारतीय सेना परिचालन गरिएको थियो।

भारत सरकारको विवादास्पद निर्णय सार्वजनिक भएसँगै कश्मीरमा सयौं जनालाई पक्राउ गरिएको छ भने दुई पूर्व मुख्यमन्त्रीलाई घरमै नजरबन्दमा राखिएको छ। कश्मीरमा आन्दोलनलाई कम प्रभावकारी बनाउन त्यहाँको सक्रिय राजनीतिज्ञ, अधिकारकर्मी र प्राज्ञिक व्यक्तिहरुलाई पनि पक्राउ गरिएको छ। केन्द्र सरकारले सुरक्षा व्यवस्था कडा बनाएको भए पनि कश्मीरका केही स्थानमा आन्दोलन भएको भन्ने विवरण पनि सार्वजनिक भइरहेका छन्।

 

 

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App