७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आप्रवासी तथा शरणार्थीको भार समान बनाउन आग्रह

एथेन्स – युरोपमा पुग्ने आप्रवासी शरणार्थीको भारलाई समान रूपमा वितरण गर्न ग्रीसले युरोपेली संघ (ईयू) सँग सोमबार आग्रह गरेको छ। ग्रीसका केही टापु हुँदै युरोप प्रवेश गर्न खोज्ने आप्रवासीको संख्या गत केही सातायता व्यापक बढेपछि ग्रीसले उनीहरुको व्यवस्थापनलाई लिएर ईयूमा चिन्ता व्यक्त गरेको हो।

गत जुलाई ७ पछि ग्रीसको बाटो भएर युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको संख्यामा वृद्धि भएको छ। दैनिक आप्रवासी आउन थालेपछि ग्रीसले यो समस्यालाई ईयूमा उठाएको बताइएको छ।

‘विगत एक डेढ महिना यता आप्रवासीको प्रवाहमा निकै वृद्धि भएको छ,’ ग्रीसका नागरिक सुरक्षा उपमन्त्री जर्जियस कोमोटसाकेसले ग्रीक दैनिक काथिमेरिनीसँगको अन्तवार्तामा भनेका छन्।

टर्कीको नजिक रहेका ऐजन टापुहरु लेस्बस, सामोस, चिओस, कोस र लेरोसमा २० हजारभन्दा बढी आप्रवासी वा शरणार्थी भेला भएका छन्। पछिल्ला केही महिनामा आप्रवासी तथा शरणार्थीको उक्त क्षेत्रमा प्रवेशको क्रम १७ प्रतिशतले बढेको बताइएको छ।

ईयूले शरणार्थीको वृद्धि हुनुमा ग्रीसको नयाँ अनुदारवादी पार्टीको आप्रवासी नीतिलाई जिम्मेवार देखेको छ। पछिल्लो समय ईयूले आप्रवासी नियन्त्रणमा ग्रीस र इटालीका नाकामा कडाइ गर्ने नीतिसँगै उक्त बाटो युरोप पुग्ने आप्रवासीको संख्यामा व्यापक कटौती भएको थियो।

सिरिया, लिबिया, यमन, अफगानिस्तानलगायतका मुलुकमा भएको द्वन्द्वका कारण सन् २०१५ मा युरोपमा शरणार्थीका रूपमा पुग्ने एसियाली तथा अरबी नागरिकको संख्याले आप्रवासी समस्या एक संकटका रूपमा देखिएको थियो। तर पछिल्ला केही वर्षमा यो संख्यामा उल्लेख्य कमी आएको थियो।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App