७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपामा गुट अदलबदल

काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए।  प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे।  केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

केही समयदेखि बिग्रिएको भनिएको ओली–गौतम सम्बन्ध सुमधुर बन्न थालेको अड्कल गर्न थालिएको छ।  नेता गौतमका अलावा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, पार्टी महासचिव विष्णु पौडेललगायत पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा गौतमले फरक मत राखेपछि ओली–गौतम सम्बन्धमा खटपट आएको थियो।  त्यसयताका सचिवालय बैठकमा पनि गौतमले ओलीलाई साथ दिएका थिएनन्।  पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि ओलीलाई साथ नदिएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रूपमा देखापरेका छन्।  बालुवाटार स्रोतका अनुसार असारको अन्तिम साताबाट ओली–गौतम सम्बन्धमा सुधार आएको हो।  गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए।  त्यसयता पार्टी एकताको प्रक्रियासमेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका थिए।

सुटुक्कै बालुवाटार पुग्ने गरेका वामदेव गौतमसँग केपी ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे समेत छलफल गरेका थिए।  त्यसक्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्ताव गरेका थिए।

केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँटलाई अघि बढाउँदा पनि ओलीले गौतमसँग छलफल गरेका थिए।  सुटुक्कै बालुवाटार पुग्ने गरेका गौतमसँग ओलीले पूर्वएमालेको भागमा परेका विभागीय प्रमुखहरूको जिम्मेवारीबारे समेत छलफल गरेका थिए।  त्यस क्रममा ओलीले गौतमलाई संगठन विभागको प्रस्ताव गरेका थिए।  गौतमलाई संगठन विभागको जिम्मेवारी दिने विषयमा सचिवालयका सबै नेता सहमत भएपछि ओलीले बालुवाटामै बोलाएर जिम्मेवारी लिइदिन आग्रह गरेका थिए। 

किसान महासंघको अध्यक्षसमेत रहेका गौतमले महासंघमा पूर्वमाओवादीहरूलाई पनि बराबरी जिम्मेवारी दिएकाले र आफूसँग राम्रो सम्बन्ध रहेकाले उनलाई संगठन विभाग प्रमुख बनाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहमत भएका थिए।  तेस्रो वरीयतामा रहेका माधवकुमार नेपाल, चौथो वरीयतामा रहेका झलनाथ खनाल, पाँचौं वरीयतामा रहेका गौतम, छैटौं वरीयतामा रहेका नारायणकाजी श्रेष्ठ र सातौं वरीयतामा रहेका ईश्वर पोखरेल सबैले पार्टीको विभागीय प्रमुख बन्न रुचि देखाएका थिए।  स्कुल विभागको प्रमुख दाबी गरेका श्रेष्ठ र पोखरेलबीच यस विषयमा विवाद नै भएको थियो।

स्कुल विभाग प्रमुखमा विवाद रहेकै बेला ओलीले गौतमलाई कास्कीबाट चुनावमा भाग लिनसमेत आग्रह गरेका थिए।  तर त्यसलाई गौतमले अस्वीकार गरे।  स्कुल विभागमा विवाद आएपछि सचिवालय बैठक नै स्थगित गरेर दुवै अध्यक्ष विदेश भ्रमणमा निस्केका थिए।  दुबई भ्रमणबाट फर्केलगत्तै दाहालले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल र खनाललाई आफ्नै निवासमा बोलाएर पार्टीको विभागीय जिम्मेवारीबारे छलफल गरेका थिए।  खासगरी पार्टीको राजनीतिक प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गर्दै गौतमले दुईवटा लेख सार्वजनिक गरेपछि दाहालले त्यो विषयमा पनि नेपाल र खनालसँग छलफल गरेका थिए। 

ओली स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहेका बेला दाहालले सक्रियता देखाएका थिए।  गौतम ओलीतिर लागिसकेको र संगठन विभाग पाएपछि अब उनको साथ ओलीलाई रहने निष्कर्ष दाहाल, नेपाल र खनालले निकालेका थिए।  त्यसपछि दाहालले गौतमलाई समेत बोलाएर राजनीतिक प्रतिवेदनप्रति किन असन्तुष्टि भनी सोधेका थिए।  त्यसको जवाफमा गौतमले नेपाली समाजको आधारअनुसार नै आफूले धारणा राखेको बताउँदै त्यसलाई पनि बहसमा ल्याउनुपर्ने बताएका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले बहुदलीय जनवादको वकालत गरिरहेका बेला गौतमको पनि उनीसँगै मिल्दोजुल्दो धारणा सार्वजनिक भएपछि दाहाल–नेपाल झस्किएका छन्।  एकीकृत राजनीतिक प्रतिवेदन नेपालकै संयोजकत्वमा तयार भएको थियो।  पार्टीका ३३ वटा विभागका प्रमुख–उपप्रमुख तोक्नेगरी साउन २८ गते सचिवालय बैठक बस्ने तयारी भइरहेको छ।  पछिल्लो सचिवालय बैठकमा स्कुल विभागबारे विवाद उत्पन्न भएपछि ईश्वर पोखरेल र रामबहादुर थापाले सचिवालय सदस्यहरू कसैले पनि विभागको प्रमुख नलिने भनी प्रस्ताव गरेका थिए तर अध्यक्ष ओलीले यस विषयमा नबोल्न आग्रह गरेका थिए।  उनले यस विषयमा दुई अध्यक्ष बसेर टुंग्याउने बताएका थिए।  ओली सोमबार स्वदेश फर्केकाले मंगलबार दुई अध्यक्ष बसेर स्कुल विभागको नेतृत्व टुंग्याउन सक्ने नेकपा स्रोतले जनाएको छ।

३३ वटा विभागमध्ये प्रमुख ६ विभागको बाँडफाँटमा पूर्वएमालेले विदेश, संगठन, नीति र स्कुल विभाग लिने तथा पूर्वमाओवादीले आर्थिक र प्रचार लिने सहमति भएको थियो।  पूर्वएमालेको भागमा परेकामध्ये स्कुल विभागमा पोखरेलको नाम प्रस्ताव भएपछि पूर्वमाओवादी समूहले विवाद झिकेको थियो।  पोखरेलले नेकपाको अबको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने विषयलाई विभिन्न सार्वजनिक कार्यक्रममा पटकपटक दोहो¥याएपछि पूर्वमाओवादी समूहले उनको सो भनाइलाई प्रतिवाद गर्दै आएको छ।  स्वयं अध्यक्ष दाहालले पनि पोखरेलको त्यस्तो अभिव्यक्तिको खण्डन गर्दै आएका थिए।

प्रकाशित: २८ श्रावण २०७६ ००:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App