८ वैशाख २०८१ शनिबार
समाज

विश्व युद्धमा ज्यान गुमाउने पुर्खाको स्मरण गर्दै 'पप्पी डे'

धरान- प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका हजारौं पुर्खाहरुको स्मृति एवं सम्मानमा धरानमा रहेका पूर्व ब्रिटिश गोर्खा सैनिकहरुले शुक्रबार पप्पी डे अर्थात पुर्खा दिवस मनाएका छन्।

विगतका बर्षहरुमा ११ नोभेम्बरको दिनलाई पप्पी डेकोरुपमा मात्र मनाउँदै आएका भुपु गोर्खा सैनिकहरुले यो बर्षदेखि भने पुर्खा दिवस भन्न शुरु गरेका हुन्। पप्पी डे अर्थात पुर्खा दिवसमा ब्रिटिश गोर्खा स्मृति पार्कले धरान १० स्थित सैनिक भवनमा रक्तदान आयोजना गर्‍यो भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको गोर्खा सिमेन्ट्री(चिहान)मा पुगेर भुपु गोर्खा एवं परिवारजनहरुले मौनधारण तथा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए। ‘हाम्रा धेरै पुर्खाहरु लडाईको मैदानमा रगत नपाएर मरे, ती पुर्खाहरुको आत्मालाई शान्ति मिलोस भनेर रक्तदान कार्यक्रम गर्‍यौं।’–पार्कका परिकल्पनाकार एवं भुपु सैनिक रमेश राईले भने–‘पुर्खाहरुको स्मृति र सम्मान पनि हो।’

                विश्वभर ११ नोभेम्बरलाई पप्पी डे भनेर मनाइन्छ। पप्पी खासमा एक प्रकारको फूल हो। युरोपमा त सम्मानमा नोभेम्बर महिनाभरि नै छातिमा पप्पी फूल सिउरिने चलन छ । पूर्व गोर्खा सैनिक गजेन्द्र इस्पोका अनुसार पहिलो बिश्वयुद्ध चलिरहँदा जर्मनी र युके, फ्रान्सको संयुक्त फोर्सबीच फ्रान्सको उत्तरी क्षेत्रमा भिषण युद्ध भइरहेको थियो । विध्वंस, लाश र रगतको आहालबीचमा पप्पी फूल फुल्यो । जुन फूललाई हावाले हल्लाउँदा छत्रे टोपी लगाएको सैनिकले परेड खेलेको झै देखिन्थ्यो । यो दृष्य देखेका एक कविले भावुक हुदै कविता लेखेका थिए । पहिलो विश्वयुद्धको अन्त्य सन् १९१८ नोभेम्बर(११) ११ तारिखको ११ बजे घोषणा भएको थियो भने सन् १९२१ नोभेम्बर(११) ११ तारिखको ११ बजेदेखि सबैले पप्पी फूल लगाउन थालेर पप्पी डे मनाउन शुरुवात भएको इतिहास छ । युद्धमा अंगभंग भएका सैनिकको उद्दार तथा सहयोगको लागि कोष स्थापना गर्न पप्पी डे मनाउन थालिएको इस्पो बताउँछन् । ‘वहृत कोषको लागि नै पप्पी डे मनाउन शुरु भएको हो । कोषको लागि भनेर पप्पी फुल किनेर लगाइन्छ । युरोपतिर त नोभेम्बरमा एक महिनासम्मै पप्पी लगाइन्छ’–उनले भने।

प्रकाशित: २६ कार्तिक २०७३ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App