coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको बाँकी मुआब्जा वितरण गर्न निर्देशन

काठमाडौं– संसदीय समितिले बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको जग्गाको बाँकी मुआब्जा तत्काल निर्धारण गरी तीन महिना भित्र वितरण गरिसक्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो यस्तो निर्देशन दिएको हो।

सो आयोजनाको मुख्य प्रभावित क्षेत्र आरुघाटलगायत जग्गाको बाँकी मुआब्जा पनि तत्काल निर्धारण गरी तीन महिनाभित्र वितरण गरिसक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन्। बैठकले सो आयोजनाको निर्माण कार्य विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारनै अघि बढाउन पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा समितिका सदस्यहरूले सो आयोजनाको ९० प्रतिशत जग्गाको मुआब्जा वितरणको काम सम्पन्न गरेर बाँकी १० प्रतिशत जग्गाको मुआब्जा वितरणको काम भने बाँकी राखेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए।

समितिका सदस्य एवम् पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले २०७२ सालमा निर्माण कार्य सुरु गर्ने भनी तय गरिएको सो राष्ट्रिय गौरवको आयोजनाको काम हालसम्म पनि सुरु नगरेको भन्दै सरकारको चर्को आलोचना गरे।

समितिका अर्का सदस्य दलबहादुर रानाले सो आयोजनाको जग्गाको बाँकी मुआब्जा वितरणको कामलाई सम्पन्न नगरेर सरकारले अन्यौलता थपी दिएको उल्लेख गर्दै तत्काल त्यसलाई सुचारु गराउन सरकारलाई सचेत गराए।

१२ सय मेगावाट क्षमताको सो राष्ट्रिय गौरवको आयोजना सुरुमा दुई खर्ब ३० अर्ब लगानीमा सम्पन्न गर्ने अनुमान गरिए पनि हाल त्यसको लागत बढ्दै गएकोमा पनि समितिका सदस्यहरुले चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: २७ श्रावण २०७६ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App