१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘राज्यको भरोसा गर्नुस्, विप्लव समूहलाई चन्दा नदिनुस्’

परासी– प्रदेश नम्बर ५ का प्रहरी प्रमुख सुरेशविक्रम शाहले नेत्रविक्रम चन्द समूहलाई चन्दा नदिन उद्योगी–व्यवसायीसँग आग्रह गरेका छन्।

उक्त समूहले चन्दा आतङ्क शुरु गरेको व्यवसायीको गुनासोपछि उनले राज्यको भरोसा गर्न र चन्दा नदिन आग्रह गरेका हुन्। डिआइजी शाहले भने, ‘हामी किन चन्दा दिन्छौँ, राज्यको भरोसा छैन? राज्यभन्दा ऊ ठूलो भयो? अमुक दललाई सहजै चन्दा दिनुहुन्छ, सेवा र मुनाफा आर्जन गर्ने तपाईं (व्यवसायी)ले चन्दा दिएको पैसा कहाँबाट उठाउनुहुन्छ, यहाँनिर प्रश्न उठ्छ, तपाई हामी सचेत हुन जरुरी छ।’

उद्योग व्यवसायको सुरक्षा गर्न नेपाल प्रहरी तत्पर रहेको उल्लेख गर्दै उनले मर्यादामा रहेर पेशा सञ्चालन गर्नसमेत आग्रह गरे। उद्योग वाणिज्य सङ्घ नवलपरासीले सोमबार परासीमा आयोजना गरेको औद्योगिक सुरक्षासम्बन्धी छलफलमा प्रहरी नायब महानिरीक्षक शाहले भने, ‘उद्योग व्यवसाय भनेको राज्यको मेरुदण्ड हो, तपाईंहरु सबल सक्षम रहे मात्र राष्ट्रको उन्नति हुन्छ, हामी सधैँ सुरक्षा दिन तत्पर छौँ।’

सशस्त्र प्रहरी प्रदेश नं ५ का प्रमुख  सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले खुल्ला सिमानाबाट हुने चोरी–तस्करी तथा अपराध नियन्त्रणमा निरन्तर लागिरहेको बताए। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा रकमको बार्गेनिङ गरेर चोरी–तस्करी मौलाएको भन्ने व्यवसायीको जिज्ञासामा उनले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइँदै आएकाले  कुनै प्रहरी कर्मचारीले त्यस्तो गरेको पाएमा खबर गर्न पनि आग्रह गरे। उनले औद्योगिक सुरक्षाका लागि सशस्त्र प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे। रासस

प्रकाशित: २७ श्रावण २०७६ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App