८ वैशाख २०८१ शनिबार
अन्य

छात्रवृत्तिका विद्यार्थी पढाउन आलटाल

धनुषा– जनकपुुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको छात्रवृत्तिका विद्यार्थी पढाउन नगरका निजी क्याम्पसहरूले आलटाल गरेका छन्।

नगरका विभिन्न क्याम्पसमा माध्यमिक तह पढ्नका लागि पालिकाले पूर्ण छात्रवृत्तिको परीक्षा लिई सार्वजनिक गरेको नतिजाअनुसार छात्रवृत्तिको विद्यार्थी पढाउन क्याम्पसले आलटाल गरेको हो। पूर्ण छात्रवृत्ति परीक्षामा नाम निकालेका विद्यार्थीहरूको निजी क्याम्पसहरूले भर्ना नलिँदा उनीहरू अलपत्रमा परेका छन्।

पूर्ण छात्रवृत्तिका लागि नगरपालिकामा ३ सय ७४ विद्यार्थीले आवेदन दिएकोमा विज्ञानतर्फ २ सय ११ जना र शिक्षा, कानुन र व्यवस्थापनतर्फ ८७ जना विद्यार्थी पास भएका छन्। उपमहानगरपालिकाले १०० अंकको परीक्षा लिएकोमा न्यूनतम ४० अंक ल्याउने  विद्यार्थी पास भएका छन्। तर पूर्णछात्रवृत्तिको परीक्षामा १४ औं स्थानमा पास भएका धनुषाको धनौजी गाउँपालिका–१ पंकज साहले जनकपुरधामको मिट क्याम्पसमा भर्ना हुने भनी इच्छा व्यक्त गरेबमोजिम नगरपालिकाले सिफारिस गरेको छ। उपमहानगरपालिकाले सिफारिस गरे पनि क्याम्पसले विज्ञान विषयका लागि वार्षिक ३८ हजार रकममध्ये ३ हजार मात्रै छुट दिएर ३५ हजार रुपैयाँ लिने भन्दै विद्यार्थीहरूलाई फर्काउने गरेको उनले बताए। पंकज साहका बुबा जयनाथ साहले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखामा गुनासो गरेका छन्। ‘यो पूर्ण छात्रवृत्तिको परीक्षामा १४ औं स्थान ल्याएर पास भएपछि क्याम्पसले छुट दिनै चाहेको छैन,’ जयनाथले भने,  बिना कामको नगरपालिकाले परीक्षा लिएको छ।’

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा अधिकारी मेहिलाल यादवका अनुसार प्रत्येक क्याम्पसले भर्ना भएको विद्यार्थीको जम्मा संख्यामा शिक्षा कार्यविधि २०७४ अनुसार  १० प्रतिशत विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने हुन्छ। ‘हामीले लिएको परीक्षामा पास भएका विद्यार्थीहरूलाई जनकपुरका विभिन्न क्याम्पसमा पूर्ण छात्रवृत्ति कोटामा भर्ना गर्न पठाएका छौं,’ उनले भने, ‘नगरभरिका क्याम्पसले भर्ना लिनै पर्छ।’

यता, जनकपुरधामका मिट क्याम्पसका प्राचार्य मनोज साहले भर्ना र महिना शुल्कमा छुट दिने जिकिर गरे। ‘हामी कहाँ अहिले ४ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएका छन्,’ उनले भने, ‘हामी ३ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्छौं।’ शिक्षा कार्यविधिबारे आफूलाई जानकारी नभएको भन्दै १० प्रतिशतबारे जानकारी लिएर त्यसैअनुरुप भर्ना लिने बताए।

‘यहाँ धेरै विद्यार्थी आउने गरेका छन्, कतिलाई छात्रवृत्तिमा पढाउन सकिन्छ। अवस्था हेरेर कुरा हुन्छ,’ उनले भने, ‘पालिकाबाट राजनीतिक सोर्सफोर्समा पास भएर आएकाले आउने विद्यार्थीलाई क्याम्पसमा पनि जाँच दिनभन्दा विद्यार्थीहरूले बलजबरजस्ती गर्न खोजेका छन्।’ पालिकाले साउन २२ गते २० जना र साउन २४ गते विज्ञानका लागि २१ जना र व्यवस्थापनतर्फ २३ र ४४ जनाको थप नाम पठाएको छ,’ उनले भने, ‘हामीले केही रकम विद्यार्थीबाट लिएर आएका ६४ विद्यार्थीकै नामांकन गरिदिने सोचमा छौं।’ कोटाअनुसार ३ प्रतिशतले १२ जना र  १० प्रतिशत भए ४० जना विद्यार्थीलाई मात्रै भर्ना लिने उनले बताए।

प्रकाशित: २७ श्रावण २०७६ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App