coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अवैध तवरबाट ल्याइएका चल्ला नष्ट

बिक्री वितरणको कागजात नभएको र यात्रुबाहक बसमा ढुवानी गरिएको चल्ला नियन्त्रणमा लिएर नष्ट गरिँदै। तस्बिर: सविता/नागरिक

चितवन – काठमाडौंबाट पूर्वी नेपालको सुनसरी र झापा लैजान लागिएका तीन हजार नौ सय ७८ चल्ला आइतबार नष्ट गरिएको छ। पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरले रामनगरबाट नियन्त्रणमा लिएको चल्ला पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलमा खाडलमा पुरेर नष्ट गरिएको हो।

काठमाडौंबाट झापा जान लागेको ना ५ ख ७९३७ नम्बरको यात्रुबाहक बसमा चल्ला ल्याइएको पाएपछि नियन्त्रणमा लिएको चेकपोस्ट प्रमुख रामकिशोर साहले जानकारी दिए। रामनगरमा बिग्रेर रोकिएको बसमा चल्लाहरु देखेपछि सोधखोज गरेर नियन्त्रणमा लिएको उनले बताए। चेकजाँचका क्रममा क्वारेन्टाइनमा दरपिठ (दर्ता) समेत नगराएको पाइएको उनी बताउँछन्।

नियन्त्रणमा लिएर नष्ट गरिएका कुखुरा चारआली, बिर्तामोड, इटहरी र विराटनगर लैजान लागिएको थियो। बसमा ल्याइएका चल्लामध्ये पाँच सय चल्ला भक्तपुरको बागेश्वरी–३ को गौरीपिपल ह्याचरीको रहेको छ। बाँकी चल्ला काठमाडौंको पाँचमाने–५ को ह्याच नेपालको रहेको साहले बताए।

नेपालकै उत्पादनको लोकल कुखुराको चल्ला भए पनि ढुवानी मापदण्डले एउटै सवारीसाधनमा यात्रु र पशुपक्षी ढुवानी गर्न नपाउने व्यवस्था गरेकाले चल्ला ओसारपसारको तरिका अवैध भएको नियन्त्रणमा लिइएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक जयराम चापागाईले बताए।

यस्तै, चल्ला उत्पादन अनुमति लिएकै विभागबाट चल्ला बिक्री वितरणको पनि अनुमति लिनुपर्ने प्रावधान भए पनि त्यो पनि नलिएको पाइएको उनी बताउँछन्। चल्ला ओसारपसार गर्दा प्याकिङ गरिने बक्समा उत्पादकको नाम, ठेगाना, छाप हुनुपर्ने भए पनि सादा बक्समा ओसारपसार गरिएको भेटिएको उनले बताए। चल्ला ओसारपसारमा सहभागी भएको बसलाई भने पाँच हजार रुपैयाँ जरिवाना गरेर छाडिएको छ। गत शुक्रबार भारतबाट ल्याइएको अवैध कुखुराको चल्ला नष्ट गरिएको थियो। चितवनका ह्याचरी उद्योगीको सक्रियतामा मुग्लिन लैजाँदै गरेको अवैध चल्ला जलविरेबाट नियन्त्रणमा लिएर नष्ट गरिएको हो।

ना ४ च ३६५८ नं को बोलेरो जिपमा ल्याइएको पाँच हजार पाँच सय आठवटा ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको थियो। भारतबाट अवैधरुपमा नेपाल ल्याइएको चल्ला रौतहटका उमाशंकर तिवारीले चितवनका प्रकाश पुडासैनीको नाममा श्रेष्ठ फिड ट्रेडर्सको बिलमा पठाएका थिए। भारतीय र नेपाली गरी दुईथरी कार्टुनमा चल्ला ल्याइएको थियो। चल्ला पठाउने व्यक्तिले बूढानीलकण्ठ ह्याचरीले चल्ला पठाएको कार्टुनमै अर्को चल्ला हालेर पठाएको भेटिएको थियो। एकपटक चल्ला बोकेपछि त्यस्तो कार्टुन अर्को पटक प्रयोग गर्न मिल्दैन।

त्यसैले पनि अवैध रुपमा चल्ला पठाएको प्रष्ट हुने, बूढानीलकण्ठ ह्याचरीका व्यवस्थापक मनोज श्रेष्ठ बताउँछन्। उक्त घटनामा रौतहटबाट मुग्लिनसम्म चल्ला लैजानका लागि पथलैया र रामनगरमा रहेको पशु क्वारेन्टाइनमा प्रवेश गराएर मात्रै लैजान पाइने प्रावधान छ। तर, दुवै क्वारेन्टाइनमा प्रवेश नगराई सरासर मुग्लिन लगेको पाइएकाले चल्ला अवैध भन्ने पुष्टि भएको पशु क्वारेन्टाइन रामनगरका प्रमुख साहले जानकारी दिए।

भारतमा बर्डफ्लूको संक्रमण रहेको र नेपालमा कुखुरापालन व्यवसाय आत्मनिर्भर भएकाले भारतबाट कुखुराजन्य उत्पादन तथा चल्ला चल्ला ल्याउन रोक लगाइएको छ। अवैधानिक तरिकाले ल्याइने चल्लाले रोगको संक्रमणसमेत फैलन सक्ने खतरा हुने पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक चापागाई बताउँछन्। नेपाली उद्योगलाई धरासायी बनाउने गरी चोरी निकासी र भन्सार छली गर्ने र ओसारपसार तथा बिक्री वितरण प्रक्रिया गलत भएकाले साउन महिनामा अहिलेसम्म दुई पटक चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको उनले बताए।

प्रकाशित: २७ श्रावण २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App