७ वैशाख २०८१ शुक्रबार
अर्थ

गाउँपालिकाको राजस्वमा घोटाला

तामाकाेसी गाउँपालिकाकाे कार्यालय। तस्बिर/नागरिक

दोलखा - जिल्लाको तामाकोसी गाउँपालिकामा नदीजन्य वस्तुको निकासी गरे वापत लिइने कर संकलनमा २१ लाख रुपैयाँ घोटाला भएको पाइएको छ।  गाउँपालिकाको भिरकोट स्थित गोपीखोलादेखि शहरेसम्मको तामाकोसी नदी क्षेत्रबाट झिकेर अन्यत्र निकासी गरिएको ढुंगा, गिट्टी, बालुवा तथा नदीजन्य वस्तुहरुको निकासी वापतको करमा २१ लाख रुपैंया घोटाला भएको हो।  

स्थानीय तहहरुले आन्तिरिक आय अन्तर्गत नदीजन्य पदार्थको निकासी वापत कर असुल्न पाउँछन्।  त्यही वापत तामाकोसी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ठेक्का नलागेको बेलामा २०७५ साउन १ गते देखी असोज २२ गते सम्म आफैंले निकासी कर संकलन गरेको थियो।  असोज २३ गतेपछि मात्र यो क्षेत्रको निकासी कर संकलन गर्नका लागि ठेक्का लागेको थियो।  तर उक्त ठेकेदारले समेत ठेक्का वापतको रकम बुझाउन नसकेपछि गाउँपालिकाले बैंक मार्फत धरौटी जफत गर्नुपरेको थियो। 

साउन १ देखि असोज २२ सम्मको अवधीमा त्यतिबेला तामाकोसी नदी क्षेत्रमा ३ ओटा ठुला क्रसरहरु सञ्चालनमा थिए।  गाउँपालिकाको वडा नं १ को गोपीखोलामा तामाकोसी रोडा ढुंगा उद्योग र दोलखा जलदेवी क्रसर उद्योग साथै वडा नं ३ जफेको ढोलीखोला क्षेत्रमा दोलखा श्री एकता रोडा ढुंगा उद्योग सञ्चालनमा छ।  हाल यि तिन उद्योग संगै ढोली खोला क्षेत्रमा अर्को पनि सञ्चालनमा आएको छ।  

उद्योगहरुबाट निकासी हुने गिट्टी बालुवा सहितका बस्तुको निकासी कर उठाउनका निम्ती गाउँपालिकाले संकलक राखेको थियो।  तर संकलक मार्फत उठाइएको करको रकम पारदर्शी नै छैन्।  स्रोतका अनुसार क्रसर उद्योगहरुको विजक विवरण हेर्दा ३ महिनाको अवधीमा यो क्षेत्रबाट २९ लाख ८२ हजार १ सय ८१ रुपैंया ४० पैसा निकासी कर गाउँपालिकामा दाखिला हुनुपथ्र्यो।  तर असार मसान्त सम्म तामाकोसी नदी क्षेत्रबाट संकलन भएको निकासी कर वापत ८ लाख ११ हजार ५ सय उनान्नब्बे रुपैंया मात्र गाउँपालिकाको खातामा दाखिला भएको देखिन्छ। गाउँपालिका कार्यालयमा त्यसरी कर उठाइएका रसिद प्याडहरु समेत खुलस्त र पारदर्शी छैनन्।        

क्रसर व्यवसायीहरुबाट नागरिकलाई प्राप्त विजकको विवरण अनुसार गाउँपालिकाको वडा नं १ स्थित भिरकोटको गोपीखोला, र वडा नं ३ जफेको ढोलीखोला क्षेत्रमा रहेका क्रसर उद्योगहरुबाट यो अवधीमा १८ हजार ५ सय ६९ घनमिटर नदीजन्य बस्तु निकासी भएको देखिन्छ।

 त्यस वापत गाउँपालिकाले प्रति घनमिटर १ सय ६० रुपैंया ६० पैसाका दरले निकासी कर लिन्छ।  तर गाउँपालिकाको लेखा शाखाका अनुसार त्यस अवधीमा तामाकोसी नदी क्षेत्रका क्रसरहरुबाट उठेको निकासी कर वापत गाउँपालिकामा ८ लाख  ११ हजार ५ सय ८९ रुपैंया मात्र दाखिला भएको देखिन्छ।

‘रसिद प्याड क्रसरकै जिम्मामा दिएका हौं’

गाउँपालिकाले भने निकासी कर उठाउनका लागी रसिद प्याड क्रसरकै कर्मचारीलाई दिइएको बताएको छ।  ‘यो अघिल्लो सालकै समस्या रहेछ, म त यहाँ सरुवा भएर आएको ४ महिना मात्र हुन लाग्यो’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान कोईरालाले भने – ‘गिट्टी बालुवाको निकासी कर संकलनको अनुभव समेत खासै नभएको र जनशक्ती समेत पर्याप्त नहुने गरेका कारण क्रसर उद्योगहरुको विजकसँग भिडाएर रसिद काट्न समेत सजिलो हुने कारण उद्योगका कर्मचारीलाई नै रसिद प्याड दिएर पठाईने गरिएको रहेछ’।  उनले निकासी करको विवरणमा केही न केही फरक परेको स्विकार गरे।  ‘त्यती ठुलो रकम त हैन, तर केही फरक भने देखिएको छ, अनुसन्धान गर्दैछौ’ उनले भने।  

कोईरालाले कुन कुन उद्योगका कर्मचारीले कति कति रसिद प्याड बुझेर लगेका थिए भनेर अनुसन्धान भइरहेको र रसिदको सम्पूर्ण भर्पाई सहितका कागजात बुझाउनका निम्ति गाउँपालिकाले चिठी लेखेको सुनाए।  ‘वडा नं १ को तामाकोसी रोडा उद्योग र ३ को एकता रोडा ढुंगा उद्योगले मात्र लगेको रसिद र उठेको कर वापतको रकम बुझाउन आउनुभएको छ’ उनले भने – ‘जलदेवीलाई पत्र लेखेका छौं, सम्पर्कमा आउनुभएकै छैन’।  कोईरालाले तामाकोसी रोडा र एकता श्री मार्फत ८ लाख ११ हजार दाखिला भएको बताए।  रसिद प्याड वडा कार्यालयबाट समेत बुझेर लगेको हुन सक्ने आशंकामा छानविन भईरहेको कोईरालाले बताए।  

 तामाकोसी रोडा ढुंगा उद्योगका सञ्चालक सुरेश उप्रेतीले आफुहरुले रसिद प्याड बुझेर नलगेको दाबी गरे।  ‘उहाँहरुको संकलक राखेर संकलन गर्नुभएको हो’ उनले भने – ‘हामीले बुझेर लगेका छैनौं’।  

‘छानबिनबाट  दोषी देखिए कार्बाही गर्छौ’

गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले निकासी करको समस्या बारे गाउँकार्यपालिका बैठक मार्फत समिति बनाएर सुक्ष्म छानविन हुने बताए।  ‘त्यतीखेर तत्कालिन जिल्ला विकास समितिको ठेक्का अवधी सकिएर भर्खरै हामीहरु कहाँ हस्तान्तरण भएको थियो’ उनले भने – ‘अनुभवको कमीका कारण ठेक्का लगाउन केही समय लागेकाले गाउँपालिका आफैंले कर्मचारीको अभावका कारण क्रसर उद्योगहरुकै लेखा हेर्ने कर्मचारीलाई संकलकको रुपमा उद्योगको विजक अनुसार कर संकलन गर्ने जिम्मेवारी दिएका थियौं’ ।  पोखरेलले क्रसर उद्योगहरुले समेत लगेको रसिद प्याड समयमा नबुझाएको र गाउँपालिकाको रसिद घोटाला गरेको भेटिए कार्बाही हुने बताए। 

‘अन्त पनि उस्तै’

अघिल्लो बर्ष वैत्येश्वर गाउँपालिकाले वडा नं ८ ले तामाकोसी नदीबाटै गिट्टी बालुवा निकासी वापत उठाएको कर र गाउँपालिकाबाट लगेको रसिद प्याड गाउँपालिकामा दाखिला नगरेको भन्दै ताकेता पत्र लेख्यो।  थप रसिद प्याड नदिएपछि डाले आफ्नै रसिद छापेर निकासी कर संकलन गर्न थालेपछि गाउँपालिकाले हस्तक्षेप गरेर समस्या सुल्झाएको थियो।  

स्थानीय सरकारहरुले गर्ने राजस्व आम्दानी बारे प्रष्ट हिसाब निकाल्न नसकेपछि अघिल्लो बर्षको लेखा परिक्षणमा कोष तथा लेखा नियन्त्रण कार्यालयले ठुलो रकम बेरुजु निकालेको थियो।  ‘स्थानिय तहहरुले वडा स्तर सम्म रसिद प्याड पठाएर  गरेको राजस्व आम्दानीको रकम पारदर्शी नदेखिएपछि अघिल्लो बर्षको लेखापरिक्षण रिपोर्टमा बेरुजु देखिएको थियो’ कार्यालयका प्रमुख कोष नियन्त्रक भिष्मराज न्यौपानेले भने – ‘वडा सम्म पुगेको रसिदको आम्दानी हिसाब सहित पालिकामा आउनुपथ्र्यो, तर अघिल्लो साल धेरै स्थानमा आउँदै नआएको देखियो’। 

‘राजस्व दाखिला आजको भोली गर्नुपर्छ’ 

न्यौपानेका अनुसार जुन सुकै सरकारी निकायले पनि आज उठाएको रकम भोली दाखिला गर्नुपर्छ।  नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली अनुसार आज उठेको राजस्व रकम कार्यालय प्रति रसिद सहित भोली नै दाखिला गर्नुपर्छ।  राजस्व आम्दानीको रसिद दिदा सरकारी निकायले माथिल्लो ग्राहक प्रति,  त्यसको मुनी कार्यालय प्रति र अन्तिममा श्रेष्ताका लागी राखिएको तिन प्रति हुन्छ काटेका हुन्छन।  ‘हो हरेक दिन उठेको राजस्वको कार्यालय प्रति बोकेर भोलीपल्ट आफ्नो सम्बन्धीत निकायमा दाखिला गर्नुपर्ने नियम छ’ न्यौपानेले भने।

तर टाढा रहेका कार्यालय जस्तै वडा कार्यालयले काटेको रसिद पालिका केन्द्रमा ल्याईपु-याउन समय लाग्ने कारण यातायात वा बाटोको समय छुट्याएर पालिकामा लगेर दाखिला गर्नुपर्ने हुन्छ।  तर राजस्व दाखिलाको रसिद र रकम नबुझाउने र लामो समय सम्म नदेखिने कारण लेखापरिक्षणमा बेरुजु देखिने गरेको न्यौपाने बताउछन्।

प्रकाशित: २७ श्रावण २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App