८ वैशाख २०८१ शनिबार
खेल

तटस्थ खेलस्थल माग

नयाँ दिल्ली – भारतले दुई राष्ट्रबीच बढ्दो राजनीतिक तिक्तताको कारण देखाउँदै अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) लाई पाकिस्तानविरुद्धको निर्धारित डेविस कपको खेल तटस्थ स्थानमा सार्न आग्रह गरेको छ।

भारतले सेप्टेम्बर १४ र १५ मा एसियन ओसिनिया समूह १ अन्तर्गतको खेलका लागि पाकिस्तान भ्रमण गर्ने तालिका थियो। तर भारतले हालै जम्मु काश्मिरलाई दिइएको विशेष स्वायत्तता प्रदान गर्ने संविधानको धारा ३ सय ७० खारेज गरेसँगै यी दुई राष्ट्रबीचको सम्बन्ध थप चिसिएको थियो। पाकिस्तानसहित छिमेकी चीनले पनि भारतको कदमलाई ‘अस्वीकार्य’ भन्दै विरोध गरेको छ।

यद्यपि भारतले भने यो नितान्त आफ्नो देशको विषय भएको भन्दै यसमा अनावश्यक हस्तक्षेप नगर्न चीनलाई भनेको छ। ‘हामीले अवस्था समान्य नभएकाले आइटिएफलाई तटस्थ खेलस्थलको व्यवस्था गर्न आग्रह गरेका छौं,’ भारतीय टेनिस संघ (एआइएटिए)का अध्यक्ष प्रवीन महाजनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा हाम्रो माग जायज छ।’
जम्मु कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झनै गहिरिँदा पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने घोषणा गरिसकेको छ।

एआइएटिएले पाकिस्तानमा आफ्ना खेलाडी पठाउने तयारी गरे पनि वर्तमान राजनीतिक अवस्थाका कारण पछि हट्ने निर्णय गरेको हो। भारतले २००८ मा मुम्बईमा भएको हमलामा पाकिस्तानको संलग्नता रहेको भन्दै पाकिस्तान भ्रमण गरेको छैन र पाकिस्तानलाई पनि भ्रमणको निमन्त्रणा दिएको छैन।पछिल्लो पटक भारतीय टेनिस टोलीले १९६४ को डेविस कपका लागि पाकिस्तान भ्रमण गरेको थियो, जहाँ भारत ४–० ले विजयी भएको थियो। पाकिस्तानले सोही प्रतियोगिताका लागि २००६ मा भारत म्रमण गर्दा ३–२ को नतिजा सुम्पिएको थियो।

केही वर्ष अघिसम्म पनि अन्य सहभागी राष्ट्रले पनि सुरक्षाको कारण देखाउँदै तटस्थ स्थानमा खेल खेल्दै आएका थिए।‘पाकिस्तानलाई तटस्थ खेल स्थलमा खेल्न बानी परिसकेको छ।

आशा छ आइटिएफले हाम्रो मागको उचित सम्बोधन गर्नेछ,’ महाजनले भने। पाकिस्तान टेनिस संघका अध्यक्ष सलिम सैफुल्ला खानले यसअघि नै भारतले इस्लामाबाद भ्रमण रद्द गर्दै तटस्थ खेलस्थलको माग गरे आइटिएफको निर्णय मान्य हुने बताइसकेका छन्।


 

 

प्रकाशित: २७ श्रावण २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App