७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘हिटलरको जस्तो विचारधाराबाट भारत प्रभावित’

पाकिस्तानी प्रधानमन्त्री इमरान खान।

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका विषयमा भारतले अँगालेको नीतिलाई एडोल्फ हिटलरको नाजी विचारधारासँग तुलना गरेका छन्। प्रधानमन्त्री खानले ट्विट गर्दै आफूलाई भारतीय राष्ट्रिय स्वंयसेवक संघ आरएसएसको विचारधारासँग डर लागेको बताएका हुन्। आरएसएस सत्तारूढ भारतीय जनता पार्टीसँग सम्बन्धित दक्षिणपन्थी, हिन्दू राष्ट्रियतावादी स्वंयसेवक संस्था हो।

खानको आधिकारिक ट्विटर अकाउन्टबाट गरिएका ट्विटलाई पाकिस्तान सरकारको आधिकारिक ट्विटर अकाउन्टबाट समेत प्रकाशित गरिएको छ। ‘भारत प्रशासित कश्मीरमा जारी कफ्र्यू, कारबाही र जनसंहारको अवस्था नाजी विचारधाराबाट प्रभावित आरएसएस विचारधारामा आधारित छ,’ खानले ट्विट गरेका छन्। ‘यो जातीय संहार गरेर कश्मीरको जनसंख्या बदल्ने प्रयास हो। हिटलरले म्युनिखमा गरेको जस्तो कामलाई के विश्वले हेरिरहन्छ? प्रश्न उठ्छ,’ ट्विटमा भनिएको छ।

‘म आरएसएसको हिन्दू श्रेष्ठताको विचारधाराबाट डराएको छु, यसलाई भारत प्रशासित कश्मीरमा रोक्नुपर्छ अन्यथा भारतमा मुसलमानमाथि दमन हुन्छ र अन्ततः पकिस्तान निशानामा पर्छ,’ खानका अन्य ट्विट उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हिन्दू श्रेष्ठता हिटलर शासनको नै संस्करण हो,’ खानको भनाइ छ। यसअधि पनि पाकिस्तानी प्रधानमन्त्री खानले भारतको निर्णयबारे आफूले ‘विश्वलाई बताउन चाहेको’ टिप्पणी गरेका थिए।

‘मलाई डर छ कि अब कश्मीरमा भारतले जातीय हिंसा सुरु गर्नेछ,’ उनले गत सात भनेका थिए। अगस्ट ५ का दिन भारत सरकारले जम्मु कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरिदिएपछि गएको बुधबार पकिस्तानले भारतसँगको आफ्नो राजनीतिक सम्बन्ध सीमित पार्ने र व्यापार सम्बन्ध तोड्ने घोषणा गरेको थियो।

यस अघि पाकिस्तानका सेना प्रमुखले आफ्नो फौज कश्मीरी जनताको ‘संघर्ष’मा उनीहरुको साथमा रहेको बताएका थिए। भारतको अर्को छिमेकी चीनले पनि भारतीय कदमको विरोध गरेको छ। चीनले यसलाई ‘अस्वीकार्य कदम’को संज्ञा दिएको छ। राष्ट्रिय स्वयंसेवक संघले भने नरेन्द्र मोदी सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई साहसिक कदमको रूपमा लिएको छ। उसले उक्त निर्णय जम्मु कश्मीरसहित पूरै देशको निम्ति आवश्यक रहेको बताएको छ। ‘सबैले आफ्नो स्वार्थ एवं राजनीतिक मतभेदभन्दा माथि उठेर यस निर्णयको स्वागत र समर्थन गर्नुपर्छ,’ संघले भन्दै आइरहेको छ।
 

 

प्रकाशित: २७ श्रावण २०७६ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App