coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

निसानामा सरकारी सम्पत्ति

दाङ - दाङको बंगलाचुली गाउँपालिकाको गाडीमा शनिबार राति आगजनी भयो।  गाउँपालिकाको वडा नम्बर ५ मुर्कुटीस्थित वडा कार्यालयमा पार्किङ गरेर राखेको रा१झ १५२ नम्बरको उक्त जिपमा राति पौने एक बजेतिर आगो लागेको थियो।  उक्त गाडी गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले प्रयोग गर्थे।  प्रहरीका अनुसार २३ लाख रकम पर्ने उक्त सरकारी गाडी आगजनीबाट पूर्ण क्षतिग्रस्त छ।  गाडीमा आगो कसले लगायो, खुल्न सकेको छैन।  प्रहरी भन्छ, ‘अनुसन्धान भइरहेको छ। ’

कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष चढ्ने स्कारपियो गाडीमा पनि सोही राति आगजनी भयो।  गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्दै आएको लु१झ ४०० नम्बरको जिप आगजनीबाट पूर्णरुपमा नष्ट भएको छ।  तौलिहवास्थित भाडाको निवासअगाडि पार्किङ गरेर राखेको जिपमा राति साढे १० बजेतिर आगजनी भएको थियो।  यो घटनामा पनि दोषीबारे खुल्न सकेको छैन।  आगो कपिलवस्तु नगरपालिकाको दमकलले नियन्त्रणमा निभाएको थियो।  प्रहरीका अनुसार यो गाडीको मूल्य ५० लाख पर्छ।

५ नम्बर प्रदेशका दुई गाउँपालिकामा एकै दिन भएका यी दुई घटनाले यो प्रदेशका स्थानीय तहको सुरक्षा चुनौतीलाई उजागर गरेका छन्।  प्रहरीले समेत स्थानीय तहमाथि कुनै समूहले सुरक्षा चुनौती बढाएको जनाएको छ।  गत वैशाख यताकै घटनालाई हेर्ने हो भने पनि ५ नम्बर प्रदेशका स्थानीय सरकारका सम्पत्तिलाई निसाना बनाउने क्रम बढेको देखिन्छ।  ‘पछिल्ला घटना क्रमलाई हेर्ने हो भने आपराधिक समूहले सरकारी सम्पत्तिलाई निसाना बनाएको प्रस्टै देख्न सकिन्छ,’ ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज पोख्रेलले भने, ‘वैशाखयताका घटना हेर्ने हो भने स्थानीय तहमाथि आक्रमण भइरहेको देखिन्छ। ’

स्थानीय तहको सम्पत्तिमा शृंखलाबद्ध रुपमा आगजनी र तोडफोड भएपछि प्रहरीले विप्लव समूहमाथि आशंका गरेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख ५ गते पाल्पाको रिब्दीकोट गाउँपालिकामा एकैदिन दुई सरकारी भवन तोडफोड गरिए।  रिब्दीकोट गाउँपालिकाकै कार्यालय भवन तोडफोड भयो।  अज्ञात समूहले कार्यालयका झ्यालका सिसा फोडिए, प्रतीक्षालयमा समेत क्षति पुग्यो।  त्यसै दिन यही गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयमा समेत तोडफोड भयो।  कार्यालयका झ्यालको सिसा, एकथान कम्प्युटर, एकथान प्रिन्ट र नौ बोरा घाँसको बीउ नष्ट भयो।  तोडफोडका यी दुवै घटनामा संलग्न संलग्नहरुको पनि पहिचान हुन सकेको छैन।  ‘उक्त घटनाका बारेमा पनि अनुसन्धान भइरहेको छ’, प्रवक्ता पोख्रेलले भने, ‘दोषीहरु नियन्त्रणमा आइसकेका छैनन्। ’ उनका अनुसार गाउँपालिका र वडा कार्यालयमा भएको यो आक्रमणबाट चार लाख रुपैयाँजतिको क्षति भएको छ।

गत असार २४ गते बर्दियास्थित गेरुवा गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा अज्ञात समूहले आक्रमण ग¥यो।  उक्त समूहको तोडफोडबाट कार्यालयका कागजात, कम्प्युटर र फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ।  तोडफोडबाट यो वडाको ४ लाख ६० हजारबराबरको क्षति भएको प्रहरीको भनाइ छ।  यो घटना पनि कसले गराएको भन्ने खुल्न नसकेको जनाएको प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ।

गत असार ४ गते रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ को कार्यालयका सामानमा पनि आगजनी गरियो।  कार्यालय तोडफोड गरी सामान बाहिर निकालेर आगजनी गरिएको प्रहरीले जनाएको छ।  उक्त अज्ञात समूहले कार्यालयमा रहेको फोटोकपी मेसिन, वडाध्यक्षको कुर्सी, कम्प्युटर, ल्यापटप र कागजात कार्यालयबाहिर निकाली आगजनी गरेको थियो।  पाँच लाख बराबरको क्षति भएको यो घटनाका दोषीको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

गत वैशाखयता सरकारी सम्पत्तिमा भएको आक्रमणमा संलग्नको प्रहरीले यकिन गर्न सकेको छैन।  प्रहरीले प्रतिबन्धित विप्लव समूहमाथि आशंका गरेको छ।  गत फागुनमा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो।  ‘सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहमाथि नै हाम्रो पहिलो शंका हो,’ प्रवक्ता पोख्रेलले भने, ‘यो समूहकोे पहिलेदेखिकै चन्दा आतंकका कारण पनि तोडफोड र आगजनीमा पनि उसकै संलग्नता रहेको आशंका गरिएको हो। ’
प्रहरीले ठेक्कापट्टामा हुने विवादलाई पनि तोडफोडको सम्भावित कारणका रुपमा लिएको छ।  ‘ग्रामीण भेकमा हुने विकासे आयोजनाको ठेक्का आफूूलाई नपरेपछि असन्तुष्ट समूहले तोडफोड गरेको पनि हुन सक्छ,’ पोख्रलले भने, ‘हामीले यस्ता विवादका घटनालाई पनि केलाएर हेरिरहेका छौं। ’ जनप्रतिनिधिसँगको व्यक्तिगत रिसइबीले पनि यस्ता घटना हुन सक्ने प्रहरीले जनाएको छ।

सरकारी सम्पत्तिमाथिको तोडफोड र आगजनीको घटना प्रायः विकट क्षेत्रमा हुने गरेको छ।  सुरक्षाकर्मीको पहुँच तत्काल पुग्न नसक्ने स्थानीय तह बढी निसानामा परेको प्रवक्ता पोख्रेलले बताए।  शनिबार राति गाडीमा आगजनी भएको बंगलाचुलीको उदाहरण दिँदै उनले भने, ‘स्थानीय सरकारमाथि आक्रमण भइरहेका जति पनि घटना रिमोट एरियामा मात्रै भएका छन्।  जहाँ प्रहरी तत्काल मुभ हुन सक्दैन, त्यस्ता ठाउँमा रहेका स्थानीय सरकारमाथि आक्रमण भइरहेको छ। ’

प्रकाशित: २७ श्रावण २०७६ ००:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App