coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सेनाका मेजरसहित दुई जनालाईं लागूऔषधमा मुद्धा

इटहरी– ब्राउन सुगर कारोवारीमा संलग्न भएको आरोपमा सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका मेजरसहित दुई जनालाईं प्रहरीले मुद्धा चलाएको छ। ब्राउन सुगर प्रयोगकर्तामा इटहरीका प्रतिष्ठित परिवारका व्यक्तिसँगै सुरक्षा निकायका व्यक्ति संलग्न रहेको सुराकी पाएपछि प्रहरीले चार महिनादेखि निरन्तर निगरानी राखेकोमा सेनाका मेजर अजितप्रताप सिंह र रामधुनी–१ का प्रमोद चौधरी शनिबार साँझ पक्राउ परेका हुन्। धनगढी घर भएका ३७ वर्षे मेजर सिंह र चौधरीलाईं लागूऔषध कारोवारीमा प्रहरीले मुद्धा दर्ता गरेको हो।

चौधरीले ब्राउन सुगर किन्न सेनाको पृतना मुख्यालय अगाडि गएको बेला प्रहरीले दुवैलाई पक्राउ गरेको थियो। सेनाका मेजर सिंहले पूर्वी पृतना मुख्यालयको वरिवरि क्षेत्रमा प्रयोगकर्तालाईं टेलिफोन सम्पर्कमा झिकाएर कारोवार गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिइयो। पक्राउ गर्ने क्रममा उनको साथबाट प्रहरीले एक ग्राम ३२० मिलीग्राम ब्राउन सुगर बरामद गरेको  छ।

सेनाका मेजर सिंहलाईं दमकका व्यापारीले इटहरीमा ल्याएर छाडि दिएपछि बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ती दमकका व्यापारीले भने काकडभिट्टा नाकाबाट ब्राउन सुगर ल्याउने गरेको खुलेको  छ।

प्रहरीले इटहरी क्षेत्रमा ब्राउन सुगर प्रयोगकर्ता अधिक तर सेनाकै मेजरसँग खरीद गर्ने गरेको आशंकामा अनुसन्धान केन्द्रित गरेको छ। मेजर सिंहलाई इलाका प्रहरी कार्यालय इटहरीले मुद्धा दर्ता गरि अनुसन्धान थालेको हो।

सेनाका जवान र अधिकारीलाई सेनाले नै अनुसन्धान गर्छ। तर, जघन्य अपराध भने प्रहरी आफैले हेर्ने गरेको छ। लागूऔषधको विषयमा कसले अनुसन्धान गर्ने टुंगो नलागेपनि प्रहरीको दायित्व अनुसन्धान गर्ने भएकाले गर्दा प्रहरीले नै मुद्धा चलाएको जानकारी दिइयो।

लागूऔषध सेवन गर्ने युवाको संख्या बढ्दो भएकाले यसलाईं नियन्त्रण गर्न नियमनकारी निकाय सक्रिय भएको बताएपनि सेनाका मेजरले बिक्री गर्नुले शंका सृजना गरेको छ।

सुनसरीमा लागूऔषध कारोवारीको संख्या बढ्दो छ।  आर्थिक वर्ष २०७५–०७६ मा लागूऔषधको आरोपमा सुनसरी प्रहरीले १८१ वटा मुद्धामा २८९ पुरुष र छ जना महिलालाईं पक्राउ गरेको रेकर्ड छ।

लागूऔषध प्रयोगकर्ताको हिसावले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। सुनसरीमा ६२ किलोमिटर खुल्ला सीमावर्ती क्षेत्रबाट पनि लागूऔषध नेपाल भित्र्याउन सहजै छ। झापाको काकडभिट्टा नाकाबाट पनि लागूऔषध सुनसरी ल्याउने गरेको खुलेको छ। 

प्रकाशित: २६ श्रावण २०७६ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App