coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शिल्पीमा फरक क्षमता भएकी ‘वैजयन्ती’

काठमाडौं - केही साताअघि बौद्ध–जोरपाटी खण्डको बाटो अपाङमैत्री नभएको भनेर ह्विलचेयर प्रयोगकर्ताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका ह्विलचेयर प्रयोगकर्ताहरू अपाङ्गता भएका मानिसहरुको समस्यालाई समाधान गरेर बाटो मर्मतको काम सिध्याउन सरकारसँग माग गरेका थिए। अपाङ्गता भएका मानिसहरुको विभिन्न समस्या र मनोविज्ञानमा आधारित रहेर रंगकर्मी आशान्त शर्माले निर्देशन गरेको नाटक ‘वैजयन्ती’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।

नेपालमा अपाङ्गता भएका मानिसहरुको अधिकार र उनीहरूले भोग्नु परेको पीडाको कथामा नाटक आधारित रहेको छ। नाटकको स्टेजमा सिंहासनमा बसिरहेकी एक युवती ह्विलचेयरमा लर्बरिदैं आउँछिन्।  किशोरावस्था पार गरिसकेकी उनको बच्चाको जस्तो व्यवहारलाई साथ दिँदै स्टेजमा केही पात्रहरू देखिन्छन्। स्टेजको अर्को भागमा रहेका डाक्टरजस्तो देखिने पात्रले सबैको व्यवहार नियालिरहेको छ।

डा. अनन्त नामक पात्र फरक क्षमता भएकी मैनालाई केन्द्रित गरेर कथा सुनाउँदै नाटक अघि बढ्छ। नाटकमा फरक क्षमता भएको मानिसभित्रको प्रतिभालाई परिवार र समाजले बेवास्ता गरेको प्रसंगलाई समावेश गरिएको छ। फरक क्षमता भएका बालबालिकाहरूसँग सहकार्य गरिरहेकी सौभाग्य सिंहले नाटकको कथा लेखेकी हुन्। आठ वर्षको उमेरमा अपांग भएकी मैना आमा र बहिनीमाथि नै निर्भर रहन बाध्य छिन्। डा. अनन्तले उनलाई नियमित उपचार गरिरहेका छन्। नियमित उपचारका कारण सक्षम हुँदै गएकी मैना जीवनप्रति सकारात्मक हुँदै गएको मनोविज्ञानलाई नाटकमा समावेश गरिएको छ।

आमाको स्नेह र बुबाले अपांग भएकी मैनालाई गरेको विभेदलाई नाटकमा समेटिएको छ। नाटकमा अपाङ्गता भएकी मैनामाथि भएको यौनशोषणलाई चित्रण गरिएको छ। मैनाले फरक शारिरीक क्षमता भएका कारण भोग्नु परेको पीडाका दृश्यहरू मार्मिक छन्। सामाजिक विभेदमा परेका फरक क्षमता भएका महिलाले भोग्नु परेको कथा तयार गर्न चुनौतीपूण रहेको निर्देशक आशान्त शर्मा बताउँछन्। नाटकमा कलाकारहरू मञ्जु श्रेष्ठ, चाँदनी शाह, सञ्जु कार्की, विजय नेपाल, सुदीपजंग कार्की, सौभाग्य सिंह (शोभा) र हेमन तण्डुकारले अभिनय गरेका छन्। त्यस्तै नाटकको प्रकाश परिकल्पना जीवन बराल र संगीत किसन श्रेष्ठले गरेका छन्। नाटक आगामी साउन २७ सम्म मञ्चन हुँदैछ।

प्रकाशित: २६ श्रावण २०७६ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App