coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हारका बावजुद ओसाका शीर्षमा

टोरन्टो – अमेरिकी स्टार सेरेना विलियम्ससँगको हारका बावजुद जापानकी युवा स्टार नाओमी ओसाका विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने भएकी छन्। रोजर्स कपको क्वार्टरफाइनलमा सेरेनासँगको हारपछि पनि ओसाका विश्वको शीर्ष वरीयतामा पुग्ने भएकी हुन्।

हाल विश्व वरीयताको तेस्रो स्थानमा रहेकी चेक रिपब्लिककी क्यारोलिना प्लिसकोभा क्यानेडियन स्टार बियान्सा एन्द्रिसक्युसँग पराजित भएपछि दोस्रो वरीयता प्राप्त ओसाका शीर्ष वरीयतामा पुग्ने पक्का भएको हो।

बियान्साले प्लिसकोभालाई ६–०,२–६ र ६–४ ले हराएकी थिइन्। शीर्ष स्थानकी एस्लेघ बार्टी यसअघि नै दोस्रो चरणमा स्तब्ध भएपछि विश्व वरीयताको बाटो खुला भएको थियो। यता, ओसाका विलियम्ससँग ६–३ र ६–४ ले स्तब्ध भएकी थिइन्। २३औं पटक ग्रान्ड स्लाम जितेकी विलियम्सले दुवै सेटमा अग्रता तोड्दै खेल आफ्नो बनाएकी थिइन्। विलियम्सले जितका बावजुद आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिइन्। यसअघि ओसाकाले गत वर्षको युएस ओपनको फाइनलमा विलियम्सलाई नै स्तब्ध बनाउँदै पहिलो पटक ग्रान्ड स्लामको उपाधि उचालेकी थिइन्।

ओसकाविरुद्धको जितसँगै विलियम्सले सेमिफाइनलमा मारिया बौजकोभासँगको भेट पक्का गरिन्।  ९१औं वरीयताकी बौजकोभाले रोमानियाकी स्टार सिमोना हालेफ रिटायर्ट हर्ट हुँदा सेमिफाइनलको यात्रा तय गरेकी हुन्। सिमोनाले पहिलो सेट भने ६–४ ले गुमाएकी थिइन्।    

 

प्रकाशित: २६ श्रावण २०७६ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App