coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा छोटा दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सोल – उत्तर कोरियाले समुद्रतर्फ दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्छिल्ला केही साताभित्र प्योङयाङले गरेको यो पाचौं क्षेप्यास्त्र प्रक्षेपण हो । पछिल्लो समय गरिएको परीक्षण भने छोटा दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र भएको हुनसक्ने दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यदि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि भयो भने यो संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को ११ वटा प्रस्तावको ठाडो उल्लंघन हुने बताइएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियाका नेता किम जोङ–उनबाट ‘अति नै सुन्दर पत्र’ पाएको बताएको केही समयपछि नै प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचार बाहिरिएको छ ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच चलिरहेको पछिल्लो संयुक्त सैन्य अभ्यासलाई लिएर नेता किम असन्तुष्ट रहेको विषय पत्रमा लेखिएको ट्रम्पले बताएका छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले उत्तर कोरियाका नेता किम जोङ–उनबाट ‘अति नै सुन्दर पत्र’ पाएको बताएको केही समयपछि नै प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचार बाहिरिएको छ ।

शनिबारको प्रक्षेपणबारे के थाहा छ?
दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिबार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । ती क्षेप्यास्त्र कोरियाली प्रायःद्वीपको पूर्वमा रहेको जापान सागरमा खसेको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र चार सय किलोमिटर पर पुगेका थिए । त्यसरी परीक्षण गरिएका क्षेप्यास्त्रका अधिकतम गति ध्वनिको गतिभन्दा ६।१ गुणा बढी रहेको बताइएको छ ।

गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निःस्त्रीकरणबारे पुनः वार्ता थाल्ने सहमति गरेपछि प्योङयाङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ ।
किमको पत्रमा छ ?

छोटा दूरीका दुईवटा क्षेप्यास्त्र प्रक्षेपण हुनुभन्दा केही समयअघि आफूलाई उत्तर कोरियाली नेताले पत्र पठाएको अमेरिकी राष्ट्रपतिले बताएका थिए । ‘पत्र एकदमै सकारात्मक छ,’ ह्वाइट हाउसमा संवाददाताहरुसँग बोल्दै ट्रम्पले भनेका थिए, ‘हामी फेरि भेट्छौं भन्ने मलाई लाग्छ । उनले तीन पाना लामो एउटा सुन्दर पत्र पठाएका छन् । माथिदेखि तलसम्म साँच्चिकै एउटा सुन्दर पत्र ।’

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास किन?
अमेरिका र दक्षिण कोरियाले गर्ने संयुक्त सैन्य अभ्यासको मुख्य भाग अगस्ट ११ मा सुरु हुनेछ । तर त्यसका लागि अति सामान्य तयारी थालिएको छ । ती अभ्यास मुख्यतः कम्प्युटर सिम्युलेसनमा आधारित हुनेछन् र पहिला उत्तर कोरियाले उत्तेजनापूर्ण मान्ने गरेका अभ्यासभन्दा सामान्य हुनेछन् ।

अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनसँग भएका सहमतिविरुद्ध भएको भन्दै प्योङयाङले आक्रोश व्यक्त गरेको छ । यसैबीचमा मंगलबार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दूरीका भन्ठानिएको एउटा क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

गत जुनमा दुई कोरियाको सीमास्थित असैनिकीकृत क्षेत्रमा ट्रम्प र किमले आकस्मिक भेट गरेपछि प्योङयाङले पहिलो पटक जुलाई २५ मा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । तीमध्ये एउटा झन्डै ६ सय ९० किलोमिटर पर पुगेको थियो ।

प्रकाशित: २६ श्रावण २०७६ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App