८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

प्रहरीद्वारा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

हङकङ – हङकङमा शनिबार आयोजित सरकार विरोधी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर तितरवितर पारे पनि उनीहरु अर्कै ठाउँमा भेला भएर पुनः प्रदर्शन गरेका थिए। त्यसबेला फेरि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

शनिबारको प्रदर्शनमा सहभागी अभियन्ताहरुले सहरका विभिन्न भागमा ¥याली निकालेका थिए।प्रहरीले सजग गराएको केही समयमै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले प्रहार गरेको अश्रुग्यासका कारण असहज परिस्थिति भएपछि प्रदर्शनकारीहरु तत्काल तितरवितर बनेका थिए। प्रदर्शनकारीहरुले ताई पो क्षेत्र हुँदै ¥याली निकालेका थिए र छिमेकमा रहेको ताई वाईमा पनि अवरोध सिर्जना गर्न खोजेका थिए। प्रहरीले अश्रुग्यास प्रहार गरेका कारण सो क्षेत्र भएर कुद्ने रेलमा यात्रारत यात्रुलाई पनि असहजता भएको थियो।

‘अश्रुग्यास प्रहार गरेपछि हामीले हाम्रो प्रदर्शन त्याग्छौं भनेर सरकारले सोचेको छ भने त्यो गलत हुनेछ,’ ताई पोको प्रदर्शनमा उपस्थित एक २० वर्षीय विद्यार्थी क्रिस ओङलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

‘अहिले आएर हङकङकी प्रमुख कार्यकारी क्यारी लामले झुट बोलिरहेकी छन् र हाम्रो कारणले अर्थतन्त्र ध्वस्त भइरहेको आरोप लगाएकी छन्। तर हङकङको अर्थतन्त्र ध्वस्त गर्ने व्यक्ति स्वयं उनै हुन्,’ ती विद्यार्थीले भने, ‘हामी निरन्तर लडिरहन्छौं र हामी उनीहरुलाई घुँडा टेकाएरै छोड्ने छौं।’ निरन्तरको प्रदर्शनले हङकङको अर्थतन्त्र धरासायी हुँदै गएको प्रमुख कार्यकारी  लामले शुक्रबार बताएकी थिइन्।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले ल्याएको प्रस्ताविक विधेयकविरुद्ध हङकङमा गत जुन महिनादेखि निरन्तर प्रदर्शन जारी छ। हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगन गर्ने घोषणा गरिसकेको भए पनि पूर्ण खारेजीको माग गर्दै जारी हङकङ प्रदर्शन अहिले आएर अन्य मुद्दामा केन्द्रित भइरहेको छ।

प्रहरीले अश्रुग्यास प्रहार गरेका कारण सो क्षेत्र भएर कुद्ने रेलमा यात्रारत यात्रुलाई पनि असहजता भएको थियो।

यसैबीच चीनले प्रदर्शनमा सहभागी भएका हङकङको ध्वजावहाक क्याथे प्यासिफिक  एयरवेजका कर्मचारीलाई जागिरबाट निलम्बन गर्न भनेको छ। क्याथे प्यासिफिक एयरवेजको एकजना पाइलट गत साता प्रदर्शनकै क्रममा पक्राउ परेपछि चीनको यस्तो आदेश बाहिरिएको हो।

कैयौं सातादेखि हङकङमा निरन्तर सरकार विरोधी प्रदर्शन भइरहेका छन्। एकपछि अर्को साता प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ। निरन्तरको प्रदर्शनका कारण दशकौंपछि हङकङ तनावग्रस्त भइरहेको छ, जसका कारण बेइजिङस्थित केन्द्रीय सरकारलाई गम्भीर चुनौती खडा भएको रोयटर्सले उल्लेख गरेको छ।
कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध गर्दै आएका छन्।

कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी नेत्री क्यारी लामको राजीनामाको मागसमेत गर्दै आएका छन्।

हङकङमा बढ्दो अशान्तिलाई लिएर बेइजिङ तथा चिनियाँ जनमुक्ति सेनाले चेतावनीसमेत जारी गरिसकेका छन्। चीनले दुई साताअघि एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको थियो। हङकङमा रहेको चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखाइएको थियो। भिडियोमार्फत चिनियाँ सेनाले हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिएको हुनसक्ने अनुमान गरिएका छन्।

प्रस्तावित सुपुर्दगी विधेयकविरुद्ध सुरु भएको हङकङ प्रदर्शन नवौं सातामा पुगेको छ। आइतबार पनि प्रदर्शनलाई बृहद् बनाउन लोकतन्त्रवादीहरुले तयारी तीव्र गरेको बताइएको छ। प्रदर्शन निम्न वर्गीय मानिसको बसोबास रहने साम सुई पोमा पर्ने गर्ने तयारी गरिएपछि हङकङ सरकारले आइतबार सो क्षेत्रमा सम्भावित झडप नहोस् भनेर सार्वजनिक स्थलहरुलाई बन्द गर्ने घोषणा गरिसकेको छ।

 

 

 

प्रकाशित: २६ श्रावण २०७६ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App