८ वैशाख २०८१ शनिबार
अर्थ

प्रदेश १ मा माटोमा अम्लीयपन बढी

इटहरी – पूर्वको प्रदेश १ का १४ जिल्लाको माटोमा अम्लीयपन बढ्दै गएको छ। धेरै माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन–फस्फोरसको मात्रा घट्दै गएकाले उत्पादन शक्तिमा पनि बर्सेनि कमी आउने गरेको छ।

माटो परीक्षण प्रयोगशाला प्रदेश १ कार्यालय झुम्का सुनसरीले एक वर्षको अवधिमा गरेको परीक्षणअनुसार ल्याब परीक्षण, घुम्ती शिविर, किट बक्स शिविर र स्थानीय तहको सहकार्यमा गरिएको परीक्षणमा सबैभन्दा बढी अम्लीयपन देखिएको हो। उर्वर माटोमा अम्लीयपन बढ्दा बर्सेनि उत्पादनमा कमी आउने गर्छ।

प्रयोगशाला कार्यालयले ल्याबमार्फत २०७५ साउनदेखि असारमसान्त सम्म पाँच सय ७७ वटा नमूना परीक्षण गर्दा तीन सय ७५ मा अम्लीयपन भेटियो। घुम्ती शिविरमा नौ सय ९९ वटा नमूना परीक्षण गर्दा चार सय ९७, किट बक्स शिविरमा सात सय २० वटामा चार सय ३० र स्थानीय तहसँगको सहकार्यमा तीन हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गर्दा दुई हजार चार सय ७२ मा अम्लीयपन देखिएको हो।

समग्रमा प्रदेश १ मा वर्षा बढी हुँदा माटोमा भएको तत्व बगाएर लैजानाले गर्दा पनि माटोमा अम्लीयपन बढी हुने गरेको प्रयोगशालाका प्राविधिक कर्मचारी राजेन्द्रप्रसाद यादवले बताए।

अम्लीयपन घटाउने घरेलु विधिमा सबैभन्दा पहिला त कम्पोस्ट मल प्रयोग गर्नुपर्ने र त्यसपछि माटो परीक्षणकै आधारमा कृषि चुन प्रयोग गर्न सकिने माटो प्रयोगशाला कर्मचारी यादवले बताए। ‘कृषि चुन प्रयोग गर्दा माटोको अम्लीयपनको अवस्थाअनुसार मात्र प्रयोग गर्नुपर्छ,’ उनले भने।

किसानमा नियमित माटो परीक्षण गराउने बानी नभएका कारण समस्या बढ्दो छ। खेतीयोग्य जमिनको माटोमा उर्वरा शक्ति घट्नुमा क्षारीयपन पनि हो। एक वर्षको अवधिमा गरिएको परीक्षणअनुसार पाँच सय ७७ वटा नमूना परीक्षण गर्दा २०,  घुम्ती शिविरमा नौ सय ९९ वटा नमूना परीक्षण गर्दा एक सय ११, किट बक्स शिविरमा सात सय २० वटामा १४ र स्थानीय सरकारसँगको सहकार्यमा तीन हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गर्दा १२ मा क्षारीयपन देखिएको हो। कुल नमूना परीक्षण गर्दा उपयुक्त माटो (माटोको तटस्थ) भने ल्याबमा एक सय ८२, घुम्ती शिविरमा तीन सय ९१, किट बक्स शिविरमा दुई सय ७६ र स्थानीय तहसँगको सहकार्यमा गरिएको परीक्षणमा सात सय ८९ वटा नमूना रहेको छ।

माटोमा सून्यदेखि १४ सम्म माटोको पिएच रहेको हुन्छ। योमध्ये ७.५ भन्दामाथि हुँदा क्षारीयपन र ६.५ भन्दा मुनि हुँदा माटोको अम्लीयपन हुने गर्छ। माटोको पिए ६.५ देखि ७.५ सम्म उपयुक्त माटो (तटस्थ) हुने गर्छ।

माटोमा क्षारीयपन बढ्दा क्याल्सियम सल्फेडको प्रयोग गर्नुपर्छ। माटोमा लगाइने बोटबिरुवाका लागि नभई नहुने पोषक तत्वमध्ये नाइट्रोजन, फस्फोरस र पोटास हो। अरु १६ वटा तत्व पनि आवश्यक हुन्छ। ती तत्व भने लक्षण देखा परेपछि मात्र आवश्यक पर्छ। यस्तै, प्रांगारिक पदार्थ माटोको मुटु नै हो।

परीक्षणका आधारमा ल्याबमार्फत पाँच सय ७७ वटा नमूना परीक्षण गर्दा नोइट्रोजन र  फस्फोरसको मात्रा कम देखिएको छ। नाइट्रोजनको कम मात्र चार सय ६ र फस्फोरसको दुई सय ७३ रहेको छ। यस्तै, मोबाइल घुम्ती शिविरमा गरिएको परीक्षणका आधारमा नौ सय ९९ नमूनामा नाइट्रोजन कम भएको पाँच सय ८८ नमूना र फस्फोरस दुई सय १३ वटामा छ। यो नमूनामा भने पोटासको मात्र पनि कम छ। कुल नमूनामध्ये पोटासको कम मात्र हेर्दा चार सय १९ वटामा छ।

किट बक्स शिविरका आधारमा कुल सात सय २० नमूनामा नाइट्रोजन कमी भएको चार सय ७४, फस्फोरस चार सय ७४ र पोटास पाँच सय पाँच नमूनामा कमी छ। यस्तै, स्थानीय तहसँग गरिएको साझेदारीमा कुल तीन हजार दुई सय ७३ मध्ये नाइट्रोजन दुई हजार पाँच सय २३, फस्फोरस दुई हजार तीन सय ८० र पोटास दुई हजार दुई सय आठ मा कमी छ।

माटोको गुणस्तर र उर्वराशक्ति बचाउन परीक्षण गरी मात्रा हेरेर मात्रै रासायनिक मल र विषादीको प्रयोग गर्न उपयुक्त हुने प्रयोगशालाका कर्मचारीले बताए। माटोलाई सन्तुलित राख्नका लागि हरियो मल, गोबर र प्रांगारिक मलको प्रयोग बढी बढाउनु पर्छ अनि उत्पादन शक्तिलाई बढाउन सकिनेछ।

प्रकाशित: २६ श्रावण २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App