७ वैशाख २०८१ शुक्रबार
विचार

समाजवाद यात्रामा नेकपा

कम्युनिस्ट पार्टीको कार्यक्रममा क्रान्तिको लक्ष्य हुन्छ र क्रान्तिमा संलग्न जनताको दिशासूचक फहराइरहेको झण्डा हुन्छ। क्रान्ति विकास कुन दिशामा हुनुपर्छ र क्रान्तिपछि राष्ट्रले के प्राप्त गर्छ भन्ने सम्बन्धमा कार्यक्रम मार्गदर्शक हुन्छ। कम्युनिस्ट पार्टीले क्रान्ति र निर्माणमा ठीक दिशा लिइरहेको छ वा छैन, पार्टी कार्यक्रम अध्ययनबाट प्रस्ट हुन्छ।

मध्ययुगीन सामन्ती निरंकुश राजतन्त्र अन्त्य तथा साम्राज्यवादी शोषण र हस्तक्षेपबाट राष्ट्रलाई मुक्त गर्दै स्वतन्त्र, सार्वभौम अधिकारसम्पन्न, समृद्ध समाजवादी नेपाल निर्माण गर्ने लक्ष्यसाथ निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनकालदेखि नै पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि लागू गर्ने नयाँ उत्पादन पद्धति निर्माण कार्यक्रमलाई दुई भागमा विभाजन गरी न्यूनतम कार्यक्रमका रूपमा नयाँ जनवाद र अधिकतम कार्यक्रमका रूपमा समाजवाद अगाडि सा¥यो। त्यसबेला नेपाल अर्धसामन्ती अवस्थामा रहेको र त्यसलाई रूपान्तरण गरी पहिले सामन्तवादी शोषणका सबै रूप समाप्त गर्दै नयाँ जनवादी व्यवस्था लागू गर्ने तथा त्यसलाई विकास गर्दै समाजवाद स्थापना गर्ने रणनीतिक लक्ष्य तय गरियो।

वस्तुगत यथार्थमा उभिएर विश्लेषण गर्दा नेपाली श्रमजीवी वर्गको अग्रगामी राजनीतिक प्रतिनिधिका रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान कार्यक्रम समाजवादभन्दा अर्को हुन सक्दैन।

२०१७ सालमा राजाको प्रतिगमनपछि नेपाल कम्युनिस्ट पार्टी अनेकौं समूहमा विभाजन तथा एकीकरण हुने पक्रियाबाट अगाडि बढ्यो। नेपाल कम्युनिस्ट पार्टीका अधिकतर समूहले स्थापनाकालमा अगाडि सारिएको पार्टी कार्यक्रमलाई नै विभिन्न नाममा आफ्नो कार्यक्रमका रूपमा अपनाइ रहे। त्यही कार्यक्रमको मार्गदर्शनमा वि.स.२०३५÷३६ र २०४६÷४७ मा जनआन्दोलन भएका थिए। त्यसैगरी २०५२ सालदेखि १० वर्षसम्म सञ्चालित जनयुद्ध पनि त्यही कार्यक्रमको मार्गदर्शनमा विकास भएको थियो। कम्युनिस्ट पार्टीहरू, नेपाली कांग्रेससहित पुँजीवादी पार्टीहरूसित संयुक्त मोर्चा गरी २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिद्वारा निरंकुश राजतन्त्रलाई पराजित गर्दै संविधान सभाबाट राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्न सफल भए।

लामो समयसम्म संसदीय संघर्ष र शान्तिपूर्ण जनआन्दोलनबाट विकसित  नेकपा(एमाले) र सशस्त्र संघर्षबाट विकसित नेकपा(माओवादी केन्द्र)बीच सुरु एकीकरण प्रक्रिया २०७४ जेठ ३ गते एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को उदयसँगै सम्पन्न भयो। त्यसबेलासम्म नेकपा (एमाले)को कार्यक्रम– जनताको बहुदलीय जनवाद थियो भने नेकपा(माओवादी केन्द्र) को कार्यक्रम– माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद विकास। पार्टी एकीकरणका निम्ति दुवै पार्टीका कार्यक्रमलाई एकताको महाधिवेशनमा टुंगो लगाउने गरी तत्काललाई स्थगन गरियो। पार्टी एकता संयोजन समितिले राजनीतिक प्रतिवेदन र पार्टी विधान निर्माण गर्ने जिम्मा अलग–अलग दुई कार्यदललाई दियो। आफ्नो जिम्मेवारीअनुरूप दुवै कार्यदलले समयमै राजनीतिक प्रतिवेदन र विधान तयार गरी संयोजन समितिमा प्रस्तुत गरे। तिनै राजनीतिक प्रतिवेदन र विधानका आधारमा जेठ ३ गते नै निर्वाचन आयोगको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गरियो।

अहिले नेपाली समाज पुँजीवादबाट समाजवादमा रूपान्तरण हुने युगमा छ। यस परिस्थितिमा पार्टीको कार्यक्रम पुँजीवादी जनवाद होइन, समाजवाद मात्र हुन सक्छ।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा प्रस्तुत राजनीतिक प्रतिवेदन र विधान अध्ययनका लागि पार्टी केन्द्रीय सचिवालयका सदस्यहरूलाई वितरण गरियो। अध्ययनपछि सदस्यहरूले अनेकौं मतभिन्नता र सुझावसहित उक्त प्रतिवेदन र विधान परिमार्जन गरी सचिवालयमा पुनः प्रस्तुत गर्न र स्थायी कमिटीबाट पारित गराउन दुवै अध्यक्षलाई जिम्मा दिए। केही महिनापछि विधान र करिब डेढ वर्षपछि राजनीतिक प्रतिवेदन प्रकाशन भए। पार्टी विधानमा नेकपाको ‘रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवाद उन्मुख छ’ भनेर पार्टी कार्यक्रमको सूत्रीकरण प्रस्तुत गरिएको छ। केन्द्रीय सचिवालयका केही कमरेडले कार्यक्रमसम्बन्धी यो सूत्रीकरणमा मतभिन्नता जनाए। डेढ वर्षपछि प्रकाशित राजनीतिक प्रतिवेदनमा अनेकौँ उल्झन र जटिलता थप्दै ‘तात्कालिक रूपमा समाजवाद होइन, समाजवादको आधार तयार पार्ने राष्ट्रिय औद्योगिक पुँजीको विकास अनिवार्य कार्यभार हुन जान्छ।’ ‘नेपाली क्रान्तिको रणनीतिक लक्ष्य समाजवाद स्थापना हो।’ ‘हाम्रो पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो र आमरणनीति समाजवाद स्थापना गर्ने हो।’  ‘आधारभूत रूपले जनवादी क्रान्ति सम्पन्न भइसकेकाले हामी आमरूपमा समाजवादी क्रान्तिको नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेका छौँ। तर अहिले नै हामी समाजवादमा संक्रमण वा रूपान्तरण गर्ने, समाजवाद निर्माण गर्ने वा समाजवादी क्रान्ति सम्पन्न गर्ने तहमा छैनौँ’जस्ता अन्तरविरोधी निष्कर्षहरू अगाडि सारिएका छन्।

२०६५ जेठ १५ गते गरिएको राजतन्त्र उन्मूलन र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा, २००७ सालदेखि सुरु भएर ५८ वर्षपछि सम्पन्न पुँजीवादी जनवादी क्रान्ति नै थियो। त्यो राजनीतिक क्रान्ति मात्र थिएन, नेपाली समाजमा क्रमिक रूपमा विकसित पुँजीवादीकरणको द्योतक पनि थियो। त्यही भएरै राजाले प्रतिगमनका निम्ति अनुरोध गर्दा पनि निजामती प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनेकौँ गैरराजनीतिक संस्थाले अस्वीकार गर्दै संविधान सभाले गरेको गणतन्त्र घोषणालाई नै समर्थन गरेका थिए। सामन्तवादविरुद्ध क्रान्ति सफल हुँदा समाजलाई पुँजीवादीकरणतर्फ लाँदै शान्तिपूर्ण रूपमा समाजवादमा रूपान्तरण गर्ने न्यूनतम र अधिकतम कार्यक्रमका योजना अगाडि सारिन्छ। तर नेपाली समाज राजतन्त्र पहिले नै पुँजीवादीकरणमा गइसकेको र त्यही कालमा राजतन्त्र अन्त्य भएकाले पनि समाजवाद लागू गर्ने परिस्थिति छैन भन्दै पुँजीवादीकरणलाई नै निरन्तरता दिनुपर्छ भन्नु परिवर्तित परिस्थितिअनुरूप अग्रगमन मान्न सकिन्न। आजको कार्यक्रम राजतन्त्रकालमा क्रान्तिको मार्गदर्शनका निम्ति अगाडि सारिएको होइन। राजतन्त्र अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको परिस्थितिमा समाजवाद स्थापना गर्न मार्गदर्शनका निम्ति पार्टी कार्यक्रम अगाडि सारिँदै छ। मुलुकमा सम्पन्न पुँजीवादी जनवादी क्रान्ति तथा पुँजीवादीकरणमा गइसकेको नेपाली समाजको वर्तमान सन्दर्भमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसहित नेपाली विशेषताको समाजवाद स्थापना गर्ने उद्देश्य बोकेको समाजवादी कार्यक्रम नै पार्टीको कार्यक्रम हुन सक्छ।    

पार्टीको कार्यक्रम निर्धारण गर्दा एकपटक मानव जातिको इतिहासतर्फ सिंहावलोकन गर्नु उपयुक्त हुनेछ। भौतिकवादी द्वन्द्ववादका नियमहरू स्थापित भएपछि मानव जातिको इतिहास सर्वथा नयाँ रूपमा देखाप¥यो। अर्को अर्थमा उत्पादन पद्धतिका रूपमा संसारसामु प्रकट भयो। उत्पादनका साधनहरूको निरन्तर परिवर्तन र विकासले गर्दा एक खास चरणमा एउटा उत्पादन पद्धति र त्यसमा रहेको परिवर्तनका नियमहरूका कारण गुणात्मक परिवर्तन देखिने र पुनः त्यसैगरी अर्को चरण देखापर्ने, फेरि त्यसैगरी परिवर्तन हुँदा अर्को उत्पादनको चरण पैदा हुने गरी आजको अवस्थामा मानव जातिको विकास भएको देखियो। समाज विकासमा आर्थिक उत्पादनको सुरुमै मानव जाति विभिन्न विपरीत स्वार्थ भएका वर्गमा विभाजन भएको पनि पाइयो। साथै आफ्ना स्वार्थ रक्षाका लागि वर्गहरूबीच विभिन्न रूपका संघर्ष भएको र त्यसले समाजलाई निरन्तर अगाडि बढाइरहेको स्पष्ट भयो।

सबै पक्ष विचार गर्दा रुस, चीन र अन्य समाजवादी मुलुकमा भन्दा नेपालमा फरक किसिमले समाजवाद विकास हुनेछ।

मानवको विकास इतिहास अहिले ३० लाख वर्ष पुगेको मानिन्छ। तर समाजमा वर्ग उत्पति भएको अवधि इसापूर्व करिब १० हजार वर्ष मात्र मानिएको छ। यसअघि मानव जाति जंगली, आदिम र मातृप्रधान अवस्थामा थियो। विपरीत स्वार्थ भएका वर्गहरूको उत्पति र तीबीच भएका संघर्षले नै मानवलाई आजको अवस्थासम्म ल्याएको रहेछ भन्ने निष्कर्षले वर्ग संघर्षको सिद्धान्त प्रतिपादन भयो। उत्पादन पद्धति विकास र परिवर्तनमा वर्ग संघर्षले मुख्य भूमिका निर्वाह गरेको पाइयो। यसरी इतिहास विश्लेषण गर्दा आजसम्म मानव जातिको विकासका पाँच चरण देखापरेका छन्। माक्र्सवादीहरूले यी सबै चरणलाई युगका रूपमा चित्रण गरेका छन्। त्यसअनुसार सबैभन्दा पहिलो वर्गविहीन आदिम मातृप्रधान युग, दोस्रो मानव जाति कृषि उत्पादनमा प्रवेश गरेपछि पहिलो वर्गीय समाजका रूपमा दास युग, तेस्रो भूदास प्रथासहितको सामन्ती युग, चौथो पुँजीवादी युग र पाँचाँै समाजवादी युगका रूपमा चित्रण गरियो। पहिलो मातृप्रधान समाजबाहेक अरू सबै युगमा दुई विपरीत स्वार्थ भएका मुख्य वर्गहरूको भूमिका प्रधान देखियो। त्यसमध्ये दास युगमा दास र मालिक दुई विपरीत स्वार्थ भएका प्रमुख वर्ग देखिए, त्यसपछि सामन्ती युगमा जमिन्दार र भूदास विपरीत स्वार्थ भएका वर्ग, त्यसैगरी पुँजीवादी युगमा पुँजीपति र सर्वहारा श्रमजीवी वर्ग र समाजवादी युगमा सत्तासीन श्रमजीवी र साम्राज्यवादी पुँजीपति वर्ग देखिए।

नेपाली समाज अहिले कुन युगमा विकास भएको छ भन्ने निष्कर्षबाटै पार्टीको कार्यक्रम के हुनुपर्छ भन्ने प्रश्नको उत्तर प्राप्त हुन्छ। संसारको सबभन्दा अग्रगामी उत्पादन पद्धतिका आधारमा समाज कुन युगमा पुग्यो भन्ने निष्कर्ष निकालिन्छ। यस आधारमा संसार समाजवादी युगमा पुगेको भन्नुपर्ने हुन्छ। तर हरेक राष्ट्र विकासको कुन चरणमा छ भन्ने निष्कर्षले उसको युगीन अवस्था टुंगो लाग्छ। संसारको अग्रगामी समाज पुँजीवादमा पुग्दा नेपाली समाज इलाकीय जरजर सामन्ती युगमा, संसारमा पहिलोपटक समाजवाद उदय हुँदा नेपाली समाज केन्द्रीय सामन्ती युगमा र समाजवादले संसारको एक मुख्य व्यवस्थामा विकास गर्दा यहाँको समाज अर्धसामन्ती अवस्थामा थियो। त्यही अवस्थामा नेपाल कम्युनिस्ट पार्टीको जन्म पनि भयो। जसले समाज विकासको भावी अवस्थाका लागि आफ्नो कार्यक्रम बनाउँछ। त्यसकारण त्यो अनुमानित योजनाका रूपमा रहेको हुन्छ।

अब नेपाली समाज राजनीतिक क्रान्तिबाट होइन, क्रमिक विकासका माध्यमबाट समाजवादी युगमा प्रवेश गर्नेछ।

नेपाल कम्युनिस्ट पार्टीको जन्म २००६ सालको सामन्ती युगमा भए पनि उसले भावी समाज व्यवस्थामा कार्यान्वयन हुने नयाँ जनवादी अथवा पुँजीवादी जनवादी कार्यक्रमलाई न्यूनतम र समाजवादलाई अधिकतम कार्यक्रमका रूपमा अगाडि सा¥यो। नेपालको पुँजीवादी जनवादी क्रान्तिको लामो समयावधिमा जनताका अनेकौँ संघर्षका सह–उत्पादनका रूपमा सम्पन्न भएका सुधारहरूले नेपाली समाज अर्धसामन्ती अवस्थाबाट पूर्ण पुँजीवादीकरणमा रूपान्तरण भयो। अहिले नेपाली समाज पुँजीवादबाट समाजवादमा रूपान्तरण हुने युगमा छ। यस परिस्थितिमा पार्टीको कार्यक्रम पुँजीवादी जनवाद होइन, समाजवाद मात्र हुन सक्छ। राजनीतिक प्रतिवेदनमा विभिन्न ठाउँमा नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको उल्लेख छ। राजनीतिक पार्टीहरूको शक्ति सन्तुलन र वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिको सन्दर्भमा नेपालमा फेरि राजनीतिक क्रान्ति आवश्यक पर्दैन। नेपालमा पुँजीवादी पार्टीहरूसित शान्तिपूर्ण र वैधानिक रूपमा प्रतिस्पर्धा र सहकार्य गर्दै कम्युनिस्ट पार्टीले समाजवाद निर्माणको आफ्नो कार्यभार पूरा गर्नुपर्छ। अब नेपाली समाज राजनीतिक क्रान्तिबाट होइन, क्रमिक विकासका माध्यमबाट समाजवादी युगमा प्रवेश गर्नेछ। यस्तो अवस्थामा समाजवादी क्रान्तिको चरण नभनेर समाजवादी विकासको चरण भन्न उपयुक्त हुन्छ।

क्रान्तिकालमा अगाडि सारिने पार्टी कार्यक्रम नयाँ उत्पादन पद्धति निर्माणसम्बन्धी समग्र योजनाको ठोस रूप हुन्छ। क्रान्तिपछि पुरानो उत्पादन पद्धतिलाई कतिपय पक्षमा विस्थापन गरेर र कतिपय पक्षमा रूपान्तरण गरेर उत्पादन पद्धति निर्माण गर्नुपर्ने हुन्छ। क्रान्तिले राजनीतिक क्षेत्रमा आमूल परिवर्तन गरी नयाँ राजनीतिक प्रणाली स्थापना गर्दै सामाजिक आर्थिक क्षेत्रमा रूपान्तरणका काम तीव्र गतिमा अगाडि बढाउँछ। त्यसबेला वर्ग संघर्षको मुख्य रूप शान्तिपूर्ण र वैधानिक तरिकाले राष्ट्र पुनर्निर्माणमा प्रकट हुन्छ। नेपालमा केही भिन्न तरिकाले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो। क्रान्तिको काल आधा शताब्दीभन्दा लामो भयो। जनताका दबाब र विभिन्न रूपका संघर्षले पुरानो सत्ताधारी वर्गलाई कतिपय सामाजिक आर्थिक क्षेत्रमा अग्रगामी परिवर्तन र सुधार गर्न बाध्य बनायो। पहिलोपटक स्थापना भएको संविधान सभाले समाजवाद उन्मुख सामाजिक–आर्थिक रूपान्तरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने प्रगतिशील संविधान जारी ग¥यो। संसारका अन्य देशमा  भन्दा नेपालमा फरक तरिकाले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न मात्र भएन, हाम्रो संविधानले सिंगो राष्ट्रलाई समाजवाद निर्माणमा मार्गदर्शन गर्ने राजनीतिक कार्यदिशासमेत प्रदान ग¥यो।

यतिबेला यो संविधानको कार्यान्वयन, संरक्षण र विकास गर्दै नेपाल राष्ट्र शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजवादी उत्पादन पद्धति निर्माण गर्ने युगीन कार्यभारको चरणमा प्रवेश गरेको छ। उपर्युक्त वस्तुगत यथार्थमा उभिएर विश्लेषण गर्दा नेपाली श्रमजीवी वर्गको अग्रगामी राजनीतिक प्रतिनिधिका रूपमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान कार्यक्रम समाजवादभन्दा अर्को हुन सक्दैन। नेपाली विशेषतामा आधारित समाजवाद स्थापनाका लागि सिंगो राष्ट्रलाई एकताबद्ध गर्ने युगीन अवसर अहिले नेकपाले प्राप्त गरेको छ। संविधान सभाको अत्यधिक बहुमत र नेपाली जनताको अपार शक्तिको समर्थन रहेको नेपालको संविधानले नै मार्गदर्शन गरेपछि पनि तत्काल समाजवाद निर्माण गर्न सकिन्न भन्ने विचार अग्रगामी हुन सक्दैन। यसर्थ नेपाल कम्युनिस्ट पार्टीको मात्र होइन, सिंगो राष्ट्रको तात्कालिक कार्यभार लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद स्थापना गरी नेपाली जनतालाई विकसित देशका नागरिकको समकक्ष पु¥याउनु भएको छ। यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यक्रम समाजवाद नै हो भन्न हिचकिचाउनु पर्दैन।

समाजवादी उत्पादन पद्धतिअन्तर्गत राज्यव्यवस्था, शासन प्रणाली, सामाजिक सम्बन्ध र अर्थतन्त्रका सम्बन्धमा पनि संविधानले मार्गदर्शन गरिसकेको छ। त्यति मात्र होइन, सामाजिक–आर्थिक रूपान्तरण समाजवाद उन्मुख मात्र हुनुपर्छ भनेर संविधानले नेपालका कुनै पनि जिम्मेवार राजनीतिक पार्टीलाई समाजवाद निर्माणमा पनि मार्गदर्शन गरेको छ। अहिले नेपाल राष्ट्रका सबै पक्षमा गरिने आर्थिक र सामाजिक रूपान्तरण अरू बढी पुँजीवादी जनवादीकरण पनि भन्न सकिन्थ्यो, उदारवाद र नवउदारवाद उन्मुख पनि भन्न सकिन्थ्यो, तर संविधानले किटान गरेर सामाजिक–आर्थिक रूपान्तरण समाजवाद उन्मुख नै भन्यो। संविधानमा यो कुरा भूलवश, बाध्यता वा लहडमा लेखिएको हो त ? होइन भने नेपाली समाजको सबभन्दा अग्रगामी श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रूपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली जनताको तात्कालिक कार्यक्रम समाजवाद हो भन्न जिब्रो लरबराउनुपर्ने वा खुट्टा कमाउनुपर्ने कुनै आवश्यकता छैन।

सामन्तवाद र साम्राज्यवादविरुद्ध हुने पुँजीवादी जनवादी क्रान्तिका निम्ति अगाडि सारिने कार्यक्रमका नाम हुन्– जनताको जनवाद, राष्ट्रिय जनवाद, नयाँ जनवाद, जनताको बहुदलीय जनवाद आदि। क्रान्ति सम्पन्न गर्न, क्रान्तिका पक्षमा जनमत सिर्जना गर्न कम्युनिस्ट पार्टीले आ–आफ्ना देशका विशेषताअनुसार कार्यक्रम नामकरण गर्दा यी विभिन्न नाम अगाडि आएका हुन। वर्गीय र राजनीतिक दृष्टिकोणले यी सबै नामका कार्यक्रम एउटै वर्गीकरणमा पर्छन्। पार्टी विधानमा समाजवाद उन्मुख जनताको जनवादलाई पार्टीको न्यूनतम कार्यक्रम भनिएको छ।

त्यसैगरी अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद भनेर अगाडि सारिएको छ। प्रतिवेदनमा नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको उल्लेख छ र नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि भनिएको छ। तर अहिले नै समाजवाद लागू गर्न सकिन्न भन्नु पूँजीवादी सुधारमै सीमित रहनुपर्छ भन्नु हो। समाजवाद उन्मुख जनताको जनवादलाई अर्को शब्दमा समाजवादतर्फ मुख फर्काएको पुँजीवाद भन्ने बुझिन्छ। यसमा समाजवाद उन्मुख प्रमुख होइन, जनताको जनवाद प्रमुख बनेको छ। एकातिर अहिले समाजवाद लागू गर्न सकिन्न भन्ने अर्कातर्फ समाजवाद उन्मुख जनताको जनवादलाई न्यूनतम कार्यक्रमका रूपमा अगाडि सार्नुले के प्रस्ट हुन्छ भने अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को न्यूनतम कार्यक्रम पुँजीवादी जनवाद नै हो। यस्तो कार्यक्रम २००६ सालमा सामन्ती निरंकुश राजतन्त्र र राणाशाही जहानियाँ शासनविरुद्ध न्यूनतम कार्यक्रमका रूपमा नयाँ जनवादलाई नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको थियो र त्यसबेला पनि पार्टीको अधिकतम कार्यक्रम समाजवाद नै थियो। नेपालमा भएको युगान्तकारी परिवर्तनपछि पनि एक युग पछाडिको कार्यक्रमलाई पार्टीको कार्यक्रम बनाउनु अनुपयुक्त मात्र होइन, ऐतिहासिक भौतिकवादी दृष्टिकोणले पनि गलत छ।

पुँजीवादी जनवादी क्रान्तिकालमा पार्टी कार्यक्रमलाई न्यूनतम र अधिकतम भनेजस्तै समाजवाद निर्माण कालमा पनि न्यूनतम कार्यक्रम समाजवाद र अधिकतम कार्यक्रम साम्यवाद भन्न मिल्दैन। माक्र्सवादी साहित्यमा स्वयं  माक्र्स, एंगेल्स र लेनिन तथा त्यसपछिका कम्युनिस्ट आन्दोलनका शीर्षस्थ नेताहरूले समाजवादलाई साम्यवादको प्रारम्भिक अवस्था र साम्यवादलाई समाजवादको उच्चस्तरको अवस्था भनेका छन्। यहाँ साम्यवादलाई सामान्य रूपमा बुझाउन समाजवादको उच्चस्तर अवस्था भनिएको हो। साम्यवाद जहाँ कुनै आर्थिक वर्ग हुँदैनन्, वर्ग संघर्ष हँुदैन, राज्य विलुप्त भएको हुन्छ र विभेद, शोषण अत्याचार आदि कल्पना पनि गर्न नसकिने अवस्था उत्पन्न भएको हुन्छ। त्यसबेला मानव जाति आफ्ना सम्पूर्ण आवश्यकता पूरा गर्ने संसारमा पुगेको हुनेछ। न राजनीतिक क्रान्ति आवश्यक पर्नेछ न त कम्युनिस्ट पार्टीको अस्तित्व नै रहनेछ। त्यसो भएका हुनाले साम्यवादमा कुनै क्रान्तिको कार्यक्रम हुने छैन। त्यो कसैको अधिकतम र कसैको न्यूनतम पनि हुने छैन। त्यसकारण समाजवाद निर्माणको चरणमा एउटा मात्रै कार्यक्रम हुन्छ, जसको नाम हुन्छ– समाजवाद। साम्यवाद कार्यक्रमका रूपमा अगाडि सारिने विषय होइन त्यो त समाजवाद विकास क्रममा आफैँ प्राप्त हुने अवस्था हो। त्यही भएर त्यसलाई कार्यक्रम भनिँदैन।

अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्था रहेका मुलुकमा क्रान्ति सम्पन्न गर्दा अगाडि सारिने कार्यक्रमको चरित्र पुँजीवादी जनवादी हुन्छ। तर कम्युनिस्ट पार्टी जस्तोसुकै क्रान्तिमा संलग्न भए पनि उसको मुख्य अभिभारा समाजवाद निर्माण गर्नु हुन्छ। त्यस्तो अवस्थामाा क्रान्तिका कार्यक्रमलाई अधिकतम र न्यूनतम गरी दुई भागमा बाँडिन्छ। किनकि क्रान्तिपछिको समाजलाई मान्छेद्वारा मान्छेको शोषण गर्ने अवस्थाबाट मुक्त गर्न समाजवाद अनि तत्काल सामन्ती अवस्थाबाट समाजलाई रूपान्तरण गर्न पुँजीवादी जनवाद चाहिन्छ। शोषणरहित समाज निर्माण गर्ने लक्ष्यमा जनतालाई सहमत गराउन कम्युनिस्ट पार्टीले जनवादी क्रान्तिकै कालमा अधिकतम कार्यक्रमकै रूपमा समाजवादलाई अगाडि सार्नुपर्छ। त्यसो भएर पुँजीवादी जनवादी क्रान्तिकालमा पार्टी कार्यक्रमलाई अधिकतम र न्यूनतम भनेर जनताबीच प्रस्तुत गर्ने चलन चल्यो। पार्टी कार्यक्रमलाई यसरी पहिलोपटक चिनियाँ क्रान्तिको विशेषतामा माओत्सेतुङले अगाडि सारेको पाइन्छ।

सोभियत संघ र पूर्वी युरोपका देशहरूमा कम्युनिस्ट आन्दोलनको असफलता र पुँजीवादको पुनस्र्थापना तथा सन् १९६० को दशकपछि संसारका विभिन्न भागमा कम्युनिस्ट आन्दोलनले खाएका धक्काबाट शिक्षा लिँदै विभिन्न देशका कम्युनिस्ट पार्टीहरूले अहिले नयाँ किसिमले क्रान्ति र समाजवाद निर्माण अभियान अगाडि बढाउने प्रयत्न गरिरहेका छन्। कतिपय देशका कम्युनिस्ट पार्टीले विश्व कम्युनिस्ट आन्दोलनको सिंहावलोकन र समीक्षा सुरु गरेका छन्। कतिपय देशका कम्युनिस्ट पार्टीले दोस्रो विश्वयुद्धपछि विकसित राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र समृद्धिको अन्तर्राष्ट्रिय प्रवृति बुझेर तदनुरूप आफ्ना सिद्धान्त, नीति र कार्यक्रम परिमार्जन गर्न नसक्दा नै २०औँ शताब्दीको सुरुमा विकसित समाजवादले त्यसै शताब्दीको अन्त्यतिर ऐतिहासिक धक्का खानुपरेको हो भन्ने निष्कर्ष निकाल्दै आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरू परिमार्जन गरेका छन्।

तीमध्ये नेपालको कम्युनिस्ट आन्दोलनको एउटा सशक्त पार्टी पूर्वनेकपा(एमाले)को नाम लिन सकिन्छ। जसअनुसार संसारमा पुँजीवादको अस्तित्व रहँदासम्म समाजवादलाई पनि बजार अर्थतन्त्रमा आधारित गराएर मात्र अगाडि बढ्न सकिन्छ भन्ने एउटा निष्कर्ष अगाडि आएको छ। त्यसैगरी राज्य सञ्चालनमा पनि पुँजीपति वर्गसँग सहकार्यको नीतिअनुरूप बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली समाजवादमा पनि अवलम्बन गर्नुपर्ने निष्कर्ष निकालिएको छ। आजको परिवर्तित युगीन अवस्थामा पुँजीवादसित शान्तिपूर्ण प्रतिस्पर्धा र सहकार्य गरेर मात्र समाजवाद स्थापना, संरक्षण र दिगो गराउन सकिनेछ। यस्तो अवस्थामा राष्ट्रिय पुँजीवाद विकास र संरक्षणको नीति पनि लिनुपर्छ। यस कालमा कतिपय क्षेत्रमा पुँजीवाद भए पनि समग्र देशको अवस्था समाजवाद नै हुनेछ। तत्काल नेपालमा आधारभूत चरणको समाजवाद कायम गर्दै अगाडि बढ्ने नीति लिनुपर्छ। त्यो चरण पूरा गरेपछि नेपाली समाज मानिसबाट मानिसको शोषण हुने अवस्थाबाट मुक्त हुँदै मध्यमस्तरको समाजवादी चरणमा प्रवेश गर्नेछ। त्यसपछि नेपाली समाज उच्चस्तरको संस्कृतिले युक्त समृद्ध समाजवादको चरणमा प्रवेश गर्नेछ। त्यसपछि पनि नेपाली समाज अझ

उच्चस्तरको अवस्थामा पदार्पण गर्दै अगाडि बढिरहनेछ र पुँजीवाद अन्त्यसँगै नेपाली समाज पनि साम्यवादमा रूपान्तरण हुनेछ। उत्पादनका साधनमा समाजको स्वामित्व कायम नभई समाजवाद निर्माण हुन सक्दैन। तर आजको विश्व परिस्थितिअनुरूप नै मुलुकभित्र आफ्नो विशेषताबमोजिम समाजवाद विकास गर्न ध्यान दिनुपर्छ। सबै पक्ष विचार गर्दा रुस, चीन र अन्य समाजवादी मुलुकमा भन्दा नेपालमा फरक किसिमले समाजवाद विकास हुनेछ। समाजवाद र पुँजीवाद खासगरी राष्ट्रिय पुँजीवादबीच स्वस्थ प्रतिस्पर्धा र एकअर्काको सहयोगीका रूपमा कार्यक्रम लैजानुपर्ने हुन्छ। यसरी हेर्दा नेपालमा राजकीय, सार्वजनिक, सामूहिक, निजी र निजी–सार्वजनिक–साझेदारीको स्वामित्वमा नेपाली समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने देखिन्छ। समाजवादका आधारभूत, मध्यम र अन्तिम अर्थात् सबै चरणका कार्यक्रम ठोस रूपमै अगाडि सार्नुपर्छ। अब नेपाल समाजवाद निर्माणको आधारभूत चरणबाट अगाडि बढ्नेछ। समाजवाद निर्माण योजना बनाउँदा सबै चरणलाई समयबद्ध गराउन पनि सकिनेछ। समाजवाद निर्माणसम्बन्धी योजना र ठोस कार्यक्रम यसपछि आउने रचनामा प्रस्तुत गरिनेछ। सारांशमा, अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यक्रम समाजवाद मात्र हो। यो नेपाली विशेषतामा आधारित भएर विकास हुँदै जानेछ। यसको मुख्य उद्देश्य बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीसहित समृद्ध र सुसंस्कृत समाजवाद निर्माण गर्नु हो। (गौतम नेकपा सचिवालय सदस्य हुन्)

प्रकाशित: २६ श्रावण २०७६ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App