८ वैशाख २०८१ शनिबार
कला

सिक्किममा नेपाली अवार्ड

सिक्किममा बुधबार अभिनेत्री मनीषा कोइरालाबाट फिल्म 'पशुपति प्रसाद'का लागि उत्कृष्ट निर्देशकको अवार्ड ग्रहण गर्दै दीपेन्द्र के खनाल। तस्बिर सौजन्यः विकास रौनियार

सिक्किम- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को चौथौं संस्करणमा डेनी डेन्जोङ्पालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिक्किमको गान्तोकस्थित मनन हलमा बुधबार आयोजित समारोहमा मनीषा कोइरालालाई भने विशेष सम्मान प्रदान गरिएको थियो। तर सम्मान ग्रहण गर्न डेनी अनुपस्थित रहे।

स्वास्थ्यमा समस्या भएपछि अन्तिम समयमा डेनी आउन नसकेको आयोजकले जानकारी गराए। सम्मान डेनीकै भान्जा निर्देशक उगेन छोपेलले ग्रहण गरे।सम्मान ग्रहणका लागि उपस्थित मनीषाले भने सम्मानका लागि आयोजकलाई धन्यवाद दिँदै सिक्किमबासीको प्रेम र उपलब्धिको चर्चा गरिन्। 'कार्यक्रम हेरेर बसिरहँदा दिमागमा एउटा प्रश्न आइरहेको थियो। योग गर्न बस्दा एक घन्टा पनि कठिन हुन्छ। यहाँ म चार घन्टादेखि बसिरहेकी छु तर पनि बस्न गाह्रो भएको छैन, निलो सफारी सुटमा सजिएकी मनिषाले भनिन, 'यो सबै तपाईंहरुको प्रेमले हो, स्नेहले हो।'

करिब दुई मिनेट बोलेकी मनीषाले आफ्नो छोटो मन्तव्यका क्रममा सिक्किम शतप्रतिशत अर्ग्यानिक स्टेट र हरित राज्य भएको उपलब्धिमा सिक्किमलाई धन्यवाद दिँदै नेपालमा पनि आफूले यस्तै प्रकारको उपलब्धि हेर्न चाहेको बताइन्।

'सबैलाई थाहा छ, म कस्तो स्वास्थ्यस्थितबाट गुजि्रएँ। त्यसैले मैले अर्ग्यानिक खाना र यसको महŒव बुझेकी छु। नेपालले पनि सिक्किमका यस्ता उपलब्धिको सिको गर्न पर्छ,' मनीषाले भनिन्।

सन् २०१३ मा जर्मनीको ह्यामबर्गमा पहिलो अवार्ड आयोजना गरेको इनासले त्यसयताका दुई संस्करण नेदरल्यान्ड र काठमाडौंमा आयोजना गरेको थियो। चौथौं संस्करणका लागि भने इनासले नेपालीभाषीको बाहुल्य रहेको भारतीय भूमिलाई गन्तव्य बनाएको हो। राज्य फरक थियो तर भाषा र संस्कृति उस्तै। त्यसैले अवार्ड थाप्न गएका निर्देशक दीपेन्द्र के खनाल र सम्मान थाप्न गएकी करिश्मा मानन्धरले स्टेजबाट एउटै कुरा दोहोर्‍याए, 'भूगोलले छुट्याएको रहेछ, भावनाले हैन।'

इनासको चौथांै संस्करणमा १९ विधामा अवार्ड प्रदान गरिएको थियो। सिक्किम र नेपाली कलाकारको गीत र नृत्यका प्रस्तुतिबीच सम्पन्न अवार्डमा नेपालमा हुँदै आएका अवार्डमा झैं व्यापारिक र समिक्षात्मक दुवै हिसाबले असफल रहेको 'क्लासिक'ले सर्वाधिक ६ विधामा अवार्ड हात पार्‍यो। आर्यन सिग्देल र नम्रता श्रेष्ठले फिल्म 'क्लासिक'बाट क्रमशः अभिनेता र अभिनेत्रीको अवार्ड पाए भने फिल्मले थप चार विधामा अवार्ड पायो। सोही फिल्मबाट सुरेन्द्र पौडेलले सम्पादन, कृष्णहरि बरालले गीत रचना, युवराज चौंलागाईंले गायन र दिनेश राउतले जुरी अवार्ड पाए। पहिले सूचीमै नरहेको जुरी अवार्ड राउतलाई दिनलाई नै रातारात सिर्जना गरिएको धेरैको टिप्पणी थियो।

त्यस्तै पहिले घोषणा नै नगरिएको पपुलर अवार्ड पनि 'सुर्के थैली'का संगीतकार राजनराज सिवाकोटीलाई दिइएको थियो। सिवाकोटी उत्कृष्ट संगीतकारको सूचीमा अर्जुन पोखरेल र कालीप्रसाद बाँस्कोटासँगै मनोनयनमा परेका थिए। तर 'प्रेमगीत'का लागि अर्जुन पोखरेलले अवार्ड थापे।

'क्लासिक'पछि 'पशुपतिप्रसाद'ले उत्कृष्ट फिल्मसँगै चार विधामा अवार्ड थाप्यो। फिल्मबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड थापे भने विपिन कार्कीले खलपात्रमा अवार्ड थापे। सोही फिल्मबाट खगेन्द्र लामिछानेले लेखनमा अवार्ड पाए।

'सुर्के थैली'ले थप दुई स्रष्टालाई अवार्ड दिलायो। सोही गीतको नृत्य निर्देशन गरेका शंकर बिसीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड जिते भने गायिका अञ्जु पन्त पनि सोही गीतको गायनका लागि उत्कृष्ट ठहरिइन्।

१९ विधामा बाँडिएको अवार्डमा 'होस्टल रिटर्न्स' र 'ड्रिम्स'ले समान दुई विधामा अवार्ड पाए। नाजिर हुसेन र सुशील सिटौलाले क्रमशः सहअभिनेता र नव अभिनेताको अवार्ड 'होस्टल रिटर्न्स'बाट थाप्दा 'ड्रिम्स'ले छायांकन र नव अभिनेत्रीमा अवार्ड जित्न सफल भयो। सञ्जय लामा र पुरुषोत्तम प्रधानले छायांकारको अवार्ड थापे भने साम्राज्ञीराज्य लक्ष्मी शाहले नव अभिनेत्रीको अवार्ड थापिन्।

हिमाल केसीले 'भैरव'का लागि उत्कृष्ट द्वन्द्वको अवार्ड जित्दा सूर्यमाला खनालले 'सुन्तली'बाट सहअभिनेत्रीको अवार्ड पाइन्। विल्सनविक्रम राईले 'अधकट्टी'बाट उत्कृष्ट हाँस्यकलाकारको अवार्ड पाए।

कार्यक्रममा सिक्किममा जन्मिएर नेपाली फिल्मक्षेत्रमा योगदान गरेका आधा दर्जनभन्दा बढी स्रष्टालाई सम्मान गरिएको थियो। नेपाली फिल्ममा अतुलनीय योगदान पुर्‍याएको भन्दै विनोद प्रधान, रञ्जीत गजमेर, निरुता सिंह, उत्तम प्रधान, उगेन छोपेल, चन्द्रप्रकाश घिमिरे, धनपाल गुरुङ आदिलाई सम्मान गरिएको थियो। कार्यक्रममा राजेश हमाल, करिश्मा मानन्धर र सुन्दर श्रेष्ठलाई पनि सम्मान गरियो।

प्रकाशित: २६ कार्तिक २०७३ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App