coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सौन्दर्य बिगार्नेलाई कारबाही

चितवन -  भरतपुर महानगरपालिकाले महानगरको सौन्दर्य बिगार्नेलाई कारबाही गर्न थालेको छ। महानगरको सौन्दर्य बिगार्ने किसिमका कुनै पनि क्रियाकलाप गर्ने÷गराउनेलाई आर्थिक ऐन २०७६ मा जरिवानासहित कारबाही गर्ने व्यवस्था महानगरले गरेको हो। सोही व्यवस्थाअनुसार कारबाही गर्न थालिएको महानगर राजस्व शाखाप्रमुख सिर्जन थपलियाले जानकारी दिइन्। उनका अनुसार महानगरले फोहोरमैला र प्लास्टिकजन्य पदार्थ बालेको कसुरमा मालपोत कार्यालय, चितवनमा रहेको क्यान्टिन, पूजासामान, फलफूल तथा जुस पसलेलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ।

पछिल्ला दुईदिनमा महानगरले फोहोरमैला र प्लास्टिकजन्य पदार्थ बालेको कसुरमा मालपोत कार्यालय चितवनमा रहेको क्यान्टिन, पूजासामान, फलफूल तथा जुस पसलेलाई ५/५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ।

फोहोरमैला व्यवस्थापनसम्बन्धी संघीय ऐनलाई हेरेर विभिन्न जरिवानासम्बन्धी व्यवस्था गरिएको शाखाप्रमुख थपलिया बताउँछिन्। सचेतनामूलक कार्यक्रम गर्ने र संरचनात्मक सुधारमा महानगर आफैंले गर्नुपर्ने काम पनि गर्ने व्यवस्था गरिएको छ। गतिविधि नियन्त्रण गर्न सचेतना फैलाउने र महानगरका सबै वडामा कारबाहीको व्यवस्थाबारे सूचना प्रवाह गरिएको उनले बताइन्।

महानगरले साउन ७ गतेदेखि लागू हुनेगरी सूचना प्रकाशित गरेको थियो। जसअन्तर्गत तोकिएको स्थानभन्दा बाहेक अन्यत्र फोहोरमैला निष्कासन गरेमा, सार्वजनिक यातायातमा डस्टविन नराखी जथाभावी फोहोर फालेमा, कन्टेनर वा फोहोरमैला संकलन केन्द्रमा राखिएको फोहोरमैला अनधिकृत तवरले प्रयोग गरेमा, सडक वा सार्वजनिक स्थानमा फोहोर थुपारेमा, सतही ढलमा शौचालय मिसाएमा प्लास्टिकजन्य पदार्थ बालेमा र पशुचौपाया छाडा छाडेमा कारबाही गर्ने व्यवस्था गरिएको छ। यस्ता कार्य गरे कसुरअनुसार पहिलो पटकमा एक हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।

यस्तै कुहिने फोहोर र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर निष्कासन गरेमा हरेक पटक पाँच सय रुपैयाँका दरले जरिवाना गरिने प्रावधान रहेको छ। यसबाहेक तोकिएबाहेकको स्थानमा अनुमति नलिई विज्ञापन सामग्री राखेमा, फुटपाथमा व्यापारिक सामग्री र पसल राखेमा, निषेधित क्षेत्रमा पार्किङ गरेमा, ठेला राखेमा र अनावश्यक हर्न बजाएमा पनि महानगरले जरिवाना गर्ने थपलिया बताउँछिन्।

जरिवानासहितको कानुनी व्यवस्था लागू गराउन उपमेयर पार्वती शाहको अध्यक्षतामा जिल्ला प्रशासन, प्रहरी कार्यालय, ट्राफिक कार्यालय र सामाजिक अभियन्ता सहभागी ११ सदस्यीय समितिसमेत बनाइएको छ। ‘कर्मचारी खटाएर नियम उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया सुरु गरिसकेका छौं,’ थपलियाले भनिन्, ‘त्यसका लागि महानगरले सादा पोसाकमा नगरप्रहरी र कर्मचारीसमेत खटाउने गरेका छौं।’ सहरी सौन्दर्यमा असर पुग्ने काम गरेको भेटेमा नगर्नुस् भनेर जानकारी गराउन यसअघि नै थालिएको राजस्व शाखाप्रमुख थपलियाको भनाइ छ।

पछिल्लो दुई दिनको अवधिमा तीनजनालाई चिट नै काटेर कारबाही गरिएको छ। अनधिकृत विज्ञापन राख्नेलाई भने केही महिनाअघिदेखि नै कारबाही गर्दै आएको उनले जानकारी दिइन्। यस्तै, महानगर कार्यालयपरिसरभित्र सुर्ती, गुट्खा र पान खानेलाई पनि जरिवाना गरिने उनले बताइन्। उनका अनुसार महानगरको संयन्त्रसमेत बलियो बनाएर फोहोर व्यवस्थापनको काम गर्न सकेपछि मात्र फोहोर नछुट्याई निकाल्नेलाई पनि कारबाही गरिनेछ। महानगरले फोहोर संकलन गर्न आवश्यक ट्याक्टर र सरसफाइ गर्न चाहिने आवश्यक सामग्रीका लागि बजेट थप गर्न लागेको छ। साथै महानगरले नगरप्रहरीको संख्यासमेत थप गर्न लागेको उनले जानकारी दिइन्।

प्रकाशित: २६ श्रावण २०७६ ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App