७ वैशाख २०८१ शुक्रबार
समाज

प्राविधिक विश्वविद्यालयको तयारी

काठमाडौं- विश्वबजारमा बिक्नसक्ने प्राविधिक जनशक्ति उत्पादन गर्न सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ। शिक्षामन्त्री धनीराम पौडेलले बिहीबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी  एसियाली विकास बैंकको सहयोगमा मकवानपुरको चितलाङमा सरकारले २ सय मिलियन डलर (करिब २१ अर्ब २० करोड रुपैयाँ) खर्चमा विश्वविद्यालय स्थापना योजना अघि बढाएको जानकारी दिए।

राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठानको रुपमा स्थापना गरिने प्राविधिक विश्वविद्यालले नेपालको समृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने सरकारको विश्वास रहेको मन्त्री  पौडेलले बताए। 'हाम्रा स्थापित प्राविधिक शैक्षिक संस्थालाई सुधार्दै नयाँ प्राविधिक विश्वविद्यालय खोल्ने जमर्को सरकारले गरेको छ,' मन्त्री पौडेलले भने, 'यो प्रतिष्ठानलाई स्वायत्त निकायको रुपमा परिकल्पाना गरिएको छ।' उनले थपे, 'नयाँ ज्ञान र प्रविधिसहितको जनशक्ति उत्पादन र विकास गर्न अनुसन्धानमुखी वर्ल्ड क्लास विश्वविद्यालय स्थापना गर्ने सरकारी लक्ष्य हो।'

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.हरि लम्सालका अनुसार प्रतिष्ठान स्थापनाबारे मंसिर १–३ गतेसम्म विदेशी तथा स्वदेशी विज्ञबीच समेत छलफलको तयारी गरिएको छ। 'यो अध्ययन संस्थाले अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिने छैन,' प्रवक्ता लम्सालले भने, 'यसअन्तर्गत सञ्चालन हुने अध्ययन तथा अनुसन्धान नेपालको आर्थिक विकासका लागि उच्च सम्भावना बोकेका क्षेत्रमा केन्द्रित हुने छ।' उनले थपे, 'समृद्ध नेपाल स्थापना गर्न गहकिलो भूमिका प्रतिष्ठानले निर्वाह गर्ने विश्वास छ।'

सरोकारवालाको राय लिन मन्त्रालय र एसियाली विकास बैंकको संयुक्त आयोजनामा मंसिर १–३ गतेसम्म वर्ल्ड क्लास प्राविधिक विश्वविद्यालय स्थापनाबारे कार्यशाला आयोजना गर्न लागिएको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेले बताइन्। कार्याशालामा वर्ल्ड क्लास विश्वविद्यालयका पाँच जना विशिष्ट विज्ञलाई समेत आमन्त्रित गरिएको उनले जनाइन्। ती विज्ञसँग नेसनल युनिभर्सिटी अफ सिंगापुर, कोरिया एडभान्स इनस्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी, युनिभर्सिटी अफ साइन्स, मलेसिया तथा इन्डियन इनस्टिच्युट अफ टेक्नोलोजी, कानपुर जस्ता वर्ल्ड क्लास विश्वविद्यालय र विश्व बैंकको उच्च तहमा रहेर काम गरेको अनुभव रहेको  मन्त्री पौडेलले बताए।

'कार्यशालामा प्रतिष्ठानका लागि उपयुक्त शासकीय स्वरुप, दीगो वित्तीय व्यवस्थापन रणनिति, प्राथमिकताका अध्ययन र अनुसन्धानका विषय तथा उत्कृष्ट प्राध्यापक तथा विद्यार्थी आकर्षण गर्ने रणनीति जस्ता विषयमा छलफल हुन्छ ', मन्त्री पौडेलले भने, 'छलफलमा मन्त्री, पूर्व मन्त्री, सांसद, योजना आयोगका पूर्व र वर्तमान अधिकारीहरू, नेपाल सरकारका वरिष्ठ कर्मचारी, निजी क्षेत्रका प्रतिनिधि, प्राज्ञ, इन्जिनियर लगायतको सहभागिता रहने छ।' उनले थपे, 'विश्वस्तरको प्राविधिक शैक्षिक संस्था नेपालमै स्थापना गरी नेपाललाई शैक्षिक हब बनाउने लक्ष्य हो।'

प्रकाशित: २६ कार्तिक २०७३ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App