८ वैशाख २०८१ शनिबार
समाज

बाजा जोगाउनै मुस्किल, मतयाः अर्थात उज्यालो जात्रा

ललितपुर - दीप प्रज्वलन गरेर मनाइने नेवार समुदायको एक महत्वपूर्ण पर्व मतयाः (श्रृंगभेरी) भित्र चर्चित र लोपोन्मुख गरी १८ वटा बाजा छन् । त्यसमध्येका धेरै बाजा अन्य पर्वमा निकाल्न मिल्दैन । मतयाः जात्राको साइत पारेर जात्रा सुरु हुनुभन्दा १५ दिन अघि मात्रै बाजा निकालिन्छ र कलाकारलाई अभ्यास गराउने चलन छ ।
यस वर्ष मतयाः जात्रा साउन ३२ गते मनाइँदै छ ।

जात्रा नजिकिँदै गर्दा बाजा–गाजा, शृंगार र कलाकारको तयारी थालिएको छ । यो जात्राभित्रका करिब १२ वटा बाजा मतयाःकै कारण जीवित छन् । अन्य बाजाहरु अरु कार्यक्रम र जात्रा पर्वमा बजाइने हुँदा ती बाजाको चिन्ता कम छ । जात्राको बेला बजाइने केही बाजा भैंसीको सिङ्गबाट बनेका छन् । मृदङग, कोखिं, धाःबाजा, दमोखिं, दबदब, कासीबाजा, ब्या बाजा, नायखिं, मगःखिं, दहलगायत बाजा लोपोन्मुख छन् । यी बाजा मतयाःमा मात्रै सिमित छन् । अन्य ढोलक, नगरा, जो नगरा, संघबाजा, खइजडी, बाँसुरी, खिं, धिमेलगायतका बाजा अन्य जात्रा पर्वको बेला पनि बजाउने गरिन्छ ।

अन्य पर्वका बेला प्रयोग नहुने तर मतयाःसँग जोडिएका धेरै बाजाहरूको संरक्षणमा ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकार आफंै लागिपरेको छ । उनी नेवार समुदायका परम्परागत केही बाजा तथा पर्वहरु लोप भइसकेकाले मतयाःभित्रका बाजाहरु जोगाउनको लागि लागिपरेको बताउँछन् । ‘केन्द्रीय समिति बनाएर जात्रा मनाउने चलन छ । यो पर्वको बेला मात्रै बज्ने तर अरु बेला नबज्ने भएकाले केही बाजालाई संरक्षण गर्नका लागि मतयाःको मुख्य भूमिका रहन्छ,’ उनले भने, ‘यो पर्वमा १० वर्षका बालकलाकारदेखि पाका उमेरसम्मका कलाकारहरुको सहभागिता रहन्छ ।’ उनका अनुसार २८ गते १८ वटै बाजा कुम्भेश्वर मन्दिर परिसरमा बजाउने तयारी भएको छ ।

दिवंगतहरुको सम्झनामा मठ–मन्दिर, चैत्य, गुम्बा, विहारहरुमा बाजा बजाएर परिक्रममा गरिनेछ । मतयाः पर्व सञ्चालन गर्न २०÷२२ लाख खर्च हुने ताम्रकारको भनाइ छ । तर, जात्रा पर्वको लागि पहिले–पहिले दिइँदै आएको सरकारी सहयोग कम हुँदै गएकाले जात्रा मनाउने कठिन परेको स्थानीयवासीको भनाइ छ ।

यो जात्रा वर्षैपिच्छे क्षेत्र फरक फरक समुदायको गुठीले मनाउने परम्परा छ । यो वर्ष हौंगलको क्षेत्र जम्बर ६ को पालो परेको छ । ललितपुर नगरक्षेत्रका दश टोलहरु नकबहील, मंगलबजार, चक्रबहिल, नागबहाल (इखाछें), बुबहाल, हौगल, ओकुबहाल, इखालखु, कोबहाल तथा सौगल टोलले पालै पालो गरी यो पर्व मनाउँदै आएका हुन् ।

करिब १४ सय ५० वर्ष अघिदेखि ललितपुरको पाटन क्षेत्रमा चल्दै आएको मतयाः जात्रा (श्रृंगमेरी– दीपयात्रा)को बेला दिवंगतहरुको सम्झनामा हिन्दू तथा बौद्ध धर्मालम्बीहरुले नगर पूजाआजा गर्ने, वत्ती बाल्ने र धुप चढाउने गर्छन् । पालो परेको टोलको स्थानीयवासीले लोपन्मुख बाजाहरु सँगसँगै मंगलबजार, कुम्भेश्वर, बुङमति, स्वयम्भूनाथलगायतका स्थानमा पुगेर बजाउने चलन कायमै छ । सबैतिर बाजा बजाउँदै परिक्रमा गरिने भएकोले नांै दश महिनाअघिदेखि नै प्रशिक्षण र तयारीमा लाग्नुपर्ने जात्रा संरक्षण समितिका अध्यक्ष धर्मकृष्ण ताम्रकारले जानकारी दिए । उनले हरेक वर्ष पाटन क्षेत्रका दश टोलले मतयाःको पालो लिँदै आएको बताए । यस वर्ष मतयाः पर्व यही श्रावण ३२ गते शनिवारका दिन परेको छ ।

जात्रा नजिकिँदै गर्दा पालोवाला टोल हौगलले पाटन क्षेत्रमा विभिन्न लोपोन्मुख बाजाहरुको प्रदर्शनी पनि गरेको छ । शनिबार पाटन क्षेत्रमा मयताः जात्रा केन्द्रीय समितिले गरेको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेवार समुदायका कतिपय जात्रा वैज्ञानिक रहेको बताए । उनले जात्रा–पर्व धरोहर भएकाले नियमित ढंगले मनाउन सबैसँग आग्रह समेत गरे । ‘पुराना संस्कृति हाम्रा चिनारी हुन् । यी हराए वा मेटिए भने हामीले नेपाली भनेर गर्व गर्ने ठाउँ रहन्न,’ उनले भने । यो जात्रा लिच्छविकालीन राजा बालार्चन रत्नदेवको पालादेखि सुरु भएको मान्यता छ । किंवदन्ती अनुसार पूर्व जन्मको कर्मले मानिसलाई अर्को जन्ममा फरक प्राणि बनाएको र त्यस्तो पाप नष्ट गर्नका लागि आफन्तहरुले मृतकको नाममा वत्ती बाल्ने चलन छ ।

प्रकाशित: २६ श्रावण २०७६ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App