८ वैशाख २०८१ शनिबार
समाज

विप्लव नेता–कार्यकर्ता धमाधम पक्राउ

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा (विप्लव समूह) र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि पक्राउ गर्ने क्रम रोकिएको छैन। पछिल्लो समय सरकार वार्ताप्रति अनुदार बन्दै गएको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याउने बताए पनि गृह मन्त्रालयमातहतका सुरक्षा निकायले भने सो समूहका नेता–कार्यकर्ता पक्राउ गर्दै गएपछि वार्ताप्रति सरकार अनुदार बन्दै गएको देखिएको हो।

असार २८ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन वार्ता समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयमा पठाएर समूहसँग वार्ता प्रक्रिया अघि बढाउने आशयको निर्देशन दिएको थियो। त्यसपछि सरकारले सो समूहलाई वार्ताको सन्देश पठाइरहेका बेला त्यसका पोलिटब्युरो सदस्य एवं काठमाडौं उपत्यका इन्चार्ज माइला लामा काठमाडौंमा पक्राउ परेका थिए। लामा पक्राउपछि विप्लव समूहले जनप्रतिरोध र जनकारबाहीको चेतावनी दिएको थियो। शनिबार पनि सो समूहका जनवर्गीय संगठन अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष खेम थपलियालाई पक्राउ ग-यो। प्रगतिशील लेखक संघको बैठकबाट बाहिरिँदै गर्दा उनलाई सशस्त्र प्रहरीको विशेष टोलीले दिएको सुराकीका आधारमा नेपाल प्रहरीले पक्राउ गरेको थियो।

त्यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले टोलीले गत मंगलबार गौशालाबाट सो समूहका केन्द्रीय सदस्य उमा गुरुङ, डम्बर बिक र मानध्वज गुरुङलाई पक्राउ गरेको थियो। विप्लव समूहले विभिन्न स्थानमा चन्दा आतंक, बम विस्फोटलगायत घटना गराउन थालेपछि प्रहरीले सो समूहका नेता–कार्यकर्ता पक्राउलाई तीव्रता दिएपछि सरकार र अन्य व्यक्तिसँग सम्पर्कमा रहेका विप्लव नेता–कार्यकर्तासमेत अहिले सम्पर्कविहीन बनेका छन्। सत्तारूढ दलकै स्थायी समिति सदस्य लेखराज भट्टले सरकार विप्लव समूहबीच वार्ता हुनुपर्ने धारणा सार्वजनिक गरिरहका छन्। तर विप्लव समूहले शक्ति सञ्चय गरिरहेको आशंकामा गृह मन्त्रालयले अघोषित रूपमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीसमेत परिचालन गरेर नेता–कार्यकर्तालाई पक्राउ गरिरहेको छ। सरकार एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर नेता–कार्यकर्ता पक्राउ गरेर अनुदार बन्दै गएकाले सरकारसँग वार्ताको सम्भावना सकिएको भन्दै सो समूहले तत्काल वार्ता नहुने जनाइसकेको छ।

वार्ताको तयारी भइरहेका बेला माइला लामा पक्राउ परेपछि विप्लव समूहले तत्कालीन बाग्मती अञ्चलका जिल्लासहित दोलखा र रामेछाप बन्दसमेत गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला इन्चार्ज भृकुटीलाई पनि पक्राउ गरेपछि वार्ताको पक्षमा रहेको विप्लव समूह थप बिच्किएको थियो। सरकारले वार्ताको तयारी गरिरहेका बेला सो समूहका वार्ता चाहने केहीलाई कारबाही पनि गरिएको थियो। सत्तापक्षका नेताहरूसँग सम्पर्क रहेको भन्दै उनीहरूलाई सो समूहको केन्द्रीय समितिबाट कारबाही गरिएको सोही समूहले जनाएको छ। विप्लव समूहमा पाँच सदस्यीय स्थायी समिति, ११ सदस्यीय पोलिटब्युरो र ३५ सदस्यीय केन्द्रीय समिति रहेकोमा पोलिटब्युरो सदस्य भरत बम, अनिल शर्मा, ओम पुन, उमा भुजेल, वीरगन्ज चन्द र मोहन कार्कीलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको र मोहन कार्की र कृष्ण धमलालाई केन्द्रीय सदस्यबाट हटाइएको बताइएको छ।

सकारले प्रतिबन्ध लगाउनुपूर्व नै विप्लव समूहका १ हजार ३ सय ५ नेता–कार्यकर्ता पक्राउ परेका छन्। त्यस्तै प्रतिबन्धपति पक्राउ पर्नेको संख्या ६०९ पुगेको छ। सो समूहविरुद्ध १ हजार ३ सय १३ मुद्दा दर्ता भएका छन्। प्रतिबन्धपूर्व १ हजार १ सय ३३ र पछि ६ सय ४८ मुद्दा दायर भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेकामध्ये ५ सय १३ जना छुटिसकेका छन् भने १ सय १० जना कारागार चलान भएका छन्। ६९ जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। नेतृत्व तहकै डेढ सय नेता पक्राउ परेका छन्। प्रहरी प्रधानकार्यालयले दिएको जानकारीअनुसार स्थायी समिति सदस्य नै पक्राउ परेका छन्। त्यस्तै विभागीय प्रमुख एकजना, पोलिटब्युरो सदस्य दुईजना, केन्द्रीय सदस्य १० जना, ब्युरो प्रमुख सातजना, भ्रातृ संगठन प्रमुख सातजना, ब्युरो सदस्य १७ जना, जिल्ला इन्चार्ज तथा सेक्रेटरी ४६ जना गरी १ सय ५७ जना पक्राउ परेका छन्। यस समयमा सरकार र विप्लव समूहबीच वार्ता हुनुपर्ने धारणा राख्ने केन्द्रीय सदस्य मोहन कार्की ‘जीवन्त’लाई भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले रिहा गरेको छ।

विप्लव समूहले सञ्चालन गरेको गतिविधिका क्रममा विभिन्न स्थानमा विस्फोटका घटना भएका छन्। बम विस्फोटका कारण सातजनाले ज्यान गुमाउनुपरेको छ। देशभर ५० स्थानमा बम विस्फोट गराएको छ। त्यस्तै विप्लव समूहले राखेका १ सय २४ स्थानको बम निष्क्रिय पारेको छ। प्रहरी कारबाहीमा ६ जना र आफैंले गराएको विस्फोटमा परी ६ जना गरी विप्लव समूहका १२ जनाको मृत्यु भइसकेको छ। सो समूहले गराएको विस्फोटमा परी एकजना सर्वसाधारणको पनि मृत्यु भएको छ। त्यस्तै विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट भोजपुरमा एकजना प्रहरीको पनि मृत्यु भएको छ। प्रहरीले विप्लव समूहको साथबाट एक थान एलएमजीसहित २४ थान हतियारसमेत बरामद गरेको छ।

२०७५ भदौ ८ गते सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन
पुस १२ गते समितिको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइएको
फागुन १० गते नक्खु एनसेल कार्यालयमा आक्रमणमा एकजनाको मृत्यु, दुई घाइते
सोही दिन देशभर १० स्थानमा एनसेल टावरमाथि आक्रमण
फागुन २४ गते वैदेशिक रोजगार व्यवसायी रोहन गुरुङको बसुन्धरास्थित घरमा गरिएको बम विस्फोटमा तीन घाइते
फागुन २८ गते विप्लव समूहका गतिविधिमाथि प्रतिबन्ध
२०७६ जेठ ७ गते भोजपुरमा प्रहरीको गोली लागी तीर्थराज घिमिरेको मृत्यु
जेठ १२ गते काठमाडौंको दुई स्थानमा बम विस्फोट पाँचजनाको मृत्यु
असार ५ गते प्रहरी कारबाहीमा परी सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु
असार २५ गते प्रहरी जवान सञ्जीव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको झडपमा मृत्यु
असार २८ पाण्डे संयोजकत्वको वार्ता समितिद्वारा तयार प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाइएको

प्रकाशित: २६ श्रावण २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App