७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

सर्लाही– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्।

शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहियाडुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहनबहादुर जिसी र एसपी गोपालचन्द्र भट्टराईलाई व्यंग्यात्मक शैलीमा चेतावनी दिए।

‘वर्षौंदेखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस्।’

मन्त्री यादवले कार्यक्रममा उपस्थित उखु किसानलाई ढाडस् दिँदै निकट भविष्यमै चिनी उद्योगीबाट उखुको पैसा भुक्तानी हुने आश्वासन दिए। ‘तपाईंहरुको वर्षौंदेखिको उखुको पैसा निकट भविष्यमै आउनु पर्छ’, मन्त्री यादवले भने, ‘यदि उद्योगीले पैसा दिएनन् भने, म तपाईंहरुको संघर्षको नेतृत्व गर्न पुनः यही भूमीमा आउने वाचा गर्दछु।’

किसानको पैसा भुक्तानी गराउन नसक्ने भएपछि पदमा बस्न पनि लाज लागिरहेको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘उखु किसानको करोडौं वक्यौता रकम भुक्तानी गर्नुपर्ने विषयमा म कठोर कदम चाल्दै छु, शायद यस्तो अवस्था आयो भने मैले राजीनामा दिनै पर्दै,न प्रधानमन्त्रीज्यूले नै मन्त्री पद् छाड भन्ने अवस्था आउन सक्छ।’

किसानको करोडौं भुक्तानी बाँकी राख्ने सर्लाहीको धनकौलस्थित अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाललाई यसअघि नै पक्राउ गरिएपनि कागज गरेर छाडिएको तर सो अनुसार किसानको भुक्तानी नभएको मन्त्री यादवले बताए। अब तुरुन्त किसानको भुक्तानी नगरे गृहमन्त्रीसँग समन्वय गरेर चिनी उद्योगीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइने समेत उनले प्रतिबद्धता जनाए। 

जिल्लाको धनकौलस्थित अन्नपूर्ण सुगर मिलले तीनवर्षदेखि उखु किसानको करोडौं भुक्तानी बाँकी राखेको छ। त्यस्तै गत सिजनबाट सञ्चालनमा आएको बगदहस्थित महालक्ष्मी सुगर मिलले समेत किसानको भुक्तानी नै दिएको छैन।

त्यसअघि कार्यक्रममा दुई दर्जन बढी उखु किसानले मन्त्री यादवसमक्ष आप्mनो पीडा पोखेका थिए। 

मन्त्रीले घोषणा गरे किसानको संघर्ष समिति

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले शनिबार दिउँसो सर्लाहीको गडहिया डुमरिया स्थित जनता मावि परिसरमा उखु किसानसँग अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने क्रममा किसानको संघर्ष समिति समेत घोषणा गरे। 

मन्त्री यादवले नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्व सांसद् शिवपुजन रायको संयोजकत्वमा १७ सदस्यीय उखु किसान हकहितका लागि तदर्थ संघर्ष समितिको घोषणा गरेका हुन्। घोषणासँगै मन्त्री यादवले किसानलाई आग्रह गर्दै भने, ‘वर्षौंदेखि उखु किसानको समितिको नेतृत्वमा एउटै मान्छे छ, कहिल्यै चुनाव हुँदैन अनि कसरी उखु किसानको हकहित हुन्छ?, अब तपाईंहरु यही समितिमा आवद्ध भई उखु किसानको हकहितमा लाग्नोस् र गाउँगाउँमा चुनाव गरेर नयाँ नेतृत्व चयन गर्नुहोस्।’

प्रकाशित: २५ श्रावण २०७६ १६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App