coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोर्चाले संसदबाटै दबाब दिने

काठमाडौं- संविधान संशोधनका लागि मधेसी मोर्चासहितको संघीय गठबन्धनले संसद्बाट सरकारलाई दबाब दिने भएको छ। अहिलेसम्म उसले सडकबाट दबाब दिँदै आएको थियो। सरकारले सडकको आवाज नसुनेपछि मोर्चाले संसद्लाई पनि प्रयोग गरेर दबाब दिने रणनीति बनाएको हो।

सरकारलाई दबाब दिन संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे संघीय गठबन्धनमा आबद्ध  दलहरूको  संसदीय दलको संयुक्त बैठक शुक्रबार बिहान बस्दै छ। संसद् बैठक पनि शुक्रबारका लागि डाकिएको छ। गठबन्धन संसदीय दलको बैठकमा ४३ सांसद सहभागी हुनेछन्। संघीय गठबन्धनमा आबद्ध २९ दलमध्ये ९ दलको प्रतिनिधित्व ससंद्मा छ।

गठबन्धनको बिहीबार बसेको बैठकमा उपस्थित नेताले संविधान संशोधनका लागि सडकसँगै संसद्बाट पनि दबाब दिनुपर्ने धारणा राखे। गठबन्धनको ठूलो घटक मधेसी मोर्चासम्बद्ध  नेतामध्ये केहीले पुनः सडक चर्काउनुपर्ने र केहीले संसद्बाट दबाब दिनुपर्ने धारणा राखेका थिए।

'संविधान संशोधनका लागि अब हामीले संसद्बाट दबाब दिने भएका छौ,' संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, 'संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न शुक्रबार बिहान गठबन्धनमा रहेका दलहरूको संसदीय दलको बैठक बोलाइएको छ। त्यसले निर्णय गर्नेछ।'

ग्ाठबन्धनमा आबद्ध अर्को दल राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केेशव झाले  भने संविधान संशोधनका लागि दबाब दिन संसद् र सडक दुवै प्रयोग गर्ने तयारी भएको बताए। 'अब हामीले सडक र संसद् दुवै प्रयोग गर्ने भएका छौ। यसको निर्णय शुक्रबार बिहान बस्ने संसदीय दलको संयुक्त बैठकले गर्ने छ,' झाले भने।

सरकारले कात्तिक मसान्तसम्म संविधान संशोधन मस्यौदा संसद्मा दर्ता गर्ने प्रतिबद्धता गरेको छ। कात्तिक १४ गते बसेको सरकार र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मसान्तभित्र संविधान संशोधन मस्यौदा संसद्मा दर्ता गर्ने प्रतिबद्धता गरेका थिए।

मोर्चासहितको गठबन्धनको बिहीबारको बैठकमा नेताहरूले प्रधानमन्त्रीको प्रतिबद्धता अनुसार मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता हुनेमा आशंका व्यक्त गरेका थिए। 'कात्तिक मसान्तभित्र संविधान संशोधन मस्यौदा संसद्मा दर्ता हुनेमा हामीलाई शंका लागेको छ। मसान्तसम्म संशोधन मस्यौदा संसद्मा दर्ता नभए संसद् र सडकबाट आन्दोलन गर्नुबाहेक विकल्प हामीसँग छैन,' झाले भने।

संविधान संशोधनका विषयमा सत्तासीन र प्रमुख  प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा अलमल भइरहेको छ।

संघीय गठबन्धन बैठकले संविधान संशोधनन लागि स्मरण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ। तर कहिले ज्ञापनपत्र बुझाउने भन्ने मिति तय भएको छैन।

ठाकुर आए, महतो आएनन्

गठबन्धन बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित थिए। उनी लामो समयदेखि गठबन्धनको बैठकमा आउने गरेका थिएनन्। तर सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने बिहीबार पनि बैठकमा सहभागी भएनन्। उनी पनि लामो समयदेखि गठबन्धन बैठकमा सहभागी छैनन्।

गत असारमा गठबन्धनले राजधानीको खुलामञ्चमा अनशन गरेयता तमलोपा अध्यक्ष ठाकुर र सद्भावना अध्यक्ष महतो गठबन्धन बैठकमा सहभागी भएका थिएनन्। बिहीबारको बैठकमा महतोले योगन्द्र यादवलाई पठाएका थिए। सद्भावनाका महासचिव मनीष सुमनले कार्यव्यस्यताको कारण पार्टी अध्यक्ष महतो गठबन्धन बैठकमा सहभागी हुन नसकेको बताए।

संघीय समाजवादी फोरम, नेपालको कार्यालय तिनकुनेमा बसेको गठबन्धन बैठकमा मधेसी मोर्चामा आबद्ध सातवटै दलका प्रतिनिधि, नेपा पार्टी, थरुहट तराई पार्टी, आदिववासी जनजाति राष्ट्रिय आन्दोलन, सामाजिक लोकतान्त्रिक पार्टीलगायत दलका प्रतिनिधि सहभागी थिए।

 

प्रकाशित: २६ कार्तिक २०७३ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App