७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

दार एस सलाम– पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ। देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ।

घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ। प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन्। उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ।

'हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,' प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए। उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन्। घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन्। जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले बताएका छन्।

स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटना भएको हो। एउटा मोटर चालकलाई छलेर अगाडी बढाउन खोजीरहेका बेला ट्याङ्कर पल्टिएको हो। ट्याङ्कर पल्टिएपछि ट्याङ्करबाट चुहिएको तेल स्थानीय बासिन्दाले थापिरहेका बेला आगलागी भएर विस्फोट भएको र उनीहरुको मृत्यु भएको हो।

प्रकाशित: २५ श्रावण २०७६ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App