८ वैशाख २०८१ शनिबार
राजनीति

दशकपछि तरुण महाधिवेशन

वालकृष्ण अधिकारी/सन्तोष पोखरेल

काठमाडौं/पोखरा- आन्तरिक विवादका बीच नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशन हुने भएको छ। झन्डै एक दर्जन जिल्लामा विवाद रहे पनि पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गर्ने छन्। महाधिवेशन झन्डै एक दशकपछि हुन लागेको हो।

तीन दिनसम्म चल्ने महाधिवेशनले दलको नयाँ नेतृत्व चयनसँगै संगठनको नीति तथा कार्यक्रम पारित गर्नेछ। तरुण दलको महाधिवेशनका लागि कांग्रेसले बनाएको निर्देशक समिति जिल्ला विवाद समाधान गर्ने प्रयासमा जुटेको छ। अधिवेशन हुन नसकेका र विवादित जिल्लामा आपसी सहमतिमा महाधिवेशन प्रतिनिधि टुंगो लगाउने प्रयास भइरहेको जानकारी समितिका सदस्य रामकृष्ण यादवले दिए।

'महाधिवेशन अब रोकिँदैन,' पार्टी केन्द्रीय सदस्य एवं निर्देशक समिति सदस्य यादवले भने, 'विवाद देखिएका जिल्लामा मिलाउने प्रयास भइरहेको छ। जहाँबाट विवाद भएको हो त्यहींबाट समाधान खोज्छांै।'

संगठनमा दुःख गरेका कुनै पनि तरुण महाधिवेशनबाट बञ्चित नहुने जनाउँदै यादवले भने, 'सबै पक्षको सहमतिमा दुःख गरेका साथीहरूलाई महाधिवेशनमा सहभागी गराएर समाधानमा पुग्ने प्रयासमा छौं।'

विवाद देखिएका उदयपुर, सुर्खेत, पर्सासहितका जिल्ला अधिवेशन भइसकेको जनाउँदै यादवले सदस्यता वितरण नभएका एकाध जिल्लाबाहेक सबैबाट महाधिवेशन प्रतिनिधि सहभागी गराउने तयारीमा निर्देशक समिति लागिपरेको जानकारी दिए। भक्तपुर र सप्तरीमा अहिलेसम्म अधिवेशनको प्रक्रिया सुरु भएको छैन भने काभ्रे, बारा, धादिङ, बाँके, सर्लाही र धनुषामा अधिवेशन भए पनि विवाद देखिएको छ।

यसअघि दलको महाधिवेशन २०६१ सालमा भएको थियो। २०६८ सालमा पार्टीले भ्रातृ संगठनका निर्वाचित कार्यसमिति विघटन गरी ६ महनिाभित्र महाधिवेशन गराउन आयोजक समिति बनाएको थियो। सोही आयोजक समितिको अध्यक्षको हैसियतमा दलको नेतृत्व  उदयशमशेर राणाले गर्दै आएका छन्।

सर्वसम्मतिको प्रयास 

पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गर्न नेताहरू सक्रिय भएका छन्। कांग्रेसको १३औं महाधिवेशन र त्यसपछि भएका भ्रातृ संगठनका निर्वाचनमा पार्टी सभापति देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा भएको थियो। तरुण दलको नेतृत्व भने सहमतिमा छान्न प्रयास भएको हो।

देउवा र पौडेल पक्षका नेता सर्वसम्मतिबाट तरुण दलको नयाँ नेतृत्व टुंगो लगाउने आन्तरिक प्रयासमा जुटेका छन्। देउवा पक्ष जितजङ बस्नेतलाई अध्यक्ष बनाउने र अन्य पदमा पौडेल पक्षलाई मिलाएर लैजाने तयारीमा जुटेको छ। 'सकेसम्म सर्वसम्मति गरेर जानुपर्छ भन्ने आबाज दुबै पक्षबाट आइरहेको छ,' एक नेताले भने, 'सकेसम्म सहमतिको प्रयास हुन्छ।'

नयाँ नेतृत्वका लागि दुबै पक्षबाट दर्जनजति नेता आकांक्षी देखिएका छन्। अध्यक्ष बन्न यमबहादुर गुरुङ, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्ल, सिद्धार्थ कोइराला, दिनेश भट्टराई, हर्क देउवा लागिपरेका छन्। 

सबै तयारी पूरा

तरुण दलले चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। दलले बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै महाधिवेशन हुँदैन कि भन्ने आशंका हटेर गएको जनाएको हो।

तरुण दलका केन्द्रीय तथा सचिवालय सदस्य मेखलाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने, 'पटकपटक रोकिएकाले केही आशंका थियो  तर, अब पक्का हुन्छ।'

विवाद नमिलेका भक्तपुर र सप्तरीका प्रतिनिधि सहभागी  नहुने पनि श्रेष्ठले बताए। उनका अनुसार काभ्रे र बारामा विवाद रहे पनि त्यहाँ क्षेत्रीय र नगरअधिवेशन भएकाले प्रतिनिधिहरूले भाग लिने छन्। महाधिवेशनबाट दलका पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेश र समावेशी तर्फबा सदस्य छानिने छन्।

श्रेष्ठका अनुसार महाधिवेशनमा ७१ जिल्लाका करिब १४ सय प्रतिनिधि सहभागी हुनेछन्। दलको विधानमा महाधिवेशनमा महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने व्यवस्था छ। त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन/तीन जना सहभागी हुने व्यवस्था छ। तरुण दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ। केन्द्रीय समितिका ४५ जना पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। 

महाधिवेशनले ६१ सदस्यीय दलको कार्यसमिति बढाएर ७५ पुर्‍याउने सम्भावना रहेको तरुण नेता बताउँछन्।

प्रकाशित: २६ कार्तिक २०७३ ०१:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App