७ वैशाख २०८१ शुक्रबार
अन्य

ठेकेदार बेपत्ता भएपछि पुल अलपत्र

म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा अलपत्र भएको पक्की पुल। तस्बिरः नागरिक

तेह्रथुम– तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माण कार्य अलपत्र परेको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत म्याङलुङ–संक्रान्ती सडक खण्डमा रहेको खोरुङवा खोलामा पुल नबन्दा वर्षाले खोलामा पानीको बहाव बढेपछि सवारी आवतजावत ठप्प नै भएको छ।

०७४ पुसभित्रै काम सम्पन्न गर्न सम्झौता गरिएको निर्माण कम्पनीले काम छाडेर बेपत्ता भएपछि म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिका बीचमा रहेको खोरुङवा खोलामा पक्की पुल अहिले अलपत्र नै भएको छ। बर्खायाममा खोलामा पानी बढेकाले आवतजावतमा अत्यन्तै समस्या भएको यात्रु प्रदीप रिमालले बताए। एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर आह्वान गरी २०७३ सालमा कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो।
 
निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने काम सुरु गरेसँगै बीचैमा छाडेर लापत्ता भएको छ। खोलामा पानी बढेपछि पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेले जीर्ण अवस्थामा रहेको झोलुंगे पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। खोलामा पानीको बहाव बढेसँगै अहिले वर्षायाममा सवारी साधनहरू आवतजावत गर्न समस्या भएको छ। खोलामा पानीको बहाव बढ्दा सवारीसाधनहरू वारि र पारि नै रोकिने गरेका छन्।

पुल निर्माणका लागि अनुमानित लागत ५ करोड ९० लाख १ हजार रुपैयाँ तय गरेकोमा ४ करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी कोसी एण्ड न्यौपानेले जिम्मा लिएको थियो। सम्पर्कविहीन रहेको कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई ताकेता गरेर तत्काल काम सुचारुका लागि पहल थालिने म्याङलुङ नगरपालिका प्रमुख सञ्जय तुम्बाहाम्फेले बताए।
 
पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेबल पुल निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छाडिएको पाइन्छ। सडक बन्यो तर पुल नबन्दा सडक प्रयोगविहीन भएको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App