७ वैशाख २०८१ शुक्रबार
समाज

पुल बगाउँदा सकस

तत्कालका लागि कामचलाउ पुल बनाइँदै। तस्बिरः नागरिक

जुम्ला– अविरल वर्षासँगै आएको बाढीले तिला नदीमाथिको पुल बगाएपछि स्थानीय तीन किलोमिटर पैदल यात्रा गरेर वैकल्पिक पुल प्रयोग गर्न थालेका छन्। नदीमा पानीको बहाव बढेर तर्न नसकिने भएकाले बाध्य भएर तीन किलोमिटर हिँडेर अर्को पुल प्रयोग गर्नु परेको हो।

तातोपानी गाउँपालिका–४ का स्थानीयले पुल बगाउँदा निकै सास्ती पाइराखेका छन्। उनीहरूले तातोपानी गाउँपालिका केन्द्र तिलाकोटमा जाँदा दुई किलोमिटर तल हिँडेर बाबिरा पुल तर्नुपर्छ। सदरमुकाम खलंगा जाँदा तीन किलोमिटर माथि  उमगाडमा रहेको पुल प्रयोग गर्नु परिरहेको छ।

तातोपानी गाउँपालिका–४ र ५ जोड्ने ऐतिहासिक महत्व बोकेको काठको पुल २०४७ सालमा बनको थियो। साउन २१ गते नदीले बगाएपछि स्थानीय कष्टकर जीवन गुजार्न बाध्य छन्।  काठेपुलसँगै तातोपानी–४ बाट वडा नम्बर ५ मा आउने खानेपानीको पाइपमा क्षति पुगेको छ, जसले गर्दा खानेपानी समस्या भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख सीताराम रिजालसहित जिल्लास्थित सुरक्षा निकायले स्थलगत अवलोकन गरेर तत्काल पुल निर्माणको काम गर्न स्थानीय सरकारले सुझाव दिएको छ। स्थानीयको दैनिक जनजीवनलाई सहज बनाउनका लागि वारपार गर्ने पुल अनिवार्य भएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन्।

खानेपानीको व्यवस्थापन तथा आवतजावत कार्य सञ्चालन गर्नका लागि तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेसँग समन्वय भइरहेको उनले बताइन्। भत्किएको पुलको काठको संरक्षण गर्नका लागि स्थानीयको चासो देखिएको छ।  यसै गरी तिला गाउँपालिकाको लुम्सेरा गाउँ नजिकैको पुल नदीले बगाउँदा जनजीवन निकै प्रभावित छन्। खेतीपाती गर्न नदी पारि जानुपर्ने भएकाले निकै समस्या भइरहेको छ। नजिकै बन्न लागेको ट्रस पुल बनिसकेको छैन।

काठको पुल बगाउँदा दुई किलोमिटरको कुडारी काठेपुल तरेर खेतीपातीको रेखदेख गर्नुपरेको स्थानीय बताउँछन्। स्थानीयले तत्काल पुनः निर्माण गरेर सहज आवतजावतको व्यवस्था मिलाइदिन स्थानीय सरकार समक्ष आग्रह गरेका छन्।
तिला नदीले बगाएर लिएको तातोपानी गाउँपालिका–४ र ६ अन्तर्गत हाँकु पुलको विषयमा गाउँ कार्यपालिकाको आकस्मिक बैठक बसेको छ। बैठकले जनताको दैनिक जीवनसँग जोडिएको समस्या विश्लेषण गर्दै तत्कालका लागि सामान्य आवतजावत गर्ने पुल निर्माणको लागि काम सुरु गर्ने निर्णय गरेको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App