व्यक्ति

पढेर होइन परेर पत्रकार

शनिबार, २५ साउन २०७६, १० : ४४ गुणराज लुइँटेल  | @gunaraj

पत्रकार भैरव रिसाल अहिले पनि लेखिरहेका छन्। साउन २९ गते उनी ९२ वर्ष प्रवेश गर्दै छन्। यसै दिन उनको संस्मरणात्मक कृति समेत प्रकाशित हुँदैछ। अखबारमा नियमित लेख्दै आएका सक्रिय पत्रकार रिसालसँग इतिहासका अनेकन रोचक घटना छन्।

उनलाई पत्रकारिताबारे सोध्ने क्रममा शुक्रबार भने, ‘मैले पत्रकारिता गर्दा ‘अफ द रेकर्ड’ (जानकारीमा आए पनि नछाप्नू) भनेको बुझ्दैनथे। पछि बुझे। ‘इम्बार्गो (सामग्री अहिले पाए पनि तोकिएको समयमा मात्र छाप्ने) भन्ने बुझ्दैनथे पछि बुझेँ। ‘ब्यानर हेडलाइन’ (शीर्ष समाचार) भनेको बुझ्दैनथे। पछि बुझेँ। म पत्रकारिता पढेर पत्रकार भएको होइन परेर पत्रकार भएको हो। त्यही भएर पढेर बनेका पत्रकारको भन्दा मेरो अनुभव फरक छ।’

२०१३ सालबाट ‘हालखबर’ दैनिक मार्फत् पत्रकारितामा लागेको उनी अहिले नागरिकलगायतका अखबारमा नियमित लेख्छन्। रेडियो सगरमाथामा नियमित बोल्छन्। केही साताअघि ‘आँखा नगाडौं शिवपुरीमा’ भन्ने लेखले आम चर्चा पाएको छ। त्यसलाई लिएर धेरैले उनीसँग कुराकानी गरेका छन्।

उनी अविच्छिन्न रुपमा यी वर्षहरूमा पत्रकारितामा लागिरहे। बीचमा अढाइ वर्ष पार्किनसनले कलम चलाउन नसक्दा पनि मुखले बोलेर गरिने पत्रकारितालाई रेडियो सगरमाथा मार्फत् बोलेरै निरन्तरता दिए।

‘बीचमा अढाइ वर्ष पार्किन्सनले गर्दा कलम समाउन हातले सकेन। लेख्न छुट्यो। बीचमा रेडियो सगरमाथामा मुख चाहिँ चलिरह्यो। बीचमा लेख्न पाएको थिइँन, थेरापी गरेर, औषधि खाएर अहिले कलम चलाउन सक्ने भएको छु। अहिले मेरा हातले लेख्छ, दाह्री काट्छ। डाक्टरलाई देखाएको उहाँले औषधि दिनु भयो। थेरापी छन्– पाँच/सातवटा।’

डाक्टरले दिएका थेरापी अभ्यासमा बुढी र चोरी औंलाको टुप्पा एकअर्कालाई जोड्ने, हात थर्थराउने, सियोमा धागो हाल्ने, ताला खोल्ने लगायत छन्। दाह्री, नङ आफैं काट्नु पनि थेरापी अन्तर्गतकै काम हुन्। उनी यसलाई निरन्तरता दिन्छन्। अनि निरन्तर लेखिरहेका छन्।

जगदीश घिमिरेले ‘अन्तर्मनको यात्रा’मा जीवनदर्शनबारे लेखेका छन्। दाह्री काट्ने र नङ काट्ने भन्ने उनको किताबमा नदेखेपछि त्यसलाई पनि समावेश गर्न सुझाव दिएका थिए। ‘मैले यो पनि ठूलो कुरा हो भनेँ,’ रिसाल सम्झिन्छन्, ‘अनि उहाँले म अर्को संस्करणमा थप्छु् भन्नुहुन्थ्यो। थप्नु भयो/भएन मलाई थाहा भएन।’

आफ्नो जन्म दिन निकट भइरहेको मौका पारेर भैरव दाइलाई पत्रकारिता थालनीका दिन सम्झिन लगाउँदा उज्याला हुन्छन्। ‘त्यो बेलाको पत्रकारितामा सिसाका अक्षर कम्पोज हुन्थे। फेरि डिकम्पोज (छापिसकेपछि सिसाका अक्षर खट्प्वालजस्तो यथास्थानमा राख्ने) गर्नु पथ्र्यो। समाचार कम्पोजपछि ग्याली प्रुफ (सिलौटामा लोहोरोले मसला पिसेजसरी न्युजप्रिन्टमाथि राखेर रोलरले अक्षर छाप्ने र शुद्धाशुद्धी हेर्ने तरिका) निकाल्नु पथ्र्यो। ग्याली प्रुफ हेरेर फाइनल गरेपछि बल्ल अखबार निस्किन्थ्यो।’

उनको सम्झनामा त्यो बेला कम्पोज गर्नेहरूको भोज प-यो भने दुई/तीन दिन कुनै पनि अखबार निस्किदैनथे। समाज, हालखबर आदि अखबार निस्कन्थे। नेपाली कांग्रेसका पनि विभिन्न नामका अखबार थिए। एउटा प्रतिबन्धित भयो भने अर्को निकाल्नका निम्ति विभिन्न नामका अखबार दर्ता गरिएका हुन्थे।
पत्रकारितामा लाग्न केले आकर्षित ग-यो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘काम नपाएर।’

उनी संस्कृतका विद्यार्थी। शास्त्री अर्थात् स्नातक बराबरको अध्ययन गरे पनि मान्यता नपाएको बेला थियो। संस्कृत छात्रसंघले आन्दोलन गरेपछि बल्ल उनी लोकसेवा दिन सक्ने भए। आन्दोलनपछि लोकसेवा आयोगले ग्य्राजुएट अफिसर भनेर माग्यो। लिखित मौखिक दुबैमा पास भएपछि गोर्खापत्रमा नाम छापियो। तर कम्युनिष्ट पार्टीको सदस्यता २००९ सालमै लिइसकेको जानकारी राज्यलाई भएका कारण उनले जागिर पाएनन्। ‘त्यसपछि म भौतारिएँ,’ उनी भन्छन्, ‘मेरो घरको दायित्व थियो, भाइबहिनी पढाउनु पथ्र्यो, बालाई सघाउनु पथ्र्यो।’

‘मैले निकै दुःख पाएँ’, उनी भन्छन्, ‘नून किन्न पनि नसक्ने गरी दुःख पाइयो। घरमा कोही पाहुना आयो भने चिया खाने भनेर सोध्यो। खाने भनेपछि चिनी ल्याउन पैसा ल्याउनु होस् भनेर माग्ने स्थिति आयो। अनि चिनी किन्यो अरु दुईचार छाकलाई त्यसैबाट पु-यायो। मेरो त्यस्तो जीवन भयो।’

भक्तपुर दधिकोटका रिसालले कटुञ्जे निवासी तत्कालीन राजा महेन्द्रका जनसम्पर्क अधिकृत पूर्णप्रसाद उपाध्यायलाई भेट्न पुगे उनी। उपाध्यायले लेखिदिएको एउटा चिर्कटो लिएर ‘हालखबर’ पत्रिकाका मालिक रंगनाथ शर्मालाई भेट्न उनी पुगे। उपाध्यायले उनलाई धाराका निम्ति निवेदन लेख्न अह्राए। त्यो निवेदनभन्दा निबन्ध बन्यो। उनले यसरी लेख्ने होइन भन्दै काटकुट पारे। वास्तवमा त्यो उनले जाँचेको रहेछ।

अन्ततः रिसाल त्यो अखबारमा एक सय रुपैयाँ मासिक तलब पाउने गरी जागिरे भए। साथमा एउटा नयाँ साइकल पनि पाए। ‘साइकल भएकाले म पावरफुल पत्रकार भएँ,’ उनी भन्छन्, ‘आफ्नो मातहतमा साइकल हुनु भनेको अहिले आफ्नो मातहतमा हेलिकोप्टर भएसरह हो।’

त्यहाँबाट उनको ‘साइकल पत्रकारिता’ सुरु भयो। साइकलले उनलाई साँच्चिकै शक्तिशाली पत्रकार बनायो। यसले उनको पहुँच बढायो।

आखिर के कुराले उनलाई सबैको पत्यारिलो पत्रकार बनायो ? उनले सुरुदेखि नै कसैले समाचार दियो भने उसको नाम सार्वजनिक नगर्ने बानी गरे। त्यसले उनीप्रति सबैको विश्वास बढ्यो। पत्रकारितामा यसैलाई स्रोतको संरक्षण भनिन्छ भन्ने थाहा नहुँदै उनले यस्तो अभ्यास गरेका थिए। उनी भन्छन्, ‘स्रोतलाई सुरक्षित राख्नु साह्रै ठूलो गुण हुँदो रहेछ। त्यो ठूलो सम्पत्ति हुँदो रहेछ। त्यसले गर्दा मलाई सबै नेताले र शासकले पत्याउने स्थिति भयो।’
२०१५ सालको आम निर्वाचनका समाचार काठमाडौं आसपासबाटै गरे। धेरै टाढा जान त्यो बेला सहज थिएन।

त्यो बेला पत्रकार संख्या थोरै भएका कारण मान्यता भने ठूलो थियो। संसदमा सांसदहरू पत्रकार दीर्घातिर हेरेर बोल्थे। तिनलाई हेरेर बोल्यो भने समाचार छापिन्छ भन्ने तिनलाई थियो। संसदमा सर्लाहीका सांसद निस्तार रायले पत्रकारलाई हेरेर बोलेको देखेपछि तत्कालीन समामुख कृष्णप्रसाद भट्टराईले आफूतिर फर्केर बोल्न लगाएको अहिले पनि सम्झिन्छन्।

सिंहदरबार ग्यालरी बैठकमा क्यान्टिन थियो। त्यहाँ चिया खान पाइन्थ्यो। पत्रकारलाई चिया ख्वाउन पाउँदा सांसदहरू खुसी हुन्थे। आफूहरूलाई सांसदले संकेत गरेर चिया खान बोलाएको उनका आँखामा अहिले पनि झल्झली छ। ‘त्यो बेलामा साह्रै इज्जत थियो,’ त्यो बेलाको स्थितिसँग तुलना गर्दै उनी भन्छन्, ‘अहिले पत्रकारको इज्जत एकदमै घटेको छ।’

रिसाललाई पत्रकार भए पनि सरकारी जागिर खाने चस्का छदै थियो। २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डल गठन भएपछि चिनजान र आफ्नो प्रयास समेतले उनी २६ महिना केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृत पदमा कार्यरत थिए। २०१८ सालको जनगणना र २०१८÷०१९ सालको कृषि गणना गराउनु पर्ने थियो। २०१७ सालको पुस १ गते तालिममा खोपासी भएकै बेला शाही कु भएको थियो। त्यो जागिर अवधिमा सुदूर पश्चिममा डोटी, वैतडी, डढेल्धुरा, बझाङ, दार्चुलाको उनले जनगणना गराएका थिए। लिम्पियाधुराको जनगणना गराएका कारण यसको बारेमा जानकारी भयो। एक वर्ष मेची अञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा काम गरे। २६ महिनाबीचमा सुदूर पश्चिम र सदूर पूर्वमा काम गर्ने मौका पाए। उनी थप्छन्, ‘मैले नेपाल चिनेँ। लिम्पियाधुरा हाम्रो हो भन्ने स्थापित गर्न पनि मद्दत गर्न सकेँ।’

२६ महिनापछि धेरैको म्याद थपियो। रिसाललगायत थोरैको म्याद थपिएन। ‘मैले निकै दुःख पाएँ’, उनी भन्छन्, ‘नून किन्न पनि नसक्ने गरी दुःख पाइयो। घरमा कोही पाहुना आयो भने चिया खाने भनेर सोध्यो। खाने भनेपछि चिनी ल्याउन पैसा ल्याउनु होस् भनेर माग्ने स्थिति आयो। अनि चिनी किन्यो अरु दुईचार छाकलाई त्यसैबाट पु-यायो। मेरो त्यस्तो जीवन भयो।’

यसबीच सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) गठन भएको थियो। त्यसमा पत्रकारको खोजी भयो। उनले पनि जाँच दिए। यो २०२० सालतिरको कुरा। अंग्रेजीको पनि एउटा प्रश्न थियो। अंग्रेजी नभएकै कारण उनी असफल भए। अरु धेरैजना पास भए। पासमध्ये एकजनालाई पत्रकारिता मन परेनछ। उनी सरकारको अर्को पदमा गएपछि खाली भएको ठाउँ यिनले पाए।

त्यसको पनि आफ्नै रोचक कथा छ। उनी भन्छन्– ‘मलाई दरबारले बोलाएर दियो। २०१४ सालमा राजा महेन्द्र सुदूरपश्चिमको भ्रमणमा गएका बेला दुई पत्रकार संघमध्ये एउटाबाट म र अर्कोबाट जयन्द्र थपलिया थियौं। त्यहाँ मेरो काम देखेर राजाका प्रमुख संवाद सचिव रेणुलाल सिंहलाई जाँचमा फेल भए पनि यसले काम गर्छ भन्ने भएछ। अनि मलाई बोलाएर संवाददातामा राखे। त्यो बेलामा २ सय ७५ रुपैयाँ तलब थियो। रेणुलालले संवाददाता मात्र होइन भाषा पनि हेरिदिनु पर्छ भन्नु भएको थियो। चार वर्षपछि म प्रमुख समाचारदातामा बढुवा भएँ।’

२०४२ वैशाख १ सम्म उनले राससमा काम गरेँ। अनि राजीनामा गरेर हिँडेँ। जनमत संग्रहमा अलि स्वतन्त्रता थियो। ‘प्र’ (प्रतिबन्धित) नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला वा अन्य नेताका अगाडि यही राखेर समाचार लेख्न सकिने भएको थियो। ‘२०३७ सालमा सुधारिएको पञ्चायती व्यवस्थाले जितेपछि व्यवहारमा बिगारिएको पञ्चायत आयो। पहिले जनमत संग्रहमा स्वतन्त्रता नपाएको भए म त्यहाँ बस्थेँ होला। ठाउँ साँघुरो लाग्यो। अनि मलाई छोड्न मन लाग्यो। राजीनामा गरेपछि अर्को ठाउँमा काम गर्नुप-यो। परिवार पाल्नु प-यो।’

देवेन्द्रराज पाण्डेले नेतृत्व गरेको इन्टिग्रेटेड डेभलपमेन्ट सिस्टम (आइडिएस) भन्ने संस्था थियो, त्यहाँ गएर उनले सोधेँ, ‘म अंग्रेजी नजान्ने मान्छेको काम छ कि छैन, डाक्टर साब ?’

पाण्डेले सामाजिक क्षेत्र त्यसै खाली छ आउनुहोस् भन्नुभयो। उनको काम आलु विकासमा किसानलाई उत्प्रेरित गर्ने थियो। त्यो सामाजिक बैज्ञानिक भन्ने पद रहेछ। उनले पहिलो पटक सुनेको हुन्। त्यसको पनि ठूलो काम रहेछ। उनले जनताले बुझ्ने गरी बोल्ने योग्यताले गर्दा काम गरेँ। मैले चार वर्ष काम गरेपछि २०४८ सालमा वहुदल स्थापना पश्चात नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दियो। भक्तपुर २ बाट उम्मेदवार भएपछि उनले आइडिएर छोडेँ। चुनावमा १३ सय मतले कांग्रेस नेता जगन्नाथ आचार्यसँग उनी पराजित भए।

अन्ततः रिसाल त्यो अखबारमा एक सय रुपैयाँ मासिक तलब पाउने गरी जागिरे भए। साथमा एउटा नयाँ साइकल पनि पाए। ‘साइकल भएकाले म पावरफुल पत्रकार भएँ,’ उनी भन्छन्, ‘आफ्नो मातहतमा साइकल हुनु भनेको अहिले आफ्नो मातहतमा हेलिकोप्टर भएसरह हो।’ त्यहाँबाट उनको ‘साइकल पत्रकारिता’ सुरु भयो। साइकलले उनलाई साँच्चिकै शक्तिशाली पत्रकार बनायो। यसले उनको पहुँच बढायो।

निर्वाचनमा पराजित भए पनि उनको आफ्नो पेशाले फेरि आश्रय दिन्छ। यसबीच वातावरण पत्रकार समूह गठन भयो। त्यसमा काम लाग्ने ठानेर उनी बोलाइए। उनी सक्रिय भए। काम गरे। रेडियो सगरमाथा खोल्न धेरै मेहनत भयो।
उनी भन्छन्, ‘म पत्रकारितालाई अवकास नहुने पेशा भन्छु। हात नभए मुख हुञ्जेल, मुख नभए हात हुञ्जेल यसमा बाँचिरहँदो रहेछ।’

अहिले झनै सशक्त पत्रकार बनेका छन् सबैका प्रिय भैरव दाइ। भन्छन्, ‘अहिले मलाई गन्न थाले। अहिले स्वतन्त्रता छैन भन्दा भन्दै पनि लेख्न पाइन्छ। अहिले लेखे बापत थुनिएको छैन, वा कम थुनिएका छन्। राज्यले ९२ वर्ष लाग्न लागेका मानिसलाई थुन्दैन होला भनेर लेखिरहेको छु।’

उनको जीवनको अभिन्न अंग हो। पत्रकारमा निरन्तर जिज्ञासा हुनुपर्छ। मैले शुक्रबार बिहान उनलाई भेटन जाँदा समेत राणाकालमा तत्कालीन श्री ३ का हजुरिया जर्नेलले राति तोप पड्केपछि हिड्ने व्यक्तिलाई दिइने कफ्र्यु पासको सांकेतिक शब्दबारे विभिन्न व्यक्तिलाई सोधेको बताइरहेका थिए। अंग्रेजीको ‘प्यारोल’ शब्दबारे त्यतिबेलाका जानकारलाई सोध्ने उनको चलन छ। अहिले पनि उनी फोन वा सम्पर्कबाटै खोजी गरिरहेका हुन्छन्।

गुगलको जमाना छ। तैपनि उनी मानिसलाई सोध्छन्। पहिले डायरी पनि लेख्थे। पत्रकारलाई डायरी लेखनले काममा सजिलो पार्छ भन्ने उनको अनुभव छ। एकजना प्राध्यापकले फलानाको मलामी गएँ भनेर डायरीमा लेखिएको प्रशंग उल्लेख गर्दै उनी भन्छन्, ‘यस्ता प्रशंग पछि निकै महत्वका हुन्छन्।’

यी पाका र जाँगरिला पत्रकारलाई अहिलेका पत्रकारका निम्ति केही उपाय दिन आग्रह गर्दा भने: आफूले नजानेको सोध्नू, सोध्नुभन्दा अगाडि राम्ररी पढ्नू, परिश्रम गर्नू, विश्वसनियता कमाउनू।

पत्रकार मात्र होइन उनको आग्रह नेताहरूलाई पनि छ। पत्रकारले प्रश्न गर्छन्। तर, यहाँ नेताले प्रतिप्रश्न गर्दैनन्। नेताले पनि पत्रकारलाई सोध्ने हो भने धेरै कुरा फरक पर्छ। सन् १९७०–७४ सम्म बेलायतका प्रधानमन्त्री रहेका एडवार्ड हिथको एउटा प्रशंग उनले सुनाए। बेलायत सरकारको मुख्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री पत्नीले भोज आयोजना गर्नुपर्ने प्रचलन भएको प्रशंग सुनाउँदै अविवाहित हिथलाई एक महिला पत्रकारले यो वर्ष कस्ले भोज आयोजना गर्छ ? भनेर सोधेकी रहिछन्। उनले तत्काल सोधेछन्, ‘तपाईंले विवाह गर्ने प्रस्ताव राखेको ठानौं म।’

प्रधानमन्त्री हिथको जवाफले पत्रकारले रातो मुख लगाउनु परेको प्रशंग उल्लेख गर्दै उनी भन्छन्, ‘नेता गतिला भएनन् भने पत्रकार पनि गतिला हुँदैन।’

आफ्नो बेलाका नेताले भने त्यस्तो प्रतिप्रश्न गर्ने गरेको अनुभव रिसालको छ। नेता एवं पूर्व प्रधानमन्त्री टंकप्रसाद आर्यार्यले एक पटक उनलाई सोधेका थिए– ‘ए भैरव तिमीहरूले सिआइडी गर्नुपर्छ कि पर्दैन ? पत्रकारले सिआइडी गर्छ भन्ने रहेछ। यहाँ हिन्दूस्तानका पत्रकारले के के गर्थे के के ? मैले चाहिँ पर्दैन सान्दाइ भनेको छु। उहाँ सीधै सोध्नुभयो। मलाई खुसी लाग्यो। भैरव दाइले हाँस्दै कुरा टुंग्याए।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad