छोरी भएर पढ्न जान लाज हुँदैन ? भनेर हप्काउँथे: शान्ता गौतम

शनिबार, २५ साउन २०७६, १० : ५७ श्रीराम राई

विसं २०५१ सालमा नेपाल सरकारले मेरो गीत कक्षा–२ को कक्षागत गीतमा छनोट गरेपछि लेखनीले गति लिएको हो।  मोफसलमा बसेर सिर्जना गरिरहेको मलाई यो त्यतिबेला ठूलै पुरस्कार थियो।  मैले मेरो गीत यसरी छनोट हुन्छ भन्ने पटक्कै सोचेकी थिइनँ।  विद्यालयमा नानीहरूलाई नयाँनयाँ तरिकाका क्रियाकलापहरू गराइन्थ्यो।  स्थानीय स्रोतसाधनहरूको प्रयोगद्वारा नानीहरूलाई कसरी अगाडि बढाउन भन्ने धुनमा लागिन्थ्यो।  एकोहोरो पढिरहँदा नानीहरूलाई दिक्क नहोस् भनेर म कहिलेकाहीँ आफूले संकलन गरेका रचनाहरू सुनाउने गर्थें।  उनीहरूलाई कविता र गीत लेख्न लगाएर प्रतियोगी कार्यक्रमहरूमा समावेश गराइन्थ्यो।  म पनि उनीहरूका लागि कविता र गीत लेख्थें।  सामुदायिक विद्यालयको कक्षा –२ मा रहेको ‘आज हामी सानासाना फूलको कोपिला’ भन्ने कक्षागत गीत त्यसै अवधिमा लेखिएको हो।  २०५१ सालमा विमोचन भएको  त्यो गीत कक्षागत गीतको रूपमा रहेको छ। 

म २०३५ भदौदेखि २०७४ साल वैशाख २० गतेसम्म शिक्षण पेसामा संलग्न रहें।  त्यतिबेला पनि पाठ्यपुस्तकमा बालसाहित्यको स्थिति राम्रो थियो।  पाठ्यपुस्तकमा नानीहरूलाई उपयुक्त हुने कथाकविताहरू हुन्थे।  मलाई उनीहरूलाई अन्य खुराकहरू पनि पस्किनुपर्छ भन्ने लाग्थ्यो।  त्यसैले म हौसला बढाउने खालेका रचनाहरू गरिरहन्थेें।  शिक्षण पेसामा लाग्ने व्यक्तिहरू नानीहरूजस्तै भइने रहेछ।  हाम्रो बानीव्यवहार पनि उनीहरूको जस्तो भएर जाने रहेछ।  उनीहरू खेले खेल्ने र हाँसे हाँस्न मन लाग्ने रहेछ।  हामीले उनीहरूलाई कसरी खुसी पार्ने भन्ने कुरा सोच्नु पर्ने रहेछ। 

अहिलेका नानीहरू भविष्यका कर्णधार हुन्।  उनीहरूमा पनि राष्ट्रको दायित्व रहन्छ भन्ने खालकोे भावना जगाउनु पर्छ।  उनीहरूलाई जस्तो सिकायो त्यस्तै सिक्छन्।  त्यसैले हामी नमुना बन्न सक्नु पर्छ।  उनीहरूलाई केही कुरा लाद्नु हुँदैन।  उनीहरू खुला र मनोरञ्जन मन पराउँछन्।  त्यसैले उनीहरू कसरी खुसी हुन्छन्,हामीले त्यही तरीका अपनाई पढाउनु पर्ने रहेछ।  बालसाहित्य सिर्जना गर्न पनि बालमनोविज्ञान राम्ररी  बुझ्नु आवश्यक छ।  उनीहरूलाई सिर्जनात्मक बनाउनु यस्ता रचनाको ध्येय हुन्छ।

साहित्य क्षेत्रमा साहित्यकारहरूले निरन्तर रूपमा कलम चलाइरहेका छन्।  साहित्यिक विधाले राज्यको सम्पूर्ण अंगहरूलाई छोएको छ।  राज्यले लेखकहरूको खोजी गर्न त गरेको छ।  तर, राज्यलाई कस्ता लेखकलाई कसरी सम्मान गर्नुपर्छ भन्ने अझैे चेतना नभएको हो कि जस्तो लाग्छ।  यसमा राज्य सचेत हुनु पर्छ।  लेखकहरूले राज्यका लागि सम्पत्ति आर्जन गर्ने बाटो अँगालेको हुन्छ।  राज्यले अगाडि बढेका लेखकहरूलाई मात्रै दोहो¥याईदोहो¥याई मानसम्मान र पुरस्कृत गर्नुभन्दा लामो समयदेखि आफ्नो विधामा लागेका व्यक्तिहरूको खोजी र सम्मान गरिनु पर्छ।  मैले प्रायः स्रष्टाहरूको मनोभाव त्यस्तो हुन्छ भन्ने बुझेकी छु र म पनि भन्छु, ‘कसैले राज्यका लागि केही गरेको छ भने राज्यले पनि उनीहरूलाई जीवित हुँदै केही गर्नुपर्छ। ’

कक्षा–२ को कक्षागत गीत लेख्दा सानोतिनो भए पनि पुरस्कार र सम्मान गरेको थियो।  मभन्दा अग्रज स्रष्टाहरू धेरै हुनुहुन्छ।  राज्यले उहाँहरूको खोजी गर्नुपर्छ।  अहिले त झन् स्थानीय र प्रान्तीय सरकार पनि छन्।  सरकारले आफ्नो क्षेत्रमा को कहाँ छन् र को कसरी चलिरहेका छन् भन्ने खोजी गरोस् भन्ने चाहन्छु म। मेरो जन्म २०१५ साल वैशाख २० गते पाँचथरको फिदिममा भएको हो।  फिदिम मावि फिदिम, पाँचथरबाट २०२० सालदेखि मेरो औपचारिक अध्ययन सुरु भएको हो।  मैले त्यहीँबाट २०३५ सालमा एसएलसी गरें।   त्यहीँ  पढाएर सेवा निवृत्त भएँ।  हाम्रो पालामा अहिले जस्तो छोरीलाई अनिवार्य रूपमा पढाउनुपर्छ भन्ने सोच थिएन।  बुबाले समेत छोरी मान्छेले पढ्नु हुँदैन भन्नुहुन्थ्यो।  फलाना बाहुनीकी छोरी पढ्न गई।  अब पोइल जान्छे भनेर धेरैले औँल्याए मलाई।  बाटोमा कसैकसैले पढ्न जान लाज हुँदैन ? भनेर हप्काउँथे।

मेरो घरबाट विद्यालय नजिकै थियो।  चारपाँचमिनेटमै विद्यालय पुगिन्थ्यो।  म घर फर्केपछि हजुरबालाई फलानाले यसोयसो भने भनेर सुनाउने गर्थें।  उहाँले अरूले जेसुकै भनोस् न,भनेर केही हुँदैन भनेर सम्झाउनुहुन्थ्यो।  म पढ्न गइरहें। 

हामीले पढ्दा सहज वातावरण थिएन।  घरमा धेरै काम गर्नु पथ्र्यो।  बिहान गाईवस्तुलाई घाँस काटेर हतारहतार स्कुल जानु पथ्र्यो।  कहिलेकाहीँ ढिलो पुगेर स्कुलमा सजाय पाइएला कि भन्दै भातै नखाई स्कुल गइन्थ्यो।  हामीलाई धेरै पाठ घोक्नु पथ्र्यो।  त्यतिबेला सल्लाको दियालो बालेर पढ्नु पथ्र्यो । बुबाआमाले बिहे गरेको १८ वर्षपछि म जन्मेको हुँदा हजुरबाले मलाई धेरै माया गर्नुहुन्थ्यो।  उहाँले नै मलाई डो¥याउँदै स्कुल पु-याउनु हुन्थ्यो।  स्कुलबाट फर्केपछि मेरी नातिनी आइन् भन्दै काखमा लिएर म्वाइँ खानुहुन्थ्यो।  सुरुसुरुमा स्कुल जाँदा निकै रोएँ।  सरले म घर पु¥याउँछु भन्दै सम्झाउनुहुन्थ्यो र बिस्तारै बानी पर्दै गयो।  हजुरबाले काठको पाटी बनाउनु भएको थियो।  स्कुलमा काठमा रातो माटोमा औँला घुमाएर ‘कखरा’ सिकियो।  कख लेख्दा धेरै तरिका अपनाइयो।  बत्ती बालेको ध्वाँसोको मसी र बाँसको कलम बनाएर भालु बाँसको पट्याँसमा पनि कख लेख्न सिकियो।  धुलोमा लेखेर, पट्याँसमा लेखेर र ढुङ्गा भेला गरेर भुइँमा कख लेख्न सिकियो। 

मेरा तीन जना धेरै मिल्ने साथी थिए।  उनीहरू पढाइबाट वञ्चितै थिए।  पछि म फिदिम माविमा पढाउँदै गर्दा उहाँहरू प्रौढ शिक्षा पढ्दै हुनुहुन्थ्यो।  चौथो कक्षासम्म म एक्लै छात्रा थिएँ।  कक्षा –५ मा हुँदा २ जना साथी आएपछि ३ जना छात्रा भयौैं।  पहिले अहिले जस्तो कुनै कार्यक्रम हुँदैन थियो।  कहिलेकाहीँ सामान्य नाटकहरू हुन्थ्यो।  कुनैकुनै नाटकहरूमा म बालपात्रको भूमिका निर्वाह गर्थेें।  म अलिअलि नाच्थें पनि।  कापी र पेन्सिल पुरस्कार पाउँदा रमाइलो लाग्थ्यो। 

हाम्रो पालामा घोकेन्ते विद्या थियो।  घोकेर नगए गुरुबाट सजाय पाइन्थ्यो।   अहिले देशमा आमूल परिवर्तन आएको छ।  राज्यले बालबालिकालाई यातना दिन र फेल गर्न नपाइने नीति लिएकोे छ।  हामीले उनीहरूलाई खुसीमा पढ्न पाउनु पर्ने वातावरण सिर्जना गर्नुपर्छ।  अहिले गाएर, नाचेर या कसो गर्दा उनीहरू खुसी हुन्छन् भनेर ध्यान दिइएको हुन्छ।  म राम्रो कामको नतिजा राम्रो र नराम्रो कामको नतिजा नराम्रो हुन्छ भन्ने सन्दर्भ जोडेर पढाउँथें।  उनीहरूलाई कसरी राम्रो बाटोमा डाे-याउने भनेर सोचिरहन्थें।

सरहरूले हामीलाई स्कुल पढ्दा कविता सुनाउनु हुन्थ्यो।  मीठो कविता सुन्न पाउँदा हामी मक्ख पथ्र्यौ।  हामीलाई पनि त्यस्तै कविता लेखेर सुनाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो।  त्यस्तो सोच हुँदाहुँदै कविता लेखेर कविता गोष्ठीमा भाग लिन थालें।  कार्यक्रममा भाग लिएर एउटा कलम र कापी पुरस्कार पाउँदा धेरै मजा लाग्थ्यो।  मैले पढाउँदै गर्दा २०४६ सालमा ‘नौलो साहित्यिक बिहान’ भनेर एउटा साहित्यिक संस्था गठन भएको थियो।  महिनाको पहिलो शुक्रबार सिर्जनात्मक कार्यक्रम हुन्थ्यो।  त्यहाँ कविता वाचन गर्न थालें।  त्यसैबेला ‘इन्द्रावती’ पत्रिकामा ‘देशको निम्ति जागौं न’ भन्ने कविता छापिँदा म प्रफुल्ल भएँ । 

विसं २०४३ सालमा नेपाल स्काउट कार्यक्रम पनि लागु गरेका थियौं।   त्यसबेला नेपाल स्काउटको प्रथम जेम्बुरी भएको हुँदा भाग लिन हामी काठमाडौं पुगेका थियौं।  हामी रेडियो नेपाल, सिंहदरबारमा पाण्डव सुनवारलाई भेट्न भनेर गयौं।  उहाँले ‘चौतारी’ कार्यक्रम चलाउनु हुन्थ्यो।  उहाँसित परिचय ग¥यौं।  उहाँले ल रेडियो नेपालमा पाँचथरको कुनै चिनो छोडेर जानुस् भन्नुभयो।  उहाँले  त्यसो भन्नु भएपछि मैले एक छेउमा बसेर ‘लालीको डाँडा गुराँसै बनमा बन चरी रमायो’ शीर्षकको छोटो गीत लेखें।  त्यसपछि साथी र मैले रेडियो नेपालमा गीत रेकर्ड गरायौं। 

म विद्यार्थीले साहित्यमा पनि चासो राखून् र मनोरञ्जनको माध्यमबाट अगाडि बढून् भन्ने चाहन्छु।  मलाई बालकथा लेख्न दुई जना नातिबाट पनि हौसला मिलेको छ।  नाट्य क्षेत्रमा लागेर नाटक देखाउन कक्षा –८ मा पढ्दै गरेको नाति अञ्चित ढुंगाना अस्ट्रेलिया र युरोपको बेलारुस पुगेर आयो।  ऊ पनि लेख्छ ।  मेरा छोरी कमला अत्री र जुवाइँ गोपीकृष्ण ढुंगाना दुवै लेख्नुहुन्छ।  नाति अञ्चितलाई बाबुआमा र मेरो पनि प्रभाव परेको छ।  तर, मेरो परिवारमा लेखक कोही थिएनन्।  आमा र हजुरआमा निरक्षर हुनुहुन्थ्यो।  मेरा हजुरबा र बाबु सामान्य लेखपढ गर्न सक्नुहुन्थ्यो।  अहिलेको बालसाहित्य छोटो,मीठो र नानीहरूलाई हौसला बढाउने खालको हुनुपर्छ। 

हामीले लेखेको कक्षागत गीत काठमाडौं स्टाफ कलेजमा विमोचन भएको थियो। विमोचन कार्यक्रममा म र खड्ग बोहरा भाइ गएका थियौं।  त्यहाँ जिशिअहरूको भेला रहेछ।  कार्यक्रम सकिएपछि हाम्रो जिल्लामा काम गर्नु भएका ७ जना जिशिअ मकहाँ आउनुभयो।  एक जनाले शान्ताजी तपाई कहिलेदेखि काठमाडौं बस्न थाल्नुभयो ? यस्तो कक्षागत गीत कसरी लेख्नुभयो भनेर सोध्नुभयो।  म पाँचथरको फिदिम माविमै पढाउँछु र मैले त्यहीँ बसेर यो गीत लेखेकी हुँ भनें।  मलाई त्यतिबेला काठमाडौं बस्नेहरूले मात्रै लेख्न सक्छन् भन्ने विद्वानहरूको सोच हुने रहेछ भन्ने लाग्यो।

कुनै कुराका लागि सानोठूलो, धनीगरीब र जातिभेदको वर्गीकरण नगरियोस् भन्छु म।  दुर्गम कुनाकन्दरामा बस्नेहरूका आवाजहरू पनि सुनियोस्।  मोफसलमा बसेर पनि उत्कृष्ट सिर्जना गर्न सकिन्छ र धेरैले गरिरहेकै छन्।  गाउँमा विषयवस्तु धेरै हुन्छन्।  राज्यले यसरी सिर्जना गर्नेको खोजी गरेर साहित्यलाई अगाडि बढाउने वातावरण प्रदान गर्नुपर्छ।  
‘आज हामी सानासाना फूलका कोपिला...’ भनेपछि ती बच्चाहरू फूलको  कोपिला अवस्थामा छौं।  जसरी फूलले कोपिला बनाउँदै छ।  हामी त्यही कोपिलामै छौं।  कोपिला फक्रिसकेपछि त फूलहरू पनि कति आकर्षक हुन्छन्।  त्यसरी नै बच्चाहरूको दिमाग पनि विकसित हुँदै जान्छ भन्ने आशय  गीतमा देखाइएको छ।  हामीले एक आपसमा हातेमाले गर्दै अगाडि बढ्नु पर्छ।  पौरखी भएर राष्ट्रलाई उन्नतिप्रगतिमा अगाडि बढ्नु पर्छ भनिएको छ। 

नेपाल विभिन्न जातजातिको साझा फूलबारी हो।  सबै जातजातिको आआफ्नै संस्कार र संस्कृति छ।  हामीले सबैलाई उस्तै व्यवहार गर्नुपर्छ भन्ने सोचले मैले सबै जातजातिका गीतहरू लेखेकी छु।  म पालम, सँगिनी, साकेला र सेलो गीत गाउँछु।  टेलिभिजन र रेडियो नेपालमा गरी मेरा ६ वटा जति गीत रेकर्ड भएका छन्।  म लिम्बूवानी माटोमा हुर्केकी हुँ।  सानो छँदा लिम्बू साथीहरूसित धाननाची खेलिन्थ्यो।  ‘गैरी बारी बिराई खेतै भयो, यसैमा ठाउँमा भेटै भयो ए हेहे हाहा’ भन्ने पालम गीत लेखेँ।  जुन चलचित्र ‘माटो’ मा समावेश छ।  तामाङ साथीहरूसित सेलो पनि नाचिन्थ्यो।  मैले तामाङ सेलो पनि लेखें र पत्रिकामा छापिए पनि।  यस गीतमा विद्यार्थीहरूलाई खुब नचाइयो ।  त्यस्तै साकेला गीत पनि लेखें।  
मेरो ‘हाम्रा गीतहरू’ (गीत संग्रह, २०६५), ‘फाटेको मन’ (गीत एवं गजल संग्रह–२०६८), ‘आमाको मन’ (बालकथा संग्रह,२०७२), पढौंलेखौं क ख ग...(सचित्र बालकविता, २०७२) र पानी र जमिन (बालकथा संग्रह,२०७५) जस्ता कृति प्रकाशित छन्।  मोफसलमा हुनुको पीडा सम्पर्क र प्रकाशनमा समस्या हो। यी पुस्तकको सम्पादन र प्रकाशनमा साहित्यकार एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको उल्लेख्य भूमिका रहेको छ।  मेरा श्रीमान् माधवप्रसाद गौतम पनि फिदिम माविबाटै सेवानिवृत्त हुनु भएको हो। 

उहाँले मलाई पुस्तक प्रकाशनमा सहयोग पु-याएर हौस्याउनु भएको छ।  अहिले धेरै बालकविता र बालकथा लेख्ने गर्छु।  स्वस्थ भई बाँच्न सकून् भनी वृद्ध र वयस्कहरूलाई योग सिकाउँदै छु।   मान्छेले जन्मिदै साहित्यको यात्रा सुरु हुन्छ।  जन्मिएर भुइँमा झरिनससक्दै रुनेकराउने गर्छ।  यसमा पनि साहित्य छ।  जुनसुकै क्रियाकलापमा पनि साहित्य रहेको हुन्छ र त्यसलाई उपयोग गर्दै सबै अगाडि बढ्न सकौं भन्छु म। 

हामीले ढिकीजाँतो प्रयोग गर्न भ्यायौैैं।  ठूलाहरूले ढिकीमा धान कुट्थे  र हामी घान लगाउन सघाउँथ्यौं।  अलिक सक्ने भएपछि आमालाई जाँतो पिस्न सघाउनु पथ्र्यो।  त्यतिबेला हामी कोदो र मकै खुब फलाउँथ्यौं।  कोदो र मकै निकै उपयोगी खानेकुरा रहेछन्।  हामीले यस्तै खानेकुरा प्रयोग गरेर निरोगी भयौं।  अहिलेका मान्छेहरू अर्गानिक खानेकुराको अभावले रोगाएका छन्।  अहिलेकाले न ढिकी कुटून् न जाँतो पिस्नू।  अहिले घर बढार्ने,लुगा धुने सबै काम गर्ने मेसिनै रे।  कसरत नपुगेर हामी निष्क्रिय भएका  छौं। 

अब म  मेरा साहित्यिक सिर्जनामार्फत् हरेक मानिसलाई स्वास्थ्य रहनुपर्छ भन्ने सन्देश दिन चाहन्छु।  त्यसमा पनि मेरो लक्ष्य बालसाहित्यमार्फत् नानीहरूलाई बेलैमा स्वास्थ्य चेतना दिने कृति लेख्नु नै होे।  स्वस्थ रहन राज्यले बालबालिकादेखि वृद्धहरू सबैलाई योगको महत्वबारे सुसूचित गराउनु पर्छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad