काठमाडौं– आन्तरिक विवादकाबीच नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको एक दशकपछि महाधिवेशन हुने भएको छ। झन्डै एक दर्जन जिल्ला विवाद जारी रहेपनि पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गर्ने भएका छन्।
तीन दिनसम्म चल्ने महाधिवेशनले दलको नयाँ नेतृत्व चयन गर्नुको साथै संगठनको नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशन सुरु हुने दिन नजिकदै गर्दा पार्टी निर्देशक समिति जिल्ला विवाद समाधान गर्ने प्रयासमा जुटेका छन् । अधिवेशन हुन नसकेका र विवादित रहेका जिल्लामा आपसी सहमतिमा महाधिवेशन प्रतिनिधि टुंगो लगाउने प्रयास भइरहेको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए।
‘महाधिवेशन अब रोकिंदैन,’ पार्टी केन्द्रीय सदस्य एबं निर्देशक समिति सदस्य यादवले भने, ‘विवाद रहेका जिल्लाको समाधान प्रयास भइरहेको छ । जहाँबाट विवाद भएको हो त्यहीबाट समाधान खोज्छौ ।’
संगठनमा दुख गरेका कुनैपनि तरुण महाधिवेशनबाट बन्चीत नहुने जनाउँदै यादवले भने, ‘सबै पक्षको सहमतिमा दुख गरेका साथीहरुलाई महाधिवेशनमा सहभागि गराएर समाधानमा पुग्ने प्रयासमा छौ ।’
उदयपुर, सुर्खेत, पर्सासहितका जिल्ला अधिवेशन भइसकेको जनाउँदै यादवले सदस्यता वितरण नभएका एकाद जिल्ला बाहेक सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि सहभागि गराउने तयारीमा निर्देशक समिति लागि परेको छ । भक्तपुर र सप्तरीमा अहिलेसम्म अधिवेशनको प्रक्रिया सुरु भएको छैन भने काभ्रे, बारा, धादिङ, बाँके,सर्लाही र धनुषामा विवाद छ ।
सर्वसहमतिको प्रयास
पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसहमतिबाट चयन गर्न पार्टी नेताहरु सक्रिय भएका छन् । पार्टीको १३औं महाधिवेशनपछि भएका आन्तरिक निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुँदै आइरहेका बेला दलको नेतृत्वमा भने सहमतिको प्रयास भएको हो ।
देउवा र पौडेल पक्षका नेताहरु सर्वसहमतिबाट नयाँ नेतृत्व टुंगो लगाउने आन्तरिक प्रयासमा जुटेका छन् । देउवा पक्षले जितजङ बस्नेतलाई अध्यक्ष बनाउने र अन्य पदमा पौडेल पक्षलाई मिलाएर लैजाने तयारीमा जुटेको छ । ‘सकेसम्म सर्वसहमति गरेर जानुपर्छ भन्ने आवाज दुबै पक्षबाट आइरहेको छ,’ एक नेताले भने, ‘सकेसम्म सहमतिको प्रयास हुन्छ ।’
नयाँ नेतृत्वका लागि दुबै पक्षबाट दर्जन आकांक्षी देखिएका छन् ।अध्यक्षका लागि यमबहादुर गुरुङ, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्ल, सिद्धार्थ कोइराला, दिनेश भट्टराई, हर्क देउवा लागिपरेका छन् ।
सबै तयारी पूरा
तरुण दलले चौथो महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । बिहीबार तरुण दलले पोखरामा पत्रकार सम्मेलन गर्दै महाधिवेशन हुँदैनकी भन्ने आशंका समाप्त भएको जनाएका हुन । तरुण दलका केन्द्रीय तथा सचिवालय सदस्य मेखलाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘पटकपटक रोकिएकाले केही आशंका थियो तर, अब पक्का हुन्छ ।’
विवाद नमिलेका भक्तपुर र सप्तरीका प्रतिनिधि सहभागी हुने नहुने पनि श्रेष्ठले जानकारी दिए । काभ्रे र बारामा विवाद रहे पनि त्यहाँ क्षेत्रीय र नगरअधिवेशन भएकाले प्रतिनिधिहरूले भाग लिने उनले बताए । श्रेष्ठका अनुसार पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेश र समावेशीका लागि पदाधिकारीले भोटिङ गर्नेछन् ।
श्रेष्ठका अनुसार महाधिवेशनमा ७१ जिल्लाका करिब १४ सय प्रतिनिधि सहभागी हुनेछन् । तरुण दलको विधान अनुसार महाधिवेशनमा महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधानमा छ । त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन÷तीन जना सहभागी हुने व्यवस्था छ । तरुण दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ । केन्द्रीय समितिका ४५ जना पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
यसअघि ६१ जनाको कार्यसमिति हुनेमा अब बढाएर ७५ पुग्न सक्ने पदाधिकारी बताउँछन् ।
प्रकाशित: २५ कार्तिक २०७३ १४:४१ बिहीबार