४ वैशाख २०८१ मंगलबार
अन्य

मजदुर चोक छिचोलेर धरान

धरानको विमल स्मृति पुस्तकालयले एलबी क्षेत्रीको कथासंग्रह ‘व्रतभंग’माथि विमर्श कार्यक्रम चलाउने भयो। क्षेत्री सरले सँगै जाने प्रस्ताव गर्नुभयो। सुनिताले यात्राको अनुमति दिएपछि फोन गरें, ‘सर तपाईँहरूसँग धरान जाने भएँ है।’

शुक्रबार बिहानै सरको फोन आयो, ‘म त पनि आइपुगें ?’ निपनीबाट मेरो घरको दूरी पाँच मिनेट थियो। हस्याङफस्याङ गर्दै ब्याग बोकेर निस्कें। गेट  सामुन्ने गाडी थियो। एलबी सरको साथमा हुनुहुन्थ्यो उदय अधिकारी।

हामी तीन भाइ लाग्यौं धरानतिर। सौराहा चोकको माइलस्टोनमा लेखिएको थियो– हेटौंडा ७० किमि। गाडी एलबी सरले हाँक्नुभयो। रफ्तार ६०/७० किमि प्रतिघन्टा, उहाँको उमेर सुहाउँदो। उहाँको अनुहार प्रसन्न थियो। त्यसैले उहाँको इनर्जी जाँच गर्न मनले मानेन। राप्ती पुल काटेपछि बल्ल भनें– म चलाउँछु।

उहाँले गाडी रोक्नुभयो। म गाडी हाँक्न थालें। बुद्ध चोक पुग्दा बिहानको ७ बजिसकेको थियो। चोकमा केही हुल मानिस देखिए। उदय सरले चोकको परिचय दिनुभयो, ‘यसलाई मजदुर चोक पनि भनिन्छ।’ कैयौं पटक हेटौंडा आए पनि ‘मजदुर चोक’ नाम पहिलो पटक आज सुनें। मौन बुद्धको सालिक छेउमा काम खोज्ने र काम दिने मानिस भेला हुँदा रहेछन्। एकछिन गाडी रोकेर हेरें। धेरैजसो मानिस कामको खाँचो भएरै आए जस्ता देखिन्थे। उदय सरले थप जानकारी दिनुभयो, ‘क्याम्पसमा सरसफाइ गर्ने मान्छे चाहियो भने हामी यहीं आउँछौं।’

झोलामा काम गर्दा लगाउने लुगा र खानेकुरा बोकेर आउनेहरू धेरै थिए। सबैभन्दा ठूलो कुरा उनीहरू ‘आज जसरी भए पनि काम गर्नुपर्छ’ भन्ने संकल्प बोकेर आउँदा रहेछन्। नेपाली समाजको इतिहासले लेखेको दैनिक रोजगारीमा दिन गुर्जार्नेहरूको व्यथा सायद यही हो।

मजदुर चोक मलाई गजबको केन्द्र लाग्यो। सम्झें– अध्ययनका लागि आयरल्याण्ड बस्दाका क्षण। सुरुमा आयरल्याण्ड पुग्दा मसँग काम थिएन। अर्थात् म पार्ट टाइम रोजगारीको खोजीमा थिएँ। रुम पार्टनर दामोदर दाइले सुझाएका थिए, ‘फासमा जाऊ, त्यहाँ अनेक कामको सूचना टाँस गरिएको हुन्छ। रोजगारदातालाई फोन गर्न निःशुल्क फोन व्यवस्था पनि गरिएको हुन्छ।’

आइरिस सरकारको रोजगारी केन्द्रका रूपमा विकास भएको फासमा विभिन्न रोजगार दाताहरूले आह्वान गरेका कामका सूची र विवरण राखिएको हुन्थ्यो। आफूलाई हुने खालको काम भए त्यसमा उपलब्ध गराइएको विवरणमा सम्पर्क गर्न सकिन्थ्यो। सुरुमा काम नहुँदा ‘फास’ पुग्दाको समय र अहिले हेटौंडामा स्थापित मजदुर चोक देख्दाको समय दाँज्न मन लाग्यो। दुवैको उद्देश्य एउटै तर तरिका फरक। यात्राकै क्रममा मैले नेपालका हरेक महानगर, नगरपालिकामा ‘फास’ जस्तै रोजगार परामर्श केन्द्र आवश्यक ठानें।

भोक लागेको थियो। अमलेखगंजको एउटा होटलमा अडियौं। हामीसँग घरबाट ल्याएका खानेकुरा थिए। म एक किसिमको व्रतमा थिएँ। के–के खाने, कुन–कुन समयमा खाने र कति–कति खाने लेखिएको पाना अनुसार बन्दोबस्त गर्दै थिएँ। एलबी सर घरीघरी मीना म्याडमले बनाउनुभएको पुरी मलाई खाऊँ–खाऊँ भन्नु हुन्थ्यो। एक व्रत बस्न कति कठिन हुन्छ, हप्ता दिनमै अडकल काट्न सक्ने भइसकेको थिएँ।

जीवन सिकाइहरूको अनुभूति लिने ठाउँ पनि हो। व्रतलाई जीवन सिकाइकै रूपमा लिँदैछु। नास्तापछि यात्राले निरन्तरता पायो। महेन्द्र राजमार्गको सिमानामा रहेको पर्सा राष्ट्रिय निकुञ्जका केही रुख काटिएका थिए। भारत हुँदै वीरगन्ज अनि अमलेखगन्जको नेपाल आयल निगमको तेल भण्डारणसम्म विस्तार हुँदै आएको पेट्रोलियम पदार्थको पाइप लाइन बिछ्याउनका लागि। काम गरिरहेका मानिस बाटाका बायाँपट्टि देखिन्थे। पाइप सडकभन्दा तीन मिटर तल गाडिएको रहेछ।

‘अब भारतले नाकाबन्दी गरेछ भने पनि नेपालमा तेलको समस्या हुँदैन’ उदय सर भन्दै हुनुहुन्थ्यो। एलबी सरले खुसुक्क भन्नुभयो– रिस उठ्नुपर्छ मोदीले भारतबाटै तेलबन्दी गर्न बेर छैन। तर, पीर छैन किनकि ठोरीबाट भारतीय मित्रहरूले नै पेट्रोल डिजेलको व्यवस्था मिलाइदिन्छन्, यत्ति हो– नाकाबन्दीका बेला हाम्रा प्रधानमन्त्रीले लिएको अडान पुनः लिन सक्लान् ?

पथलैयाबाट देब्रे मोडिएपछि यात्राको ताल झनै मिल्न थाल्यो। हाम्रो लक्ष्य धरान भए पनि आज भेडेटार बस्ने योजना बनाएका थियौं। गरम प्रदेश चितवनबाट निस्केका हामीलाई केही समय भए पनि चिसो प्रकृतिसँग रमाउनु थियो। कवि चेवन राईले भेडेटारमा होटल बुक गरिसकेका थिए।

विमल पुस्तकालयमा एलबी क्षेत्रीको कथा संग्रह ‘व्रतभंग’ माथि विर्मश भयो। संग्रह भित्रका तीन कथा ‘व्रतभंग’, ‘मेरो निर्णय’ र ‘प्रारम्भ’ विशेष चर्चामा रहे। पूर्व मेयर बम देवानले त यहाँसम्म भन्न भ्याउनुभयो, ‘यी उत्कृष्ट कथा हुन् र यिनलाई पाठ्यक्रममा राख्दा पनि हुन्छ।’

निजगढबाट काठमाडौंका लागि निर्माणाधिन दु्रत मार्गलाई आँखाले भ्याउनेसम्म हेरियो। दु्रतमार्ग बनिसकेपछि त्यहाँबाट काठमाडौं ७५ किमि मात्र। बाटाको काम लगभग सकिएको छ। पुलको काम बाँकी छ। वास्तवमा नेपालमा विकासै नभएको होइन। सडक, पुल र सहरहरूको विकास देख्दा नेपाल विकसित हुँदै गएको आनन्द अनुभूति मिल्छ। चलचित्रकर्मी एवं पर्यटन व्यवसायी युवराज लामा निजगढको भविष्यबारे निश्चिन्त थिए। त्यही भएर उनले होटलमा लगानी थपेका छन्। भन्दै थिए, ‘निजगढ विमानस्थल बनेपछि यो सहर महानगर बन्ने छ।’

गाडी म चलाउँदै थिएँ र सोही अनुरूप रफ्तार थियो सय किमि प्रतिघन्टा। सडक छेउका गाछीहरूले शितलता दिइरहेका थिए यात्रु र वस्तु चराउन आउने गोठालालाई। वर्षौदेखि मानव जीवनका गतिविधि नियाल्दै गरेका यी रुखका आकार देख्दा लाग्थ्यो यिनीहरू सयौं वर्षभन्दा बढी उमेर पकाइसकेका छन्।

पूर्वको यात्रामा रहँदा केही समयका लागि भए पनि बर्दिबासमा रोकिन मन लाग्छ, किन होला ? किनकिन। बर्दिबासबाट सिन्धुली र धुलिखेल हुँदै काठमाडौं पुग्न सकिन्छ। विपी लोकमार्ग अहिले पूर्वबाट काठमाडौ जान प्राथमिकताको बाटोमा छ भने सेल्फ ड्राइभ गर्नेका लागि पनि यो मार्ग रोजाइमा पर्छ। चितवनबाट मुग्लिन हुँदै काठमाडौं जाँदा मलेखु र नौबिसे जस्तै पूर्वको यात्रामा मलाई बर्दिबास लाग्छ।

हेटौंडासम्म यात्रामा चुरे शृंखला हाम्रो दाहिने थियो। पथलैया कटेपछि चुरेलाई देब्रे पारेर अघि बढ्यौं। मैले चुरे संरक्षणका लागि राष्ट्रपतिको कार्यक्रमबारे सुनेको हुँ। सौराहाबाट दक्षिणतर्फ देखिने पहाडी श्रृंखला चुरे हो भन्ने थाहा थियो। यात्रामा उदय सरले चुरेबारे धेरै कुरा भन्नुभयो।

धरान पुग्न इटहरी भएर जाँदा सजिलो हुन्छ भन्ने भ्रम पनि टुट्यो। किनकि हामी मध्य पहाडी लोकमार्गबाट पार गर्दै थियौं। कन्चनपुरबाट देब्रे मोडिँदा फत्तेपुर, रामपुर हुँदै धरान पुगिँदो रहेछ। कञ्चनपुर चोक र फत्तेपुर बजार ९ किमि दूरीमा छ। ९ किमिको छोटो फरकमा मैले मानव बस्ती र जीवनशैलीमा फराकिलो अन्तर पाएँ। फत्तेपुरमा पहाड र तराईका मानिसको संगम रहेछ। हामीले दिउँसोको खाना यहीं लिने भयौं।

खाना पर्खिन्जेल गुगलमा चुरे सर्च गरें। खोज्दै जाँदा लक्ष्मी राज जोशीको ‘चुरे पहाड नेपाल समृद्धिको आधार’ भन्ने लेख पढें। त्यसमा लेखिएका केही महŒवपूर्ण कुरा यस्ता थिए, ‘करिब ४ करोड वर्षपहिले हिमालय उत्पत्तिका क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको हिमालय पर्वत शृंखलाको सबैभन्दा दक्षिणमा नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको होचो र कान्छो पर्वत नै चुरे शृंखला हो। नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको छ चुरे। चुरे पहाड अन्तर्गतको भावर क्षेत्रबाट पानीको पुनर्भरण भई तराईको उर्वराभूमिका लागि सिँचाइ तथा खानेपानीको स्रोत चुरे क्षेत्र छ, जहाँ देशकै झन्डै ५० प्रतिशत जनता उक्त पानीमा आश्रित रहेका र नेपालको ८० प्रतिशतभन्दा बढी खाद्यान्नको भण्डारलाई उक्त पानीले सिँचाइ उपलब्ध गराएको छ।’

फत्तेपुरबाट अघि बढ्दा स–साना पहाड देखिन्थे। उदय सर यो पनि चुरेकै शृंखला हो भन्दै हुनुहुन्थ्यो। वास्तवमा चुरेका माटा कमसल रहेछन् र त्यही कमसल माटो काटेर बाटो बनाइएको रहेछ। बाटो मानव विकासको प्रथम आवश्यकता हो तर पनि कताकता यसरी ऐतिहासिक पहाडी शृंखला काटेर बाटो बनाउनु उचित लागेन।

धरान पुग्दानपुग्दै हामीले प्याराग्लाइडिङ देख्यौं। पर्यटन विकासको प्रयास देख्दा खुसी लाग्यो। नेपाली हुन् वा भारतका विहार र पूर्व बंगालीमाझ प्रचार गर्न सक्यौं भने प्याराग्लाइडिङ लोकप्रिय बन्न सक्छ।

धरानतर्फ जति उक्लदैं थियौं उति शीतलता आइरहेको थियो। भानुचोकमा हामीलाई कुरेर बसेका चेवन राईलाई छोटो भेट गरी भेडेटारतिर लाग्यौं। ३६ डिग्रीबाट हामीलाई १२ डिग्रीमा पुग्दा स्वार्गानुभूति भयो। पहाडहरू कुहिरोको घुम्टो ओढेर बसेका थिए। भाषाविद् इमानसिंह चेम्जोङको शालिक ठिंग थियो मानौं हामीसँगै आएका निवृत्त सेनानीलाई स्वागत गर्न।
‘ठण्डा छ, केही पिउने ?’, मैले उदय र एलबी सरलाई सोधें।

‘तातो चिया’, उत्तर आयो। नजिकैको पसलमा चिया पिउँदै टावर चढ्न जाने योजना बन्यो। मर्मतका कारण भ्यूटावर बन्द रहेछ। मलाई टावर बन्द भएकोमा दुःख लागेन किनकि भेडेटार आफैंमा टावर हो। यहीं उभिएर देखिने दृश्य र टावर चढेर देखिने दृश्यमा केही फरक हुँदैन जस्तो लाग्छ। सरकारले यस्ता हिल स्टेसनमा टावर निर्माणका लागि भनेर करोडौं रुपैयाँ छुट्टयाएको देख्दा अचम्म लाग्छ।

विमल स्मृति पुस्तकालय धरानको व्यस्त बजारको मूल सडकमा रहेछ। बुबा पूर्णबहादुर गुरुङले छोराको स्मृतिमा स्थापना गर्नुभएको पुस्तकालयको उद्घाटन मोदनाथ प्रश्रितले गर्नु भएको रहेछ। कवि विमल राम्रा कविता लेख्थे। विसं ०४८ सालमा उनको बस दुर्घटनामा मृत्यु भएको रहेछ। पूर्णबहादुरको निवासस्थान र पुस्तकालय ४ मिनट दूरीमा छ। पुस्तकालय त्यही रहँदा बुबा पूर्णलाई छोरा आफू नजिकै रहेको भान हुँदो हो ! धेरै साहित्यिक कार्यक्रम यहींको प्रेक्षालयमा हुने रहेछ। वास्तवमा धरानमा साहित्यकर्म गर्नेहरूको साझा सम्पतीका रूपमा रहेको पुस्तकालय संरक्षण गर्ने दायित्व धरानेको हो।   

‘व्रतभंग’ कथासंग्रहको परिचर्चा त्यही प्रेक्षालयमा भयो। पूर्व मेयर बम देवान, बद्री पोखरेल (भिखारी), सीमा आभास, मनु मन्जिल र चेवन राईले कथामाथि विचार राखे। संग्रहका कथामा कसैको पनि विरोधाभाष आएन।

बहसमा पाठकको स्तर र कथालाई कसरी पढिनुपर्छ भन्नेमा पनि चर्चा भयो। संग्रह भित्रका तीन कथा ‘व्रतभंग’,‘मेरो निर्णय’ र ‘प्रारम्भ’ विशेष चर्चामा रहे। पूर्व मेयर देवानले त यहाँसम्म भन्न भ्याउनुभयो, ‘यी उत्कृष्ट कथा हुन् र यिनलाई पाठ्यक्रममा राख्दा पनि हुन्छ।’

कार्यक्रम समाप्तपछि हामी त्यही दिन इटहरी हुँदै चितवन फर्कियौैं। हुरी, बतास र पानीसँग जुझ्दै राति १ बजे सौराहा पुग्यौं।

प्रकाशित: २५ श्रावण २०७६ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App