८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कानको यन्त्र किन्न सरकारको सहयोग

काठमाडौं – जन्मजात कान नसुन्ने बालबालिकालाई श्रवणयन्त्र (कक्लियर इम्प्लान्ट) किन्न यो वर्ष पनि सरकारले सहयोग गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कक्लियर इम्प्लान्ट कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो।  

सहयोगसँगै यन्त्रको पर्खाइमा रहेका बालबालिकाले यन्त्र पाउने भएका छन्। गत वर्ष यो कार्यक्रमका लागि सरकारले ५० लाख रुपैयाँ मात्र प्रदान गरेको थियो। आव २०७४÷७५ मा पहिलोपटक एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो। सहयोगबारे कक्लियर इम्प्लान्ट नेपाल गु्रपका अध्यक्ष रवीन्द्रभक्त प्रदानले एक कार्यक्रमबीच शुक्रबार सरकारको प्रशंसा गरे। ‘अब पर्खाइमा रहेका बालबालिकाले कान सुन्न सक्नेछन्, तर यो कार्यक्रम निरन्तर हुनुपर्छ,’ उनले भने।

नेपालमा हालसम्म एकजन्मजात सय ४२ जनामा कक्लियर इम्प्लान्ट जडान भइसकेको छ । सरकारले कक्लियर इम्प्लान्टका लागि पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

जन्मजात कान नसुन्ने समस्या भएका बालबालिकालाई एक आधुनिक यन्त्र मस्तिष्कसँग जोडेर सुन्न सकिने बनाउने यन्त्रलाई कक्लियर इम्प्लान्ट भनिन्छ। यो यन्त्र बोलीपछि बहिरो भएमा पनि जडान गर्न सकिन्छ। चोटपटक, भित्री कानको रोग वा उमेरका कारण सुनाइ कम भएमा हेयरिङ एडको प्रयोग गरी सुन्न सकिन्छ। यो नभएमा कक्लियर इम्प्लान्ट पनि जोड्न सकिन्छ।

यन्त्र जडान गरी स्पिच (बोली अभ्यास) थेरापी दिएपछि मात्र बालबालिका सुनेको कुरा बोल्न सक्ने हुन्छन्। कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका अडियोलोजिस्ट डा. रविराज ननालले अविभावकलाई थेरापीबारे प्रस्तुति दिएका थिए। सकेसम्म कम उमेरमा जडान गरे यस यन्त्रले प्रभावकारी रूपमा काम गर्ने उनले जानकारी दिए।

यन्त्र महँगो भएकाले सबैको पहुँच पुग्न सकेको थिएन र अहिले पनि नभएको डा. प्रानांगाले बताए। १५ वर्षअघि सुरु भए पनि आर्थिक अभावले यो सेवाको पहुँच उल्लेख्य बालबालिकाले लिन सकेका थिएनन्। सेवा सुरु भएसँगै वार्षिक चार÷पाँचजना मात्र बालबालिकाले लिने गरेकोमा सरकारको सहयोगसँगै यो यन्त्र जडान गर्ने बालबालिकाको संख्यामा वृद्धि भएको छ। जसअनुसार आव २०७४÷७५ मा २० जनाले र २०७५÷७६ मा १० जनाले पाएका थिए भने चालू आवमा २४ जनाले पाउनेछन्। नेपालमा हालसम्म एक सय ४२ जनामा कक्लियर इम्प्लान्ट जडान भइसकेको छ। सरकारले कक्लियर इम्प्लान्ट जडान गर्न चाहने बालबालिकाका लागि पाँच लाख सहयोग गर्दै आएको छ। बजारमा रहेका दुई तहका इम्प्लान्टका लागि छुट्टाछुट्टै मूल्य रहेको छ। जसमा आधारभूतलाई ९ लाख ५० हजार र अर्को तहकोलाई १२ लाख ५० हजार रुपैयाँ पर्न आउँछ। यो जडानमा थप खर्च लाग्छ।

नेपालमा २०६१ सालमा तत्कालीन नाक, कान तथा घाँटी विशेषज्ञ प्राध्यापक डाक्टर राकेशप्रसाद श्रीवास्तवले पहिलोपटक भारतीय सरकारको सहयोगमा सुरु गरेका थिए। हाल टिचिङ अस्पताल महाराजगन्ज यो उपचारमा पूर्ण सक्षम भइसकेको छ।

सो कार्यक्रममा अस्ट्रियास्थित मेडल कम्पनीबाट एक सेट कक्लियर इम्प्लान्ट कञ्चनपुरका २ वर्षीय बालक विनय भट्टलाई प्रदान गरिएको छ। कम्पनीले नेपालमा एक सय यन्त्र खरिद भएपछि एउटा निःशुल्क प्रदान गर्ने गरेको जनाएको छ। उक्त कम्पनीका दक्षिण एसियाली निर्देशक तेजेन्दर सिंह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले सो यन्त्र हस्तान्तरण गरेका हुन्। सो यन्त्रको मूल्य १२ लाख ५० हजार रुपैयाँ पर्छ।

सोही अवसरमा मन्त्री यादवले आवश्यक सहयोग गर्न सरकारले प्रयास गर्ने प्रतिबद्धता जनाए। ‘यो उपचारलाई बिमा कार्यक्रमबाट समेट्न सकिन्छ, उपचार सामग्रीमा लाग्ने भन्सारमा छुट गरेर सहज पार्नेछौं,’ उनले भने। सोही क्रममा पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाले यो कार्यक्रमका लागि सरकारको निरन्तर सहयोग र भन्सार छुट हुनुपर्ने आग्रह गरे। सोही क्रममा ग्रुपले नेपालमा पहिलो पटक कक्लियर इम्प्लान्ट जडान गर्ने चिकित्सक प्राध्यापक डा. राकेश श्रीवास्तवलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो। कार्यक्रममा कक्लियर इम्प्लान्ट जडान गरेका बालबालिकाले नृत्य तथा अन्य प्रस्तुति दिएका थिए।

प्रकाशित: २५ श्रावण २०७६ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App