७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

अन्ननलीमा लाग्ने अनेक रोग

खाना निल्ने नली हाम्रो पाचन प्रणालीको मुख्य द्वार हो । यसले राम्रोसँग काम गरेन भने सिंगो पाचन प्रणालीमा असर पर्छ । यो नलीमा कसरी रोग लाग्छ ? कस्ता कस्ता रोग लाग्छन् ? उपचारको अवस्था कस्तो छ ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका पूर्वनिर्देशक तथा ग्यास्ट्रोइन्ट्रलोजिस्ट डा. भूपेन्द्र बस्नेतसँग गरेको कुराकानीको अंश:

चिकित्सा सेवामा लाग्नुभएको कति वर्ष भयो ?
–२० वर्ष भयो । सुरुमा भद्रपुर अस्पतालमा काम गरें ।

चिकित्सा अध्ययन कहाँ गर्नुभएको हो ?
–एमबिबिएस बंगलादेशमा, एमडी टिचिङ अस्पतालमा र डिएम वीर अस्पतालमा गरेको हो ।

कुन विषयमा विशेषज्ञता हासिल गर्नुभयो ?
–ग्यास्ट्रोइन्ट्रलोजिस्ट (पेटका रोगहरू) मेरो विशेषज्ञता हो । यसको अर्थ कलेजो तथा पेटरोगसम्बन्धी विशेषज्ञ भनेर पनि बुझिन्छ ।

पेटमा हुने रोग कुनकुन हुन् ?
–खाना निल्ने नली (ओसोफाकस आमाशय (स्टोम्याक), कलेजो (लिभर), पित्तथैली (गलब्लाडर), प्यानक्रियाज (आमाशय पछाडि पर्छ), सानो आन्द्रा र ठूलो आन्द्रामा लाग्ने कुनै पनि रोग पेटसम्बन्धी रोग हुन् ।

खाने नली आफ्नै नसा तथा मांशपेशीको कारण खुकुलो हुन्छ ।

वीर अस्पतालमा भने कलेजोको उपचार छुट्टै विभागले गरेको देखिन्छ नि ?
–त्योचाहिँ वीरमा पहिलादेखि नै खुलेको थियो । कतिपय चिकित्सकलाई ग्यास्ट्रोभित्र पनि कलेजो मात्र उपचार गर्ने सोचले खोलेको देखिन्छ । यो अभ्यास पनि आफैंमा राम्रो हो ।

वीरमा पेटसम्बन्धी कुन रोग बढी देखिन्छन् ?
–पाचनप्रणालीका सबै अंगमा रोग लागेको देखिन्छ । जुन संसारभर लागेको हुन्छ ।

खाने नलीमा केकस्ता कारणले रोग लाग्छ ?
–निल्ने नलीमा जन्मजात हुने रोग, संक्रमणले हुने तथा ग्यास्ट्रिकका कारण हुने रोग हुन्छन् । कुनै अंगमा आफ्नै कारणले हुन्छ भने कुनै क्यान्सरसित सम्बन्धित पनि हुन्छन् । त्यस्तै जीवनशैलीका कारण पनि कुनै कुनै रोग लाग्ने गरेको पाइन्छ । यो नली मुखको पछिल्लो भागबाट सुरु भई आमाशयमा पुगेको हुन्छ । यसको काम खाना पेटसम्म पु¥याउने हो । यो खाना जाने बाटोमै रोग लाग्यो भने सम्पूर्ण पाचनप्रणालीमा अवरोध आउँछ ।

यस नलीमा लाग्ने मुख्य रोग केके हुन् ?
–यो नलीमा थुप्रै किसिमका रोग लाग्छन् । जस्तो फंगल संक्रमणले लाग्ने रोग, कहिलेकाहीँ हामीले अन्य रोगको निमित्त खाएका औषधिले पनि नलीमा घाउ÷अल्सर हुन सक्छ । त्यसले निल्ने प्रक्रियामा समस्या हुन्छ । खाना निल्दा दुख्ने या निल्नै गाहो हुने पनि हुन्छ । जसमध्ये जिइआरडी (ग्यास्ट्रो ओसोफेजल रिफलक्स डिजिज) पनि एक रोग हो । जिइआरडी नलीको तलमाथि दुईवटा पाइप हुन्छन् । दुवै ठाउँमा खुल्ने र बन्द हुने भाग हुन्छ । यो नलीको पाइप खाएको बेला खुल्छ र  खाना खाएपछि बन्द हुन्छ । यो नली जुनसुकै बेला पनि खुलिरहने समस्या हो ‘जिइआरडी रोग’ । पाइपको भल्व खुकुलो भएको अवस्थामा यस्तो रोग लाग्छ । पाइप जतिबेला पनि खुला भएको कारण पेटबाट निस्कने अम्लीय पदार्थ पाइपमा पस्छ र अमिलो पानी आउने समस्या हुन्छ । यसले  खाना रुचि हुँदैन । यसका लागि जीवनशैली परिवर्तन गरेर ताजा खाने  कुरा खानुपर्छ ।

खाने नलीको क्यान्सरको शल्यक्रिया गर्दा राम्रो परिणाम कम मात्रामा आउने हुनाले शल्यक्रिया सकेसम्म कम गर्ने गरिन्छ ।

खाने नलीको पाइप खुकुलो हुनुको कारण ?
–नली आफ्नै नसा तथा मांशपेशीको कारण खुकुलो हुन्छ । यसको भल्व संयन्त्रको कारण हो ।

यस्तो अवस्थामा उपचार कसरी हुन्छ नि ?
–कतिपय कुरा खानपानले परिवर्तन गर्न सकिन्छ । कतिपय अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।

खाने नली खुकुलो हुने रोग लागेका कत्तिको आउँछन् ?
–थुपै्र आउँछन् । कतिपयको शल्यक्रिया गर्नु पर्नेहुन्छ । तर शल्यक्रियाको परिणाम कम मात्रामा राम्रो आउने हुनाले यस्तो अवस्थामा हामीले शल्यक्रिया सकेसम्म कम गर्छौं ।

खाने नली खुकुलो भएमा कस्तो समस्या हुन्छ ?
–खानेकुरा छातीमा आउने, छाती पोल्ने, जतिबेला पनि ढ्याउ–ढ्याउ आउने समस्या हुन्छ । बिरामीले दुःख पाइरहन्छन् ।

रक्सी, चुरोट, खैनी, गुट्खालगायत सेकुवा, भुटेको, तारेको खाना खानेहरूलाई खाने नलीको क्यान्सर बढी देखिन्छ ।

नसा कमजोर हुनुको कारण के हो ?
–खाने नलीको मांशपेशी कमजोर हुनुमा कतिपय अवस्थामा जीवनशैली कारण हुन्छ भने कतिपय अंग आफ्नै कारणले हुन्छ । जस्तो कि नियमित रूपमा खाइने चिल्लो तथा बोसोजन्य खानेकुराले पनि यो नलीलाई कमजोर बनाउँछ ।

खाने नलीमा लाग्ने अर्को रोग ?
–इकालाजियाकार्डिया हो । यो रोगमा खाने नली जतिबेला पनि बन्द हुन्छ । खाने नली बन्द भएर बाटैमा अड्किन्छ र बिरामीले खानेकुरा खानै सक्दैन । नसा दरो हुँदैन र नली बन्द हुन्छ । त्यसको चाप नाप्ने मेसिन पनि वीर अस्पतालमा ल्याएका छौं । खानेनलीको पाइप बन्द हुनुमा सो अंगको नसाको कारणले नै हो ।

नसा कमजोर हुनुमा जीवनशैलीसँग सम्बन्धित छ कि छैन ?
–यो सीमित व्यक्तिलाई हुन्छ । यो रोग लाग्नुमा बिरामीको कुनै भूमिका हुँदैन । शरीरमा आफैं हुन्छ । यो भयो भने बिरामीले खाना खानै सक्दैन ।

नली पूरै बन्द भएको अवस्थामा कस्तो उपचार गर्ने त ?
–यसको तीन तरिकाबाट शल्यक्रिया गर्न सकिन्छ । पहिलो तरिका बेलुन पठाएर खुलाउने, अर्को इन्डोस्कोपिकबाटै शल्यक्रिया गर्ने र अर्को शल्यक्रिया गरेरै बन्द भाग खोल्ने । यो समस्यामा औषधिले कुनै फाइदा हुँदैन । यस्ता बिरामी खाना अड्कियो भन्दै उपचारमा आउँछन् ।

खाना अड्कियो र छाती दुख्यो भने विशेषज्ञकोमा गई इन्डोस्कोपी गराइहाल्नुपर्छ ।

खाने नलीको क्यान्सर के कारणले हुन्छ ?
–गत वर्ष विश्वभर मानिस मर्ने सातवटा क्यान्सरमध्ये चारवटा पेटरोगसम्बन्धी क्यान्सर छन् । जसमा एक नम्बरमा कोलोन क्यान्सर (ठूलो क्यान्सर), दुई नम्बरमा खाने नलीको क्यान्सर, तेस्रोमा ग्यास्ट्रिक क्यान्सर र चौथोमा कलेजोको क्यान्सर रहेका छन् । सातवटा मुख्य क्यान्सरभित्र पनि दुई नम्बरमा खाने नलीको क्यान्सर रहेको तथ्यांकले देखाएको छ ।

कस्ता मानिसमा खाने नलीको क्यान्सर हुन्छ ?
–रक्सी, चुरोट, खैनी, गुट्खालगायत सेकुवा, भुटेको,तारेको खाना खानेहरूलाई यो समस्या बढी देखिन्छ । डढाएर पोलेको खानामा क्यान्सरजन्य तŒवहरू बढी हुन्छ । यस्ता खाना खानुहुन्न ।

यसको लक्षण कस्तो देखिन्छ ?
–सुरुमा ठोस खानेकुरा अड्किन्छ । विस्तारै नरम तथा झोल खानेकुरा पनि अड्किने हुन्छ । पछि गएर क्यान्सरको मासु नलीमा भरिएर नली नै बन्द हुन्छ र कुनै पनि खाना निल्न नसक्ने अवस्था हुन्छ ।

खाने नलीको उपचार वीर अस्पतालमा छ ?
–हामीकहाँ छ । कति उपचार पूरै निको पार्न सकिन्छ । कति उपचार प्यालिएटिभ (रोकथाम) प्रकारको मात्र गर्न सकिन्छ । सुरुकै चरणमा छ भने पूर्ण उपचार सम्भव हुन्छ ढिला गरी उपचारमा आए उपचार पूरा हुन सक्दैन ।

बिरामीले सुरुमै खाना निल्ने नलीको क्यान्सर हुँदै छ भनेर कसरी थाहा पाउने ?
–सुरुमै थाहा नहुन सक्छ । अलिअलि पनि खाना अड्कियो र छाती दुख्यो भने उपचारमा जाने र इन्डोस्कोपी गरेमा थाहा हुन्छ । यस्तो लक्षण हुनेबित्तिकै उपचार गराइहाल्नु पर्छ ।  खाना अड्किनुको कारण खाना निल्ने नलीमा क्यान्सर भएको हुन पनि सक्छ । कति मानिस खाना अड्किँदा मतलब राख्दैनन् र ढिला भएपछि मात्र आउँछन् । त्यतिबेलासम्म क्यान्सर छिप्पिसकेको हुन्छ ।

यस्ता बिरामी कत्तिको आउँछन् ?
–थुप्रै आउँछन् । अस्पतालले यस्ता बिरामीको छुट्टै तथ्यांक राखेको छैन । कसैलाई किमोथेरापी, कसैलाई रेडियोथेरापी त कसैलाई सर्जरी गर्छौं । उपचारै नहुनेको हकमा वैकल्पिक पाइप नलीमा राखेर खानसक्ने बनाइदिन्छौं ।

खाने नलीमा कुनै पनि रोग लाग्दै छ भनेर बिरामीले सुरुमै कसरी थाहा पाउने ?
–खाना खाँदा अड्कियो, वान्ता गर्दा रगत निस्कियो, खान अप्ठ्यारो भयो भने खाने नलीमा कुनै न कुनै रोग छ भनेर थाहा पाउनुपर्छ । यस्तो लक्षण देखिएमा तुरुन्त ग्यास्ट्रोइन्ट्रलोजिस्टकहाँ जानुपर्छ । चिकित्सकले इन्डोस्कोपी गर्दा रोग पत्ता लाग्छ ।

यो रोग कुन समूहमा बढी देखिन्छ ?
–वयष्क र वृद्ध दुवै उमेर समूहमा यो रोग बढी देखिन्छ ।

नेपालमा यो रोगको उपचारको अवस्था कस्तो छ ?
–रोगको पहिचान उपत्यकाबाहिरका पेटरोग चिकित्सकले पनि पहिचान गर्छन् तर उपचार सबैतिर छैन । वीर अस्पतालमा यसको सम्पूर्ण उपचार हुन्छ । कतिपय उपचार वीर तथा अन्तर्राष्ट्रिय अस्पतालका लागि पनि जटिल छ ।

यो रोगका बिरामी कुन अवस्थामा आइपुग्छन् ?
–उपचारको पहुँच र आर्थिक अभावका कारण हामीकहाँ आउने दुर्गमका बिरामी ढिला गरी आइपुग्छन् ।

प्रकाशित: २५ श्रावण २०७६ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App