अमृत खनाल
बिहानी घामको झुल्का टुप्लुक्क भेट्ने
अस्ताउनै लागेको किरण पनि देख्ने
दक्षिणपट्टि नै फर्केको
सिरानदेखि पुछारसम्म एक मिलेको
क्या लोभै लाग्ने छ छिमेकीको खेत।
त्यसैले त
मेरा निद्रा खलबलिन्छ,
परिकल्पनामा अनेक शब्द उब्जिन्छन्
सिरानको गरामा उमंगको उज्यालो शिर देख्छु
दोस्रो गरामा मेरै मानचित्र
अलि तल्लोमा लेकाली स्याउ जस्ता हाँसो देख्छु
झन्झन् तल्लोतल्लो गरामा
उठेका मायाका ढिस्का
झन् तल अनेकौं बनावट देख्छु
अहा ! अचम्मै लोभ लाग्ने छ खेत
लाग्छ मध्यरातमै
खेतको मोलतोल गर्न जाऊँ
भोलिदेखि गोडमेल गर्न थालूँ
पर्सि बिउ छरूँ
नौ महिना नपुग्दै बाली थन्काउँ।
तर,
छिमेकी त्यो खेत मरे बेच्दैन
बेच्दै बेच्दैन
त्यो उसको सान हो
कूल हो
वंश निर्धारण गर्ने रगत पनि हो
सबथोक हो
अप्सरा जस्तो रूप छ खेतको
फेरि छिमेकी इन्द्र पनि होइन
नबेची हाल्न
बेचिहाले फेरि
किन्ने कहाँ दम छ र म नाथेसँग!
मसँग त
उराठ लाग्ने
जाँगर हराउने
सुक्खा–सुक्खाझै लाग्ने
मेरो घरमा नै खेत छ।
फेरि
मलाई औधी माया किन लाग्छ
न मसँग लालपुर्जा छ
न तिरो तिरेको रसिद नै
न म गरागरामा डुल्ने किसान
न म पसिना बगाउने हली
हलो तान्ने न म गोरु हुँ
न म फाटेको गराको प्यास मेटाउने पानी,
कुनै सम्बन्ध नभएको जग्गामा
बारबार मलाई जिन्दगीको
अर्गानिक खेती गर्न मन किन लाग्छ?
प्रकाशित: २५ श्रावण २०७६ ०३:१९ शनिबार