८ वैशाख २०८१ शनिबार
अन्य

गंगाराम यातायात

चालक गंगाराम खाइजू। तस्बिरःनागरिक

बसको ढोका दायाँतिर न्याप्किन बक्स, बायाँतिर डस्टबिन । बसभित्र चढ्नेबित्तिकै देखिन्छ, ‘झै–झगडामुक्त ख्वप यातायातमा हजुरलाई स्वागत छ ।’

यो दृश्य हो, भक्तपुरको कमलविनायकबाट काठमाडौंको बागबजार चल्ने एउटा बसको। चालक गंगाराम खाइजूले आफनै सोच अनुसार गाडीलाई नमुना बनाएका छन्। यात्रु सुविधा उनको मुख्य उद्देश्य हो। न ठेलमठेल, न अरु कुनै झण्झट। आरामदायी यात्रा।  

गाडीभित्र अनेक उपाय गरेका छन् उनले। बसभित्रै मिनिरल वाटर किन्न पाइन्छ। प्रति प्याकेट २० रूपैयाँमा चाउचाउ पनि पाइन्छ। धुवाँधुलोबाट वच्न माक्स राखेका छन्, १० रूपैयाँमा किन्न पाइन्छ। साथै निःशुल्क रूपमा ठाउँठाउँमा न्याप्किन पनि व्यवस्था छ। यति मात्रै होइन, लुगा फोहोर भई दुर्गन्धले अरुलाई सताउला भनी निःशुल्क सेन्ट छर्कने सुविधा पनि छ।

बसभित्र चारैतिर पर्चा–पम्प्लेट टाँसिएका छन् उनले। ‘लेज, कुरकुरे, चुइँगम, फोहोर वस्तुहरूलाई जथाभावी नफाली सही ठाउँको व्यवस्थापन गरौं। सक्कली कार्ड देखाएर मात्र छुटको दाबा गर्नुहोस्। हतारमा गाडी नचढ्नूस् र हतारमा नओर्लिनू पनि। दुर्घटना हुनबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं। शिष्ट र सभ्य नागरिकको परिचय दिऔं’ आदि सन्देश लेखिएका सूचना छन्।  

‘यातायातलाई व्यवस्थित सञ्चालन गरी यात्रुलाई सुविधा होस् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘त्यसैले सुविधायुक्त गाडी चलाएको हुँं।’

उनले गाडी चलाउन थालेको विसं ०५७ देखि। हुन त भक्तपुरदेखि काठमाडौंसम्मको यात्रा पौने एक घण्टाको। जामले कहिलेकाहीँ चार घण्टासम्म लाग्छ। यसकारण यात्रुका लागि पायक पर्ने अरनिको राजमार्ग अन्तर्गतका विभिन्न बस स्टपमा सार्वजनिक शौचालय व्यवस्था गर्नुपर्ने  उनको माग छ। भन्छन्, ‘काठमाडौं महानगरपालिका, भक्तपुर अनि मध्यपुर थिमि नगरपालिकाहरूले यसमा ध्यान दिनु पर्छ। शौचालय भएमा बसभित्रका यात्रु पिसाब च्यापेर बस्नु पर्दैन।’

उनको गाडीमा पानी, मास्क र चाउचाउ किन्न पाइन्छ। बस भाडा यात्रु आफैंले बाकसमा राखिदिनु पर्छ।

गाडीको ढोका चालकले नै खोल्ने र बन्द गर्ने सुविधा छ। त्यसैले बसमा सहचालकको व्यवस्था छैन। त्यसकारण यसलाई पनि प्रणालीबद्ध गरी मिलाएका छन् उनले। उनको सवारीको ढोकाको बाहिरै गाडी जाने ठाउँ टाँसिएको हुन्छ। साथै ढोकामै माइकबाट सहचालकले बोलेजस्तै गाडीको रुट सुनाइन्छ। 

यात्रुहरूसँग भाडा लिन उनले अगाडि चालक बस्ने ठाउँनजिकै एउटा काउन्टर बाकस राखेका छन्। त्यसमा भाडादर टाँस गरी चानचुन पैसा आफैंले मिलाएर राख्नुहोला भन्ने सूचना टाँसिएको छ। यात्रु आफैं भाडा बाकसमा राखी दिन्छन्।  

हरेक क्षेत्रमा सिस्टम अनुसार चलेमा देश आफैं विकास हुन्छ भन्ने मान्यता छ उनको। ‘यो गाडी साहुको, म चालक मात्रै हुँ, मैले पनि यो गाडी चलाएर परिवार गुजारा गरिराखेको हुँ,’ गंगाराम भन्छन्, ‘तैपनि म खुसी छु, यात्रुको सुविधा नै मेरो खुसी हो।’

विद्यार्थीले कार्ड छुट लिन नजिकैका अर्का यात्रुलाई कार्ड देखाउनु पर्ने व्यवस्था छ। त्यसपछि मात्र छुटबाहेक लाग्ने भाडादर बाकसमा खसाल्नु पर्छ।

भक्तपुरको आदर्श आजाद माध्यमिक विद्यालयबाट कक्षा ४ सम्म मात्रै पढेका छन् गंगारामले। पेशाको सम्मान हुनुपर्छ धारणा राख्छन् उनी। ‘त्यसकारण यात्रुलाई दाइ मलाई यहाँ रोकिदिनुस् न भन्दा उनी विनम्रतापूर्वक आग्रह गर्छन्, ‘यो सिट हेर्नुहोस्, यो सिटमा अनुसार मर्यादा कायम गर्नुहोस्, यो सिटको कदर गर्नुहोस्, त्यसकारण मलाई गुरुजी भन्नुहोस्, अरु होइन।’

आफू बस्ने छेउमै उनले एउटा क्यालेण्डर पनि राखेका छन्। यसको पनि विशेष अर्थ रहेको उनी सुनाउँछन्। भन्छन्, ‘यात्रुहरूलाई मिति याद गराएर ठिक समयमा ठिक काम गर्न मद्धत होस् भन्ने चाहन्छु।’

बाल्यकाल सम्झदै भन्छन्, ‘जस्तो कि स्कुलमा छोराछोरीलाई समयमै शुल्क तिर्न नजाँदा मैले स्कुलमै कति दुव्र्यवहार व्यहोर्नुपरेको थियो, त्यो व्यथा अरुले भोग्न नपरोस्, समयमै अभिभावकले शुल्क तिरेर बालबच्चाको इज्जतमा धक्का नपुगोस् भन्ने मेरो इच्छा हो।’

सवारीसाधन जाममा पर्दा उनी यात्रुलाई माइकबाट बोलेर मनोरञ्जन मात्रै दिँदैनन् उनी, बरु देशभक्तिपूर्ण भावना पनि व्यक्त गर्छन्, ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आफ्नो श्रम र नेपाललाई माया गरौं। आफ्नै देशमा श्रम गरौं। विदेशमा गएर आफ्नो पसिना नबगाऔं। मिहेनत गरे नेपालमा पनि सुन फल्छ।’
भक्तपुर नगरपालिकाको गोल्मढी चोर्चाका गंगाराम अचेल भक्तपुर नगरपालिका–२ लिवालीमा दुई छोरा र श्रीमतीसहित डेरामा बस्छन्।
उनको मीठो बोलीबाट यात्रु मख्ख पर्छन्। र, भन्छन्– जय होस्, गंगाराम यातायात। प्रस्तुतीःकृष्ण किसी

प्रकाशित: २५ श्रावण २०७६ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App