८ वैशाख २०८१ शनिबार
खेल

कुवेतकै मैदानमा नेपालको पहिलो खेल

काठमाडौं – सन् २०२२ कतारमा आयोजना हुने विश्वकप फुटबल छनोटअन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै छनोट यात्रा सुरु गर्ने भएको छ।

शुक्रबार कुवेत फुटबल संघले सट्टापट्टा गरेर खेलाउन एन्फाले गरेको प्रस्ताव स्वीकार गरेपछि नेपालले छनोट खेल अवे खेल्दै सुरुआत गर्ने पक्का भएको हो। यसअघि एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको तालिकामा नेपालको पहिलो खेल कुवेतसँग तय भएको थियो। तर नेपालमा रहेको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला खेलाउन योग्य नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले होम खेल पनि उसैको मैदानमा खेलाउनका लागि कुवेतसँग आग्रह गरेको थियो।

तर फिफाले एउटै देशमा होम एन्ड अवे खेल खेलाउन नमिल्ने भन्दै पत्र पठाएपछि न्युट्रल भेन्युको खोजी भएको थियो। कुवेत फुटबल संघले शुक्रबार बिहान एन्फालाई सकारात्मक जवाफ पठाएपछि सट्टापट्टामा कुरा मिलेको हो। यस अघि नै चाइनिज ताइपेइ फुटबल संघ र जोर्डन फुटबल संघलाई सट्टापट्टा गरेर खेलाउनका एन्फाले गरेको प्रस्ताव स्वीकार भइसकेको छ।

छनोट प्रतियोगितामा नेपालले पहिले खेल तीनवटा अवे खेल्ने निश्चित भएको छ भने अस्ट्रेलियासँग तय भएको खेल भने नेपालमा नै निर्धारित समयमा नै हुनेछ। नेपालले गरेको प्रस्ताव स्वीकार भएसँगै नेपालको होम गेम आयोजना गर्न एन्फाले नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)सँग प्रबन्ध मिलाउन आग्रह गर्ने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए।

‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग होम गेम सफल पार्न सहयोगी भूमिका खेल्न आग्रह गरिरहेका छौं,’ एन्फाका प्रवक्ता राईले भने, ‘नोभेम्बर १९ मा हुने खेल नेपालमा नै हुने गरी रंगशाला निर्माणको कार्यलाई तीव्रता दिन आग्रह गरेका छौं। यदि नमिले नेपालले होम गेम न्युट्रल भेन्युमा आयोजना गर्नुपर्ने हुन्छ।’

परिवर्तन भएको तालिकाअनुसार नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा छनोटचरणको पहिलो खेल्नेछ। दोस्रो खेल भदौ २४ गते चाइनिज ताइपेइसँग, तेस्रो खेल असोज २८ जोर्डनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दा मंसिर ३ गते कुवेतलाई आतिथ्य गर्नेछ। चाइनिज ताइपेइलाई चैत्र १३ गते आतिथ्य गर्दा जोर्डनसँग वि.सं.२०७७ जेठ २२ गते घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछन्। परिवर्तन भएको तालिकाअनुसार नेपालले भदौ १९ गते कुवेतसँग उसैको मैदानमा छनोट चरणको पहिलो खेल्नेछ।

 

प्रकाशित: २५ श्रावण २०७६ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App