coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

२५ औँ विश्व आदिवासी दिवस मनाइयो

विश्व आदिवासी दिवसका अवसरमा राजधानीमा निकालिएको विरोध र्‍याली। तस्बिर ः नागरिक

आदिवासी जनजातिहरूले २५ औँ विश्व आदिवासी दिवस आन्दोलनको रूपमा मनाएका छन्। शुक्रबार आदिवासी जनजातिहरूको अधिकार सरकारले कुण्ठित गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ र सम्पूर्ण आदिवासी जनजाति संगठनहरूले माइतीघर मण्डलमा आन्दोलनको रूपमा विश्व आदिवासी दिवस मनाएका हुन्।

किरात राई यायोक्खा, नेपाल शेर्पा संघ, थकाली सेवा समिति, आधीखोला तमु गुरुङ समाज लगायत आदिवासी संघसंस्थाका जनजातिहरू कार्यक्रममा सहभागी थिए। माइतीघर मण्डलामा विभिन्न झाँकीसहित सांस्कृतिक कार्यक्रमसमेत उनीहरूले प्रदर्शन गरेका थिए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राज्यले जनजातिहरूलाई विभेद पारेकाले सडकमा आन्दोलनको रूपमा २५ औँ विश्व आदिवासी दिवस मनाउन बाध्य भएको बताए। ‘हामीलाई राज्यले विभेदमा पारेको छ,’ उनले भने, ‘लोकतन्त्रपछि प्राप्त गरेका अधिकार अहिलेको शासकले खोसेका छन्। यसको प्रतिवाद गर्दै आन्दोलन रूपमा आदिवासी दिवस मनाएका छौँ।¬’

विश्व आदिवासी दिवस जनजातिहरूको चाड भए पनि सरकारले हरेक क्षेत्रबाट अधिकार खोसिदिएका कारण सडकमा मनाउनुपरेको उनले बताए। उनले भने, ‘यो हाम्रो चाड थियो। शुभकामना आदानप्रदान गर्नुपर्ने थियो। तर, सरकारले हाम्रो अधिकार खोसेका कारण उत्पीडित जनता यसरी सडकमा आन्दोलन गर्दै मनाउन बाध्य भएका छौँ।’

लोक सेवा आयोगले निकालेको समावेशिता विपरीतको विज्ञापन विरुद्धको पनि डेढ महिनादेखि आन्दोलन गर्दै आएको उनले बताए।  ‘लोक सेवा आयोगले संविधानको मर्म र भावनाविपरीत विज्ञापन खुलाइएको छ,’ उनले भने, ‘यसरी राज्यबाट हामीलाई दमन गरेको छ। हामी संघर्षको दौरानमा छौँ। सरकारले हाम्रो माग पूरा नगरे सिंहदरबार घेराउ गर्नेछौँ।’

सरकारले ३१ गतेसम्ममा सबै मागको सुनिश्चिता नगरे ३२ गते मुडभेड हुने गरी लाठी, जुलुस र हतियारसमेत प्रदर्शन गर्ने उनको चेतावनी छ। उनका अनुसार ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्नुपर्ने संविधानमा छ। तर, सो अनुसार आयोगले व्यवस्था गरेको छैन।पूर्वप्रधानमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त कार्यक्रमबाट जनजातिहरूलाई आदिवासी दिवसको शुभकामना दिँदै सरकारले संवैधाधिक अधिकार प्रदान गर्नुपर्ने बताए। ‘बहुजाति, बहुभाषी र बहुसांस्कृतिक भएकाले नेपाल सुन्दर देश छ,’ उनले भने, ‘जनजातिहरुको संस्कृतिको जगेर्ना गर्दै आएका छन्। संविधानमा रहेका जनजातिको अधिकार राज्यबाटै खोसिएको छ। लोक सेवा आयोगले संविधानविपरीत रहेर विज्ञापन खुलाउँदा अधिकार अनुसारले विज्ञापनमा आवेदन भर्न पाएनन्। तुरुन्त यो सच्याइनुपर्छ।’

जनजातिहरूको हरेक हक–अधिकार प्राप्तिका लागि यसमा आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत उनले बताए। ‘उत्पीडित समुदायको अधिकार पाउनलाई हामी तपार्इंहरूको साथमा छौँ,’ उनले भने, ‘सत्तामा बस्नेहरूले संघीयता कार्यन्वयन गर्न हालीमुहाली गरिरहेका छन्। लडाइँ लडेर भए पनि जनताको जित हुनेछ।’ सरकारले लोप हँुदै गएका जातिको संरक्षण गर्न नसकेको उनको भनाइ छ।

जनजातिहरुले सरकारको चर्को आलोचना गर्दै भृकुटीमण्डप, रत्नपार्क, सुन्धारा, त्रिपुरेश्वर थापाथलीमा बाजागाजासहित विरोध ¥याली निकालेका थिए।

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले नेपाल मात्र नभई विश्वभर जनजातिको पहिचान सहित विश्व आदिवासी दिवस मनाउँदै आएको बताए। ‘हामी हरेक वर्ष झाकी ¥याली सहित पहिचान झल्काउने गरी विश्व आदिवासी दिवस मनाउँदै आएका छौँ,’ उनले भने, ‘सरकारले बेलाबेलामा आदिवासीको अहितमा विभेद गर्ने कुरा सार्वजनिक गरिरहेकाले यस वर्ष सडकमा आन्दोलन गर्दै दिवस मनाउनुपरेको छ। समावेशीविपरीत लोक सेवा आयोगले विज्ञापन निकालेको छ।

आन्दोलन गर्दा पनि झनै पेलेर जान खोजेको छ।’ उनका अनुसार सरकारले संविधानले ग्यारेन्टी गरेको हक अधिकार कुण्ठित गरेको छ। लोक सेवा आयोगले पनि जनजातिको अधिकारमाथि अतिक्रमण गरेको छ। उनले भने, ‘सविंधान संशोधन, आदिवासीको समानुपातिक कुरा, पहिचान सहितको राज्य पुर्नसंरचना सगैँ प्रदेशको नामांकरण हुनुपर्ने, जनजातिलाई विवेद पु¥याउने कानुन खारेज गर्नुपर्ने हाम्रो माग छ।’

प्रकाशित: २५ श्रावण २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App