coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदीय समितिका बैठक छल्दै मन्त्री

काठमाडौं - प्रतिनिधिसभाका दुई समितिमा मन्त्री नआएका कारण शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको छ।  उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिको बैठक उद्योगमन्त्री मातृका यादव नआएपछि स्थगित भयो।  यस्तै विकास तथा प्रविधि समितिको बैठक पनि मन्त्री रघुवीर महासेठ नआएपछि स्थगित भएको हो।

उद्योग समितिको बैठकमा सांसदले मन्त्री यादवलाई कुर्दाकुर्दा नआएपछि बैठक स्थगित भएको थियो भने विकास समितिको बैठकमा भौतिकमन्त्री महासेठले नआउने खबर पठाएका थिए।  महासेठलाई हालै आएको बाढीबाट पुल र सडकमा भएको क्षतिबारे जानकारीसहित उपस्थित हुन पत्र पठाइएको थियो।  भौतिक मन्त्रालयले क्षति विवरण संकलन नगरेका कारण मन्त्रीले बैठक छलेको आशंका समितिका सदस्यले गरेका छन्।  समितिका सदस्य एक कांग्रेस सांसदले भने, ‘समितिको बैठकमा मन्त्री नआएका कारण स्थगित भएको खबर आयो।  मन्त्रीले बाढीबाट भएको क्षतिको विवरण तयार पार्न नसकेको हुन सक्छ। ’

समितिक सचिव वंशीराज पौडेलले मन्त्रीले पूर्वनिर्धारित कार्यक्रमअनुसार अन्यत्र जानुपर्ने भयो भनेका कारण बैठक स्थगित गरेको बताए।  उनले भने, ‘पूर्वनिर्धारित नभनेको भए समितिको बैठक स्थगित हुन सक्ने थिएन। ’ समितिले तीन दिनअघि मन्त्रीलाई समितिमा आमन्त्रण गरेको थियो।  भौतिक मन्त्री महासेठले अन्य कार्यक्रममा जानुपर्ने भएका कारण आउन नसकेको पत्र समितिमा शुक्रबारमात्र पठाएका छन्।

मन्त्री नआउने भएपछि समितिका सदस्यलाई बिहान ११ बजे फोन गरेर नआउन भनिएको थियो।  यसअघि विकास समितिमा खानेपानी मन्त्री विना मगर पनि पटकपटक नआएको अवस्था छ।  विकास समितिको बैठक अब २६ गते बिहान बोलाइएको छ।

उद्योग समितिले मन्त्री यादवलाई औद्योगिक व्यवसाय विधेयक २०७६ माथि छलफलका लागि बोलाएको थियो।  ‘समितिमा सदस्यले घन्टौं कुरेपछि बैठक स्थगित भएको छ।  अर्को बैठक साउन २९ गते बोलाइएको छ’, समितिका सदस्य भीमसेनदास प्रधानले भने।  लामो समयदेखि समितिमा रहेका विधेयक पारित गर्न नसकेर संसद् बैठक बिजनेसविहीन हुने अवस्थामा पुगेको छ।  ‘सरकारले नै विधेयक पारित गर्न तत्परता नदेखाउँदा संसदीय समितिले कसरी पारित गर्न सक्छ’, एक सदस्यले भने।  विधेयकमाथिको छलफलमा मन्त्री नआउने हो भने विधेयक पारित गर्ने समयसमेत लम्बिने देखिएको उनले बताए।

सांसदले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरूले बहाना बनाएर यसअघि पनि बैठक छल्दै आएका थिए।  गत मंसिरमा चार समितिका बैठक मन्त्रीले छलेका थिए।  राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले छलेका थिए।  राज्य व्यवस्था समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिरामी भएको बहाना बनाई छलेका थिए।  विकास समितिमा खानेपानीमन्त्री बिना मगरले बिरामी भएको खबर पठाएर बैठक छलेकी थिइन। 

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छलेका थिए।  मन्त्री महासेठ बैठकको बीचमा आएर राष्ट्रिय गौरवका योजना चार वर्षभित्र सक्ने धारणा राखेर बाहिरिएका थिए।  सांसदको जिज्ञासाको उत्तर दिनुपर्ने डरले भागेको भन्दै त्यति बेला समितिका सदस्यले आपत्ति जनाएका थिए।

प्रकाशित: २५ श्रावण २०७६ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App