coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहाडमा इ–कोली, तराईमा आर्सेनिक

फाइल तस्बिर

इटहरी - प्रदेश १ का १४ जिल्लाको खानेपानी परीक्षण गर्दा पहाडी जिल्लामा इ–कोली ब्याक्टेरिया र तराईका जिल्लामा आर्सेनिकको समस्या पाइएको छ।  मानिस वा जनावरको दिसाको मात्रा मिसिएको पानीमा इ–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरअन्तर्गत पानी परीक्षण प्रयोगशाला इटहरीले आर्थिक वर्ष २०७५/७६ को विभिन्न अवधिमा कार्यालयमै ल्याएर आठ सय ७० वटा नमुनाको ल्याब टेस्ट र कार्यालयको कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा पुगेर एक सय ६० वटा नमुना परीक्षण गरेको थियो।  परीक्षण गर्दा पहाडी जिल्लामा मूल वा खोलाको पानीमा इ–कोली पाइएको छ।  तराईका जिल्लामा ट्युबवेलको पानीमा आर्सेनिक पाइएको छ।

प्रयोगशालाका अनुसार कार्यालयको आफ्नो कार्यक्रमअन्तर्गत परीक्षण गरिएका एक सय ६० वटा पानीका नमुनामध्ये आधामा इ–कोलीको देखिएको छ।  परीक्षण गरिएकामध्ये धनकुटाबाट १३, मोरङबाट २३, झापाबाट १६, उदयपुरबाट १२, सुनसरीबाट २०, ओखलढुंगाबाट ६ र इलामबाट ११ वटा नमुना लिइएको थियो।  कार्यालयले खोटाङ, पाँचथर र तेह्रथुमबाट १०–१० वटा, ताप्लेजुङबाट नौ, सोलुखुम्बुबाट सात, संखुवासभाबाट ६ र भोजपुरका आठवटा नमुना लिएको थियो।

मानिस वा जनावरको दिसाको मात्रा मिसिएको पानीमा इ–कोली ब्याक्टेरिया हुने र त्यस्तो पानी प्रयोग गर्दा हैजा, झाडापखाला, आउँजस्ता रोग लाग्ने तथा आर्सेनिक भएको पानी लामो समयसम्म पिउँदा क्यान्सर हुने खतरा हुन्छ।

प्रदेश १ का विभिन्न खानेपानी उपभोक्ता संस्था, पानी बिक्री गर्ने उद्योग र व्यक्तिगत रूपमा परीक्षण गर्न विभिन्न स्थानबाट ल्याइएका आठ सय ७० नमुनामध्ये सात प्रतिशतमा इ–कोली पाइएको छ।  इ–कोली भएको पानीमा मानव वा जनावरको दिसा मिसिएको हुन्छ।  यसबाट एक प्रकारको सर्ने रोग लाग्छ भने अर्को नसर्ने हुन्छ।  सर्ने रोगका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर पर्छ।  ‘इ–कोली भएको पानी पिउँदा शुद्धीकरण वा ब्लिचिङ पाउडर प्रयोग गर्नुपर्छ तर त्यसो गरिएको पाइँदैन,’ पानी परीक्षण प्रयोगशालाका प्रमुख अधिकृत रमेशकुमार यादवले भने।

बर्खाको बेला पानीमा इ–कोलीको मात्रा बढी हुन्छ।  बर्खाका बेला पानी परीक्षण गरेर खानु स्वास्थ्यका लागि उत्तम हुन्छ।  ‘मनसुनको बेला पानी तताएर र शुद्धीकरण गरेर पिउँदा स्वास्थ्यमा असर गर्दैन,’ यादवले भने। खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार एउटा पानीको २७ वटा पारामिति परीक्षण गर्नुपर्ने नियम छ।  तर पानी प्रयोगशालाले आवश्यक पर्ने एउटा नमुनाको १२ देखि १४ वटा पारामितिको परीक्षण गर्दैैै आएको छ।

परीक्षणको रिपोर्टअनुसार ट्युबवेलको पानीमा आर्सेनिकको समस्या देखिएको छ।  ‘१०÷१२ वर्षसम्म लगातार कसैले आर्सेनिक भएको पानी पिउँदा क्यान्सरको खतरा हुन्छ,’ यादवले भने, ‘डिप बोरिङमा भने आर्सेनिकको समस्या देखिएको छैन। ’ आर्सेनिक भएको पानी शुद्धीकरण गर्न फिल्टर गर्नुपर्छ।

तराईको पानीमा आइरनको समस्या पनि देखिएको छ।  आइरनको मात्रा दशमलव तीन मिलिग्राम प्रतिलिटर हुनुपर्ने भए पनि २२ मिलिग्राम प्रतिलिटरसम्म भेटिएको छ।  आइरन भएको पानी धेरै खाएमा बान्ता हुने र लगातार पिउनाले पेटको रोगको खतरा हुने गर्छ।  ‘आइरनयुक्त पानी मानव स्वास्थ्यका लागि त्यति प्रतिकूल त होइन तर सचेतता भने अपनाउनुपर्छ,’ यादवले भने, ‘यसले बढी मात्रमा पेटसम्बन्धी रोग लाग्न सक्छ। ’

पानी परीक्षण प्रयोगशालाले प्रदेश १ का १४ जिल्लाका बासिन्दाका लागि सचेतना अभियान थाल्ने योजना बनाएको छ।  आर्थिक वर्ष २०७५÷७६ मा इटहरी क्षेत्रका १० वटा सामुदायिक स्कुलबाट अभियान थालिएको प्रमुख केमिस्ट यादवले नागरिकलाई बताए।  ‘पानी परीक्षण गरेर पिउनुपर्छ भन्ने ज्ञान नगन्य व्यक्तिमा मात्र ज्ञान छ, अधिकतरलाई पानी परीक्षण गर्नेबारे हेक्का नै छैन,’ यादवले भने, ‘स्वच्छ पानी पिउने ज्ञान स्थानीय सरकारले पनि दिनुपर्छ। ’

पानी परीक्षण कार्यालयका लागि कार्यक्रम र कार्यालय सञ्चालनमा चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ हाराहारी बजेट छुट्याइएको छ।  परीक्षण गर्न ल्याएको पानीबाट आर्थिक वर्ष २०७५/७६ मा कार्यालयले ६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रकाशित: २५ श्रावण २०७६ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App