८ वैशाख २०८१ शनिबार
अर्थ

‘सासेक’ प्रसारण लाइन गुरुयोजना बन्ने

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकभर बिजुली आदानप्रदान तथा व्यापार गर्न ‘सासेक (दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य) प्रसारण लाइन गुरुयोजना’ बन्ने भएको छ ।

अन्तरदेशीय प्रसारण आवद्धता, विद्युत व्यापार र ऊर्जा दक्षता विकास गर्ने लक्ष्यले गुरुयोजना बनाउन लागिएको हो । यसका लागि एसियाली विकास बैंक (एडिबी) ले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

एडिबीका अनुसार सन् २०२० देखि २०३० सम्म नेपाल, भारत, भुटान, बंगलादेशलगायत देशमा उत्पादन हुने बिजुली आदानप्रदा तथा व्यापार गर्ने गरी गुरुयोजना तयार हुँदैन । सन् २०१६ देखि २०२५ सम्मको सासेक सञ्चालन योजना जारी गर्दै एडिबीले दक्षिण एसियाली राष्ट्रको आर्थिक विकासमा सहयोग पु¥याउन लक्ष्यले यो काम सुरु गरिने जनाएको छ ।

‘सासेक इलेक्ट्रिसिटी ट्रान्समिसन युटिलिटी फोरम’ ले यसअघि नै गुरुयोजनाको अध्ययन सुरु गरेको एडिबीले जारी गरेको १० वर्षे सञ्चालन योजनामा उललेख छ । सन् १९९६ मा सासेकमा नेपाल, भारत, भुटान र बंगलादेश सम्मिलित थिए । सन् २०१४ मा यस कार्यक्रममा श्रीलंका र मालदिभ्स जोडिएका थिए ।

पछिल्ला समय भुटानमा भएको सासेक ऊर्जा क्षेत्र हेर्ने कार्यालयहरूको बैठकले समेत गुरुयोजना बनाउनुपर्नेमा जोड दिएको छ । सासेक राष्ट्रभरि विद्युतीय सञ्चाल विकास गर्न आवश्यक प्राविधिक सहयोग, सञ्चालन निर्देशिका र निरन्तर सहयोग आवश्यक रहेको पनि पक्ष राष्ट्रका अधिकारीले बताएका छन् ।

अन्तरदेशी प्रसाराण लाइन सञ्चाल विकास गर्न ‘सासेक इलेक्ट्रिसिटी ट्रान्समिसन युटिलिटी फोरम’ सासेक गुरुयोजनाका लागि मुख्य सहयोगी निकाय हुन सक्ने अपेक्षा गरिएको छ । एडिबीका अनुसार स्वच्छ ऊर्जा विकास संयन्त्र र विद्युत माग व्यवस्थापनमा समेत यो निकायले सहयोग गर्नेछ ।

सासेक राष्ट्र भर विद्युत व्यापार र प्रसारण सञ्चाल विकास भएपछि ती राष्ट्रमा उच्च आर्थिक विकास सुरु हुने एडिबीको दाबी छ । पहिलो चरणको अन्तरदेशीय प्रसारण लाइन आवद्धताअनुसार भारत र बंगलादेशबीच प्रसारण लाइन निर्माण भएको छ । यहाँबाट बंगलादेशले ५ सय मेगावाट बिजुली आयात गरिरहेको छ ।

यसैगरी, भारतको त्रिपुराबाट बंगलादेश प्रसारण लाइन जोडिएको छ । यहाँबाट पनि उसले सय मेगावाट बिजुली किनेको छ । पछिल्लो एक वर्षयता भारत र नेपालबीच पनि अन्तरदेशीय प्रसारण लाइन निर्माण भएको छ । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी लाइनबाट नेपालले अहिले करिब ८० मेगावाट बिजुली किनिरहेको छ । यस्तै भुटानसँग समेत भारतको प्रसारण आवद्धता छ ।

टुक्रा–टुक्रा प्रसारण लाइनलाई एकिकृत गर्दै दिगो र उच्च क्षमताको प्रसारण लाइन सञ्चाल विकास गर्न गुरुयोजना आवश्यक रहेको एडिबीको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार सासेक राष्ट्रले ऊर्जा व्यापार गर्न पूर्वाधारमा सुधार, दक्षिण एसियामा विद्युत बजार विस्तार र कार्बन घटाउने विकल्पको रुपमा ऊर्जा दक्षता विकास गर्न जोडदिनुपर्नेछ ।
सार्क राष्ट्रभरि बिजुली किनबेच गर्न सक्ने गरी यसअघि नै ‘सार्कस्तरीय विद्युत व्यापार सम्झौता (सार्क पिटिए)’ भएको छ । २०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको १८ औं सार्क शिखर सम्मेलन क्रममा पिटिए भएको थियो । ‘ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युतीय)’ नाम दिइएको सम्झौता नेपालसहित अहिलेसम्म भारत र भुटानले अनुमोदन गरेका छन् ।

क्षेत्रीय व्यापार संगठनको अवधारणा भनेकै सदस्यराष्ट्रबीच एकअर्काको परिपूरक सम्बन्ध कायम गर्नु हो । विकास निर्माणमा ऊर्जा नै सबभन्दा ठूलो चुनौती देखिएकाले यसलाई सम्बोधन गर्न सार्कले संयुक्त रणनीति अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् । सार्क विद्युत व्यापार सम्झौता अवधारणा यही सिद्धान्तबाट प्रेरित भएर गरिएको हो ।

सदस्यराष्ट्रबीच एकबाट अर्कोमा बिजुली किनबेच गर्दा प्रसारणलाइनको व्यवस्थापन मुख्य समस्या देखिन्छ । यसका लागि तेस्रो राष्ट्रले समेत आफ्नो भूभाग प्रयोग गर्न दिएर सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ । नेपालसहित सार्कमा आबद्ध भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र अफगानिस्तानको भौगोलिक अवस्थिति हेर्दा खासगरी भारतले नै क्षेत्रीय बिजुली किनबेचमा सहयोगी भूमिका खेल्नुपर्ने देखिन्छ ।

नेपालसँग निकट रहेका भारत, बंगलादेश र भुटान नै बिजुली किनबेच हुनसक्ने मुख्य सार्कराष्ट्र हुन् । चार देशको प्रसारण सञ्जाल मात्र जोडिए पनि देशको बिजुलीको बजार फराकिलो हुने जलस्रोत उद्यमीहरू बताउँछन् । भारतीय जिएमआर इनर्जी कम्पनीले नेपालमा उत्पादन हुने बिजुलीमध्ये ५ सय मेगावाट बंगलादेश बेच्ने बताउँदै आएको छ । कम्पनीले ९ सय मेगावाटको माथिल्लो कर्णाली र ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–२ निर्माणको अनुमति पाएको छ ।


एडिबीले ९ खर्ब लगानी गर्ने

एसियाली विकास बैंक ) एडिबीले सासेक राष्ट्रमा करिब ९ खर्ब रुपैयाँ (८ अर्ब ३८ करोड अमेरिकी डलर) लगानी गर्ने भएको छ । सन् २०१६ देखि २०२० सम्म ऊर्जासँग सम्बन्धित आयोजनामा उक्त रकम लगानी गर्न लागेको हो ।

नेपालमा करिब २ खर्ब ३७ अर्ब ५४ करोड (२ अर्ब २२ करोड अमेरिकी डलर) लगानी गर्ने भएको छ । एडिबीका अनुसार ३ सय मेगावाटको दूधकोसी, ४ सय १० मेगावाटको नलसिंहगाढ र प्रसारण लाइन निर्माणमा क्रमशः ६६ करोड, १ अर्ब २८ करोड र २८ करोड अमेरिकी डलर लगानी हुनेछ ।

बंगलादेशमा २ अर्ब ९२ करोड ५० लाख डलर, भुटानमा ३ अर्ब २२ करोड डलर, श्रीलंकामा १ करोड डलर र सासेक कार्यक्रममा करिब ५० लाख डलर लगानी गर्ने जनाएको छ । नेपालमा सञ्चालित सासेक आयोजनाको प्रगति सन्तोषजनक रहेको एडिबीका आवासीय प्रतिनिधि केनिची योकोआमाले बताए ।
 

प्रकाशित: २५ कार्तिक २०७३ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App