coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शोकमग्न सर्लाही

छोरा सौरभ सहित जेठाजु र जेठानी समेत बेपत्ता भएपछि भावविह्वल सर्लाही त्रिभुवननगर निवासी उषादेवी रौंनियार । तस्बिरः नागरिक

सर्लाही– मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा २४ जना वेपत्ता एवं ५ जनाको शव फेला परेपछि सर्लाही शोकमग्न बनेको छ। ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगर निवासी चन्देश्वर प्रसाद रौंनियार एवं उनकी पत्नी उषा देवी रौंनियार शुक्रबार बिहानैदेखि भावविह्वल छन्।

बसमा यात्रारत चन्देश्वरका दाजु ५६ वर्षीय ाजनारायण एवं भाउजु ४४ वर्षीया शोभा तथा छोरा २० वर्षीय सौरभ रौंनियार बेपत्ता भएपछि उनको परिवार शोकमा डुबेको छ। सँगै यात्रारत सौरभकी बहिनी श्वेताको भने उद्धार भएको छ। गम्भीर घाईते उनको काठमाडौंमा उपचार भईरहेको छ।

एकै परिवारका तीन जना बेपत्ता भएपछि चन्देश्वरको परिवार विक्षिप्त बनेको छ। भएको एउटै छोरा बेपत्ता बनेपछि आमा उषा देवी पटक–पटक मुर्छित बनिरहेकी छिन्। बुबा चन्देश्वर पनि बेलाबेलामा बरबराउने अनि कहिले टोलाउने गरेका छन्। सिंगो त्रिभुनवनगर शोकमग्न बनेको छ।

‘भएको एउटै छोरा बेपत्ता छ, पढनमा तेज थियो, डाक्टर बनेर बिरामीको सेवा गर्छु भन्थ्यो’, शुक्रबार बिहान त्रिभुवननगरस्थित आप्mनै निवासमा टोलाईरहेका चन्देश्वरले भने, ‘यसवर्षबाट एमविविएस पढने तयारी गरिरहेको थियो, तर खोलामा खसेसँगै बेपत्ता भएको छ।’ आमा उषा देवि त बोल्नै सकिरहेकी छैनन्। उनलाई आफन्त एवं छिमेकीले सम्हाल्ने प्रयास गरिरहेका छन्।

त्यस्तै चक्रघट्टा गाउँपालिका–८, औरही गाउँका ५५ वर्षीय परिक्षण साह पनि विक्षिप्त बनेका छन्। २२ वर्षीय छोरा रवि कुमार बेपत्ता बनेपछि शारिरिक रुपमा अशक्त परिक्षण विलौना गरिरहेका छन्।

मलंगबाबाट काठमाडौंका लागि छुटेको उक्त बस त्रिशुली नदीमा खसेपछि मृतक र वेपत्ता भएका कारण सर्लाहीका विभिन्न गाउँहरु शोकमग्न बनेको छ। सदरमुकाम मलंगवास्थित टिकट बुकिङ काउण्टरबाट लिइएको चलानी बुकको तथ्यांक अनुसार बसमा भारतीय ८ सहित सर्लाहीका विभिन्न ठाउँबाट ४२ जना चढेका थिए। चालक, कण्डक्टर र सहचालक गरी ४५ जना बोकेर बस मलंगवा, हरिपुर, नवलपुर हुँदै हरिवनबाट साँझ छुटेको थियो। बसमा चन्द्रनिगाहपुर, हेटौंडालगायत स्थानबाट समेत बीचबीचमा यात्रुहरु चढेको हुनसक्ने भएकाले वेपत्ताको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनामा ५ जनाको शव फेला परेपनि पूर्ण रुपले सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा परी उद्धार गरिएको १९ जनाको उपचार भईरहेको छ। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले दुःखद बस दुर्घटनाले सर्लाही पुरै शोकमग्न बनेको बताए। बेपत्ता यात्रु पत्ता लगाउनका लागि तनहुँ, चितवन र धादिङ गरी तीनवटै जिल्लाका सुरक्षाकर्मी परिचालन भएको समेत उनले बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App